युनाइटेड अजोड इन्स्योरेन्सलाई प्राधिकरणबाट १५ प्रतिशत हकप्रद जारी गर्न सहमति

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्न सैद्धान्तिक स्वीकृत दिएको छ । प्राधिकरणले आज कम्पनीलाई १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सैद्धान्तिक स्वीकृत दिएको हो । 

प्राधिकरणका उप निर्देशक साम्भराज लामिछानेले युनाइटेड अजोडलाई हकप्रद निष्काशनको सैद्धान्तिक स्वीकृत दिएको बताए  । ‘कम्पनीले केही दिन अघि हकप्रद निष्काशनका लागि अनुमति मागेको थियो । शुक्रबार सैद्धान्तिक स्वीकृत दिइसकेका छौं,’ उनले भने, ‘अब कम्पनीले नेपाल धितोपत्र बोर्डले तोकेको प्रक्रिया पुरा गरेर हकप्रद निष्काशन गर्न सक्नेछ ।’

Advertisement

प्राधिकरणले बीमा क्षेत्रको नियामक निकाय हो । तसर्थ, बीमा कम्पनीहरुले आईपीओ तथा हकप्रद शेयर जारी गर्दा पहिला प्राधिकरणबाट सैद्धान्तिक स्वीकृत लिनुपर्छ । सोहीअनुसार यो कम्पनीले पहिला प्राधिकरणबाट सैद्धान्तिक स्वीकृत लिएको हो । हकप्रद निष्काशनको अन्तिम अनुमतिका लागि अब छिट्टै नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको तयारी छ । 

हाल कम्पनीको चुक्तापूँजी दुई अर्ब १० करोड रुपियाँ रहेको छ । त्यसको १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाख रुपियाँ बराबरको हकप्रद  जारी गर्ने गरि कम्पनीले स्वीकृति पाएको हो । हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ४१ करोड ५० लाख रुपियाँ पुग्नेछ । 

पहिला निर्जीवन बीमा कम्पनीको एक अर्ब र जीवन बीमा कम्पनीको दुई अर्ब रुपियाँ न्युनतम चुक्तापूँजी हुनुपर्ने व्यवस्था थियो । तर, २०७८ चैतमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई दुई अर्ब ५० करोड रुपियाँ र जीवन बीमा कम्पनीहरुलाई पाँच अर्ब रुपियाँ न्यूनतम चुक्तापुँजी कायम गर्न निर्देशन दिएको थियो । त्यसका लागि पहिलो म्याद २०७९ चैत मसान्तसम्मलाई तोकिएको थियो । अहिले त्यो म्याद आगामी असारसम्मलाई तोकिएको छ । 

चुक्तापूँजी बढाउन मामिलामा प्राधिकरणले कम्पनीहरुलाई मर्ज हुन प्रोत्साहन पनि गरेको थियो । सोही क्रममा युनाइटेड र अजोड इन्स्योरेन्स मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स बनेका थिए । मर्ज मार्फत पनि पुँजी नपुगेपछि कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद जारी गरेपछि पनि कम्पनीको चुक्तापुँजी दुई अर्ब ५० करोड रुपियाँ पुग्ने छैन । त्यसका लागि थप ८ देखि १० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पनि कम्पनीले पेश गरेको प्राधिकरणको भनाइ छ । 
 

Advertisement

Advertisement