बिना कारण कोर क्यापिटल खोसिंदा बैंकहरुको नाफा नकारात्मक भयोः बैंकर

Advertisement

काठमाडौं । राज्यले बैंकको कोर क्यापिटल बिना कारण राज्यले खोसेर लैजाँदा बैंकहरुको नाफा नकारात्मक हुन पुगेको बैंकरहरुले बताएका छन् । 

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै बैंकरहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले बिना कारण अनावश्यक नीति लिएर बैंकहरुबाट ३१ अर्ब रुपियाँ लिएकाले बैंकहरु दबाबमा रहेको बताए । उनीहरुले सरकारले लिने नीतिहरुको कारण पछिल्लो समय बैंकिङ क्षेत्रको समेत मनोबल कमजोर भएको र लगानी गर्ने आत्मबल समेत घटेको बताए । 

Advertisement

सरकारले बैंकिङ क्षेत्रलाई स्थायित्व र बलियो बनाउनको लागि जथाभावी नीति अपनाउन नहुने बताए । उनीहरुले बैंकमा खर्बौं लगानीयोग्य रकम हुँदा पनि कर्जा बिस्तार हुन नसक्नु निजी क्षेत्रको कमजोर मनोबलका कारण रहेको उल्लेख गरे । उनीहरुले बैंकहरुले अर्बमा नाफा गर्ने भाष्य कायम भएपनि चालु आवमा बैंकहरुको नाफा उच्च रुपमा गिरावट भएको भन्दै त्यसले बैंकहरु अफ्ठ्यारो अवस्थामा रहेको बताए । 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा बैंकहरुमा कर्जाको ब्याजदर घटेर एक महिना अघिको एभरेज ल्याडिङ रेट १०.७८ रहेको बताए । उनीले एभरेज ल्याडिङ रेट १०.७८ रेट प्रि–कोभिड भन्दा कम भएको दाबी गरे । एक वर्ष अघिसम्म बैंकको ब्याजदर बढी भएर व्यापार व्यवसाय चलायमान हुन सकेको भनिए पनि अहिले बैंकको ब्याजदर कम हुँदा पनि व्यापार व्यवसाय चलायमान हुन नसक्नु ठूलो प्रश्न खडा भएको बताए । 

अध्यक्ष केसीले ब्याजदर एकल अंकमा आइसक्दा रियल स्टेट, शेयर मार्केटमा सुधार आउन नसक्नु निजी क्षेत्रको मनोबल कमजोर हुनु रहेको दाबी गरे । पछिल्लो २० वर्षमा पहिलो पटक निजी क्षेत्रको आत्मबल कमजोर भएको बताए ।  निजी क्षेत्रको आत्मविश्वास नभएपछि बैंकिङ क्षेत्रलाई असर गर्न थालेको उल्लेख गरे । अहिले बैंकको रिटर्न इकुटी ८.८५ प्रतिशत रहेको बताए । ६१ सय अर्ब जति निक्षेप लगानी गरेको र ५१ सय अर्ब कर्जा बिस्तार भएको बताए । उनले चालु आवको अन्त्यसम्ममा ६ प्रतिशतको मात्रै कर्जा बिस्तार हुने अपेक्षा रहेको बताए । 

५ खर्बको लगानीयोग्य रकम बैंकहरुले लिएर बस्दा समेत कर्जा माग हुन नसकेको बताए । अध्यक्ष केसीले हरेक दिनको निक्षेपलाई राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजमा राख्न बैकहरुले दैनिक घाटा व्यहोर्नुपरिरहेको गुनासो गरे । निजी क्षेत्रका मुद्दाहरु र सरकारले नीतिगत रुपमा गरेका कामले निजी क्षेत्र मात्रै नभएर बैंकिङ क्षेत्रको पनि मनोबल कमजोर भएको दाबी गरे । 

त्यसैगरी ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरुको कर्जा बिस्तार तल्लो तहसम्म अझै पुग्न नसकेको बताए । सबै मानिसहरुमा वित्तीय पहुँच पुग्न नसकेको अवस्था बैंकहरुले स्वीकार गर्न सक्नुपर्ने बताए । नेपालको जिडिपीमा वृद्धि हुन नसक्नुको दोष कर्जा बिस्तारलाई दिनु नहुने बताए । 

कर्जा बिस्तार १० प्रतिशतसम्म निरन्तर हुँदा पनि जीडिपी ग्रोथ ५ प्रतिशतमा सिमित रहेको बताए । उनले जीडिपी भन्दा बैंकको कर्जाको बिस्तार बढी भए पनि नेपाली सबैमा बैंकको कर्जा पहुँचमा नपुगेको उल्लेख गरे । चालु आवमा १२ बैंकको नाफा नकारात्मक रहेको बताए । सरकारले बैंकहरुको विना कारण कोर क्यापिटलको ३१ अर्ब रुपियाँ खोसेर लैजाँदा समस्या भएको बताए । 

बैंकहरुको कोर क्यापिटलबाट ३१ अर्ब रुपियाँ खोसेर लैजाँदा नाफामा असर परेको बताए । बज्रचार्यले सरकारले हुँदै नभएको नीति ल्याउँदा बैंकहरुलाई दबाब परेको उल्लेख गरे । 

उनले अर्थतन्त्र चलायमान भएन मात्रै भनिरहेको, तर के कारणले भयो भनेर विश्लेषण गर्न नसकेको बताए । 

Advertisement

Advertisement