गण्डकीमा ६५ पूर्वाधार आयोजना बहुवर्षीय ठेक्कामा
प्रतीकात्मक तस्बिर ।

Advertisement

गण्डकी । गण्डकी प्रदेशका ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १२० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी स्रोत सुनिश्चित गर्न सो मन्त्रालयमा प्रस्ताव गरेको थियो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले बहुवर्षीयमा छानिएका आयोजनाको ठेक्का प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

Advertisement

‘मन्त्रालयले प्रस्ताव गरेका १२० आयोजनामध्ये ६५ आयोजनाको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनश्चित भइसकेको छ, बाँकी आर्थिक मामिला मन्त्रालयमा अध्ययनको क्रममा छन्,’ उनले भने ।

बढीमा २५ करोड रुपियाँ लागतसम्मका आयोजना बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार ५ करोडभन्दा कम लागतका ३३ र ५ करोडभन्दा धेरै लागतका आयोजनाको संख्या ३२ रहेको छ ।

बहुवर्षीय ठेक्काका लागि कास्कीका आठ, गोरखाका ६, तनहुँका आठ, नवलपुरका १०, पर्वतका चार, बागलुङका आठ, मुस्ताङको एक, मनाङका दुई, लमजुङका ६, स्याङ्जाका आठ र म्याग्दीका चार आयोजना छनोटमा परेका हुन् ।

‘आगामी तीन आर्थिक वर्षसम्मका लागि आयोजनाको बजेट सुनिश्चित गरिएको छ, यसबाट आयोजना निर्माणले गति लिने र समयमै सम्पन्न हुने विश्वास लिइएको छ,’ प्रवक्ता पौडेलले भने, ‘थप आयोजनालाई पनि बहुवर्षीय ठेक्कामा लैजाने गरी तयारी भइरहेको छ, आर्थिक मामिला मन्त्रालयबाट स्वीकृत भएर आउन बाँकी छ ।’

बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएका सडक, पक्की पुल र झोलुंगे पुलका लागि ५ अर्ब ४९ करोड ६४ लाख ५१ हजार रुपैयाँबराबरको बजेट सुनिश्चित भएको मन्त्रालयले जनाएको छ ।

अधिकांश तीन वर्षका र केही दुई वर्षका आयोजना बहुवर्षीय ठेक्कामा जाने प्रवक्ता पौडेलले जानकारी दिए । चालु आवमा टुक्रे योजना कटौती गरेको मन्त्रालयले बहुवर्षीय आयोजना छनोट प्रक्रियालाई पनि थप व्यवस्थित बनाएको उनको भनाइ छ ।

संघ सरकारले पठाएका टुक्रे प्रकृतिका योजनासमेत फिर्ता गरेर त्यहाँको बजेट दायित्व सिर्जना भइसकेका ठूला आयोजना लागि व्यवस्थापन गरिने भएको छ । संघ सरकारले चालु आवमा ३० लाखभन्दा कम बजेटका १ सय ७४ वटा योजनाका लागि १६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

उक्त बजेट दायित्व सिर्जना भएका संघीयका आठ वटा सडक आयोजनामा रकामान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement