सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वसाँसद एवं व्यावसायी इच्छाराज तामाङ दोषी ठहर

Advertisement

काठमाडौं । सिभिल सहकारी संस्थाका तत्कालिन सञ्चालक, व्यावसायी तथा पूर्वसाँसद इच्छाराज तामाङलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्तिको स्रोत नखुलेको भन्दै तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो । 

Advertisement

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले तामाङको सम्पत्तिको स्रोत खुल्न नसकेको अदालतले ठहर गरेको बताए । उनीमाथि तीन बर्षभन्दा धेरै सजाय हुनसक्ने अदालतको भनाई छ । विशेषले कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते तामाङ, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । उनीहरुमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका छन् ।

सिभिल सहकारीका बचतकर्ताको रकम सदस्यहरुलाई फिर्ता गर्न नसकेपछि छानविन सुरु भएपछि तामाङ पक्राउ परेका थिए । सहकारी संस्थाकै रकमबाट घरजग्गा कारोबार गर्दै सिभिल सहकारी समेत खडा गर्न सफल भएका उनले सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको अनुसन्धानपछि प्रहरीले बताएको थियो । 

सिभिल होम्सका अध्यक्ष समेत रहेका तामाङविरुद्ध तीन अर्ब ३१ करोड विगोसहित उनको नाममा रहेको जग्गा र अरु सम्पत्ति जफत हुनुपर्ने मागदावी गरिएको थियो । विभागले इच्छाराजकी पत्नी सिर्जना शाक्य तामाङसँग एक अर्ब ३० करोड विगो मागदावी गरेको छ । आफूविरुद्ध छानविन सुरु भएपछि तामाङले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । 

Advertisement

Advertisement