युवा पलायनको असर बीमा क्षेत्रमा पनिः ‘सरकारले रोक्न नसके समस्या जटिल हुन्छ’

Advertisement

काठमाडौं । काम गर्ने युवा जनशक्ति अवसरको खोजीमा धमाधम पलायन हुँदाको असर बीमा क्षेत्रमा पनि परेको छ । बीमा क्षेत्रकै अगुवाहरुले दक्ष जनशक्ति पलायनको प्रत्यक्ष मारमा बीमा क्षेत्र रहेको स्वीकार गर्छन् ।  

उनीहरुले बीमा क्षेत्रमा काम गर्न इच्छुक अनुभवी र दक्ष युवाहरुलाई रोक्ने प्रयास असफल हुँदै गएको बताउँछन् । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आफूहरुले बीमा क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र भएकाहरुलाई अवसर प्रदान गर्ने आफूहरुको प्रयास असफल हुँदै गएको बताए । 

Advertisement

उनले भने, ‘बीमाका जनशक्ति मात्रै बाहिरिएका छैनन्, अधिकांश युवाहरुमा विदेश मोह देखिएकै छ । हामीले बीमा कम्पनीहरुलाई सक्दो रोजगारी सिर्जना गर, योग्य जनशक्तिलाई यही नेपालमै रोजगार देउ भनिरहेका छौं । विदेश जानेहरु हेर्नुभयो भने भर्खरका प्लस टु पास गरेका युवाहरु बढी देखिन्छन् । बीमा क्षेत्रमै काम गर्न आएकाहरु पनि छोडेर विदेशिएको देखिन्छ ।’ 

पौडेलले विदेश जान चाहने जनशक्तिलाई सरकारले पनि सकेसम्म यहीं केही गरौं भन्ने सन्देश दिए पनि रोजगारी सिर्जना गर्ने कुरामा खासै काम भने हुन नसकेको बताए । जबसम्म नयाँ पुस्तालाई विदेशमा भन्दा आफ्नै देशमा राम्रो अवसर र सुरक्षाको सुनिश्चितता हुँदैन्, तबसम्म पलायन कम नहुने उनको भनाई छ । 

युवाहरु विदेश नै जान खोज्नुको पछाडी धेरै कारणहरु हुनसक्ने भन्दै पौडेलले रोजगारी मुख्य पाटो रहेको बताए । बढ्दो पलायनले बीमा क्षेत्रलाई आवश्यक योग्य अभाव हुँदै गएको र यसको असर देखिन थालेको उनले बताए । 

पौडेलले बीमाले जोखिम बहन गर्ने भएकाले यसमा मानिसहरुको सहभागिता बढाउन पनि बढ्दो पलायन समस्या भएको बताए । उनले भने, ‘जीवन र निर्जीवन बीमा व्यवसाय बढ्नको लागि त मान्छे पनि हुनुपर्यो । धेरै मानिस देश छोडेर जान थालेपछि समग्र व्यवसायाम असर परिहाल्छ ।’

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले जनशक्ति पलायन निकै गम्भीर समस्या भएको बताए । 

उनले भने, ‘यो निकै गम्भीर विषय हो । कुनै पनि नागरिक देशबाट बाहिरिनुको सकारात्मक र नकारात्मक पक्ष दुवै हुनसक्छ । बाहिरबाट राम्रो ज्ञान, सीप, पुँजी आर्जन गरेर आएर कसैले यहाँ रोजगारी सिर्जना गर्छ भने त्यो पाटोबाट त ठिकै होला । तर हाम्रो स्थिति फरक हो । अहिलेको स्थिति हेर्ने हो भने देशलाई चाहिने जनशक्ति अभाव हुने तर युवाहरु बाहिर जान लाइन लागेर बस्ने । विमानस्थल पुग्दा हामीले यो समस्या देखेकै छौं ।’ 

सरकार र सरकारका निकायहरु यो समस्याप्रति गम्भीर नदेखिएको बताउँदै अर्यालले युवा पलायन नरोक्ने हो भने समस्या अझ जटिल हुने बताए । उनले थपे, ‘जनशक्ति भनेको सम्पत्ति हो  । त्यस्तो शक्ति बाहिरिँदा त्यसको मार सबै क्षेत्रलाई परेको छ । बीमालाई पनि परेको छ । अहिले बीमा क्षेत्रमा अनुभव भएको मानिस खोज्दा पाइन्न । दक्ष मानिस पाउन मुस्किल छ । अहिले युवा विद्यार्थीहरुले विदेशमा बढी अवसर देखेरै जान लाग्नु भएको होला । उनीहरुलाई रोक्न गाह्रो छ । रोक्न सरकारले नै अवसरको सिर्जना गर्नुपर्छ ।’

Advertisement