​सरकारको सहयोग भयो भने पाँच वर्षमा पश्मिना व्यापार दोब्बर हुन्छ

Advertisement

बिगत तीन दशकदेखि पश्मिना व्यवसायमा लागेका नेपाल पश्मिना उद्योग संघका अध्यक्ष पुष्पमान श्रेष्ठलाई यतिखेर सरकारले कस्तो बजेट ल्याउने हो ? भन्ने कौतुहलता छ । सरकारले पश्मिना जस्ता निर्यातजन्य उद्योगलाई दिँदै आएको सहुलियतलाई सहज र केही विस्तार गरिएदिए आगामी पाँच वर्षमा यसको निर्यात दोब्बर बनाउन सकिने उनी बताउँछन् । भूकम्पले आफूहरु जस्ता व्यवसायीलाई प्रभावित गरे पनि विचलित नभएको भन्दै श्रेष्ठले पश्मिना उद्योगको विस्तार र निर्यातका लागि आफूहरु थप लगानी गर्न तयार रहेको तर बजेटमा आफुहरुलाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नसक्ने गरी सहयोगको प्याकेज ल्याउनुपर्ने माग गर्छन । प्रस्तुत छ अध्यक्ष श्रेष्ठसँग कर्पोरेट नेपालले गरेको कुराकानीको अंशः 

  • पश्मिनाको विश्व बजारमा नेपालको स्थान के छ ? 


हाम्रो दुई प्रतिशत मात्रै बजार हिस्सा छ । यसमा इटलीको २५ प्रतिशत, चीनको २३, भारतका १४ प्रतिशत छ । पछिल्लो समयमा विश्व बजारमा पश्मिनाको माग ३३ प्रतिशतले बढे पनि हाम्रो भने जम्मा चार प्रतिशतले बढेको छ । हाम्रो बार्षिक उत्पादन करिव चार अर्ब हुन्छ । त्यसमा आधा निर्यात हुन्छ बाँकी आधार स्थानीय बजारमै खपत हुन्छ । अहिले ठमेलदेखि पाटन, पोखरा जति ठाउँ छन् पर्यटक जाने, यी कुनै पनि ठाउँमा पश्मिना नराखिएको ठाउँ छैन । स्थानीय बजारमा पनि ९५ प्रतिशत पर्यटकले किन्छ । 


  • अहिले कति पश्मिना उद्योग सञ्चालनमा छन् । यिनमा कति मजदुर कार्यरत छन् ? 


उत्पादक, निर्यातकर्ता, बिक्रेता सबै गरेर एक हजारजति व्यवसायी छन् । उद्योगी चाँही सयजना जति छन् । निर्यातकर्ता पाँचसय जति छन् । २० हजार जतिले रोजगारी पाएका छन् ।  

  • हाम्रो क्षमता कति छ । हामीले कति उत्पादन र निर्यात गरिरहेका छौं ? 


हाम्रो पूर्वाधार र जनशक्ति छ, त्यसले १० अर्बको व्यापार गर्नसक्ने स्थिति छ । तर त्यो अहिले हुन सकेको छैन । जब पश्मिनाको बजारमा छिमेकी चीन र भारत आक्रमक रुपमा आए त्यसपछि हाम्रो बजार खस्किएर गयो । हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिति भएन । हामीसँग त्यो किसिमको सहुलियत, प्रोत्साहन भएन । प्रचारप्रसार पनि भएन । हाम्रा उत्पादनको गुणस्तरमा पनि समस्या रह्यो । सन् १९९९/२००० मा १० अर्बले भएको निर्यात खस्किएर एक अर्बमा झर्यो । पछिल्लो समय यसमा केही सुधार भएको छ । 


  • बैशाखको भूकम्पले पश्मिना उद्योगलाई कति क्षति गर्यो ? 


यो वर्षको सुरुवात हाम्रो लागि साह्रै नराम्रो भयो । भूकम्पले २३ जना व्यवसायीको घर तथा व्यवसायमा क्षति पुगेको छ । कतिपय व्यवसायीले परिवारजन नै गुमाउनु भएको छ । ४० जनाभन्दा बढी कामदारको घर नष्ट भएको छ । अर्डरहरु पनि दुई महिना ढिलो हुन पुगेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नै पश्मिनाको व्यापार २२ प्रतिशतले कमी आएको जनाएको छ । भूकम्पले हाम्रो व्यापार कमजोर भएको छ । काम गर्ने मानिसको कमी भइरहेको छ । तैपनि पश्मिना व्यवसायी साथीहरुको मनोबल गिरेको छैन । यस्तो अवस्थामा पनि हामी हाम्रो व्यवसायलाई टिकाउनेतिर लागिरेका छौं । हामी यो पेशा छोडेर जादैनौ । 


  • पश्मिना व्यवसायको प्रवद्र्धनका लागि के गर्नुहुन्छ अब ? 


यस व्यवसाय विस्तारका लागि पूर्वाधार खडा गर्ने, थप लगानी गर्ने कुराका लागि हामी तयार छौं । यसका लागि सरकारले पनि आवश्यक सहजीकरण र प्रोत्साहन गर्नुपर्यो । हामीले धेरै मागेको पनि छैन सरकारसँग । यस व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन छिमेकी मुलुकले दिएसरह प्रोत्साहन दिनु । उनीहरुको जस्ता कार्यक्रम ल्याइदिनु भनेको हो । हिमाली क्षेत्रका किसानहरुले पनि उन्नत जानका सेता च्याङग्रा पाल्ने, पाल्न लगाउने बाताबरण बनोस, सरकारले अहिले दिइरहेका कुरालाई नै अल्लि दिल खुल्ला गरेर सहज र व्यवस्थित गरिदियोस् भन्ने हाम्रो चाहना हो । 


  • के के छ सरकारको सुविधा ? अब के गर्नुपर्यो ? 


सरकारले हामीलाई मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको सुविधा दिएको छ । भन्सारमा तिरेको कर फिर्ताको सुविधा दिएको छ । दुई प्रतिशन नगद प्रोत्साहन दिएको छ । यसमा भुक्तानी लिन झमेला भएकाले सरलीकृत गरिदिनुपर्यो । ठूलठूला व्यवसायीले त यस्ता छुट सजिलै लिइहाल्छ । हामी जस्ता साना व्यवसायीलाई गाह्रो छ । नवीकरणका लागि साना तिनो कमजोरीमा ठूलो पनि ठूलो जरिवाना तिर्नुपर्ने बाध्यता छ । नवीकरण नहुँदा नहुँदै पनि भन्सारका कर्मचारीले सामान छुटाइदिन्छन । पछि विना नवीकरण सामान छुटाएको भने लाखौं जरिवाना लगाइदिँदा हामीलाई मर्का पर्ने गरेको छ । सानो व्यवसाय गर्नेले ठूलो जरिवाना तिर्नुपर्यो भने कसरी चल्ने ? व्यवसायिक प्रवद्र्धनका लागि हामीहरुले सहुलियत र प्रोत्साहन माग गरेको हो, उल्टै सरकारलाई तिर्नुपर्र्यो भने हामी कसरी चल्ने ? दुई प्रतिशत नगद प्रोत्साहनले मात्रै हस्तकलाको वस्तुहरुको निर्यात हुन्छ भन्ने होइन । हामीले यसो गरेवापत यति नगद चाहिन्छ भनेर कहिल्यै भन्दैनौ । मलाई व्यक्तिगत रुपमा पनि नगद प्रोत्साहन लिनुहुन्न भन्ने लाग्छ । नगद प्रोत्साहन छिमेकी मुलुकहरुले हामीले भन्दा बढी दिएका छन् । हाम्रो उद्देश्य भनेको अरु मुलुकसँग कसरी प्रतिस्पर्धी हुने र निर्यात बढाउने भन्ने हो । यही नगद प्रोत्साहनको कुरा पनि टाठाबाठा ठूला व्यवसायीलाई लगिहाल्छन । त्यसकारण निर्यातमूलक व्यवसायीका लागि १० प्रतिशत नगद प्रोत्साहन हुनुपर्छ भनेर हामीले कुरा उठाउँदै आएका छौं । आठ प्रतिशतसम्म दिने कुरा आइरहेको छ । त्यति आयो भने पनि हामी व्यवसायी साथीहरुले खुशी मान्नुपर्छ । यदी हामीले नगद प्रोत्साहन सहज तरिकाले पाउने हो भने हालको तयारी पोषाक, गलैचा, हस्तकला र पश्मिनाको निर्यात हालको १५ अर्बको निर्यात आगामी पाँच वर्ष ४० अर्बभन्दा माथि पुर्याउँछौं । 


  • बजेट कस्तो आओस भन्ने चाहना छ ? 


बजेट आउँदैछ । यसमा हामी धेरै बोल्दैनौ । किनभने सरकारमा यो विषयमा बुझेका र पढेलेखेका धेरै छन् । हालको व्यापार घाटा झण्डै आठ खर्ब छ । यी हस्तकला, पश्मिना, गलैचा, तयारी पोषाक जस्ता वस्तुको निर्यात सतप्रतिशतले बढाउँदा ४० अर्ब भन्दा हुँदैन । यो घाटा कम गर्न सरकारले विशेष पहल गर्नुपर्छ । पर्यटन, जडिबुटी, जंगल, उर्जामा लगानी गर्नुपर्छ । सरकारले जनशक्ति निर्यात गरिरहेको छ । यो राम्रो होइन । म्यानपावर कम्पनी खोलेर सरकार चुप लागेर बस्ने होइन । यदी मानिस बाहिर पठाउने होभने सीपमूलक जनशक्ति निर्यात गर्नुपर्छ । जसले धेरै पैसा आओस र राष्ट्रिय आम्दानीमा सहयोग पुगोस् । युवालाई विदेश पठाएर आर्थिक विकास हुन्छ भन्ने होइन् मुलुकमै रोजगारीका अवसर सिर्जना उद्योगधन्दाको विकास गनुपर्छ । ठूला पूर्वाधार आयोजनाको विकास गर्नुपर्छ । निर्यातमूल्क उद्योगहरुलाई कसरी सक्षम र प्रतिस्पर्धी बनाउन भन्ने कुरालाई प्राथमिकता दिएर प्रोत्साहनलाई प्याकेजमा ल्याउनुपर्छ । 


  • च्याङग्रा पश्मिनाको ट्रेडमार्क कहाँ कहाँ दर्ता गर्नुभयो अहिलेसम्म ? 


हालसम्म ४३ वटा देशमा भयो । पूरा युरोप, अमेरिका, क्यानडा, जापानलगायतमा भइसक्यो । चीनमा चाँडै दर्ता हँदैछहालसम्म ४३ वटा देशमा भयो । पूरा युरोप, अमेरिका, क्यानडा, जापान, एसियाका धेरै मुलुकमा भइसक्यो । चीन, संयुक्त अरब इमिरेट्स, ब्राजिलमा चाँडै दर्ता हुँदैछ । 


  • दर्ता पछिको उपलब्धी के छ ? 


दर्ताको क्रम छ । तर प्रचारप्रसारको कमीले गर्दा धेरै उपलब्धी हुन सकेको छैन । यही पेट्स प्रोजेक्टमार्फत बाहिर जाँदा यसको प्रचारप्रसार गरिरहेका छौं । मुख्य कुरा हामीसँग पैसा नभएर धेरै प्रचारप्रसार गर्न सकिएको छैन । 


  • ट्रेडमार्कको प्रचारप्रसारमा सरकारले सहयोग गरेका छैन ?


सरकारले हामीलाई मद्दत गर्ने सिलसिलामा धेरै सहयोग गरेको छ । विशेषगरी बाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले । यसै सिलसिलामा पश्मिना उद्योगको विकास र निर्यातका लागि डेढ वर्ष पहिले पेट्स नामक परियोजना आएको छ । यसैमार्फत हाम्रा १० व्यवसायीले अमेरिका, भारतलगायतका मुलुकमा तालिम लिन जाने, ट्रेडमार्कको प्रचारप्रसार गर्ने अर्डर ल्याउने काम गरिरहेका छन् । यसबाट उनीहरुले अन्तर्राष्ट्रिय सम्वन्ध कसरी राख्ने भन्ने कुराको ज्ञान हासिल गरेका छन् । विभिन्न मुलुकमा भएका प्रदर्शनीहरुमा जाँदा जति सकिन्छ हाम्रो उत्पादन बिक्रीमा हामीले जोड दिएका छौं । यी सबै कुरा ठिक छ । तर हामीलाई खडकिएको कुरा के भने पश्मिनाको नाममा गैर पश्मिनाको पनि बिक्री भइरहेको छ । यो हाम्रै व्यवसायीले पनि गरिरहेका छन् । हामीले भनिरहेका छौं पश्मिना भनेपछि शुद्ध त्यसैको काम हुनुपर्यो । हामीले उत्पादन गछौं, त्यसको ठिक लेबल लगाएर मात्रै बिक्री गरौं । यो भयो भने हामीप्रति गुमेको अविश्वास घटेर जानेछ । 


  • नेपालमा भविश्यमा पश्मिनाको संभावना कस्तो देख्नुहुन्छ ? 


संभावना राम्रो छ । तर हामीलाई पश्मिनाका लागि चाहिने कच्चा माल सेतो उन पाउन गाह्रो छ । हाम्रो हिमाली क्षेत्रमा पाउने च्याङ्रग्रा भनेको कालो, टाटोपाङग्रे हो जुन माशुका लागि पालिएका हुन । तिनको उन पश्मिनाजन्य वस्तु निर्माणका लागि त्यत्ति राम्रो हुँदैन ।  चीनले ब्रिडिङ केन्द्रहरु स्थापना गरेर सेतै सेतो च्याङग्रा उत्पादन गरेको छ । सेतो कच्चा पदार्थ भयो भने त्यसलाई हामीले जस्तोसुकै रंगमा पश्मिना उत्पादन गर्न सकिन्छ । नेपालमा यस्तो पश्मिनाको कच्चा पदार्थ नपाउँदा चीनबाटै आयात गर्नुपर्ने अवस्था छ । नेपालकै हिमाली क्षेत्रमा यस्ता ब्रिडिङ केन्द्र स्थापना गरेर सेता च्याङग्रा उत्पादन गर्न सकियो भने कच्चा पदार्थका लागि बाहिरिने पैसा पनि जोगिन्थ्यो, किसानलाई पनि लाभ हुन्थ्यो । यसले नेपालको पश्मिना उद्योगलाई पनि थप बलियो बनाउथ्यो । चीनमा पश्मिनाकै लागि भनेर च्याङग्रा उत्पादनमा विशेष सहयोग गरिदिएको छ । हाम्रोमा पनि त्यो गर्न सक्छौं । लाखौं संख्यामा सेता च्याङग्रा उत्पादनका लागि ठाउँ ठाउँमा ब्रिडिङ केन्द्रहरु स्थापना गर्न नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता सरकारले पनि सरकारलाई घचघच्याइदिनु जरुरी छ । हाम्रो देशमा १४ जिल्लामा च्याङग्रा पाइन्छ भन्ने एउटा प्रतिवेदनमा छ । हामीले किसानलाई कसरी च्याङग्रा पाल्ने, कसरी त्यसबाट लाभ लिने भन्ने तालिम दिन सकियो भने उनीहरुले दोब्बर लाभ लिनसक्छ । त्यसका लागि विज्ञहरुको पनि व्यवस्था गर्नुपर्छ । अरु पनि धेरै मानिस यस पेशातर्फ आकर्षित हुने, रोजगारीका अवसर सिर्जना हुने बाताबरण बन्छ । हामी कच्चा मालका लागि चीन र अरु मुलुकसँग भर पर्नेपर्ने अवस्थाको पनि अन्त्य हुनेछ । 


  • राष्ट्र बैंकसँग तपाईंहरुको अपेक्षा के हो ? 


हामी चार दशमलव पाँच प्रतिशतमा पुर्नकर्जा पाइरहेका छौं । यो कर्जा ठूला व्यवसायीले पाएका छन् । सानाले पाउन सकेका छैनन् । सबै बैंकहरुले पनि यसलाई कार्यान्वयन गरेका छैनन् । म राष्ट्र बैंकलाई अनुरोध गर्छु की यो पुर्नकर्जाको सुविधालाई सबै बैंकले सरल तरिकाले उपलब्ध गराउने व्यवस्था मिलाइयोस् । यदी यो सुविधा सबैले पाउने हो भने हाम्रो निर्यात पाँच बर्षमा दोब्बर गराउन गाह्रो हुँदैन । पुर्नकर्जाको छ महिनाको अवधिलाई पनि न्यूनतम् एक वर्ष सकिन्छभने त्योभन्दा बढी पुर्याउनुपर्छ । त्यसले साना तथा मझौला उद्योगको क्षमता बढाउन पनि सहयोग पुग्छ । अर्को कुरा कृषि उत्पादन बढाउने भनेर छ प्रतिशत व्याजदरमा सरल कृषि कर्जा प्रवाह गरेको छ । यो अपेक्षाकृत रुमिा प्रवाह हुन सकेको छैन । यस्तो कर्जा निर्यातकर्जालाई दिँदा राम्रो हुन्थ्यो । किनभने हामीले लिएको कर्जा तिर्न नसकेको भनेर बाहिर आएको उदाहरण छैन । 


  • पेट्स परियोजना कत्तिको प्रभावकारी भएको छ ? 


पश्मिना उद्योगको सशत्तिकरणका लागि ल्याइएको पेट्स परियोजनाले बिगतको डेढ वर्षमा कति सफल भयो भन्ने कुरा परिणाम देखिन पाएको छैन । यो तीन वर्षको परियोजना हो । अहिलेसम्म यसले राम्रै गर्दै गएको छ । तर यसको अवधि थोरै भयो । कम्तिमा छ वा नौ वर्षको बनाउन सकियो भने पश्मिनाको बजारीकरणमा सहयोग पुग्छ । 

Advertisement

Advertisement

Advertisement