घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको मेरूदण्डः प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएकोले यसको प्रवद्र्धन र संरक्षण गरिने बताएका छन् । 

नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिहरुको शुभकामना थाप्दै उनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव रहेको बताए । 

Advertisement

दाहालले आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले सदैव निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्ने बताए । मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउन तत्काल के के गर्न सकिन्छ ? छिट्टै निजी क्षेत्रका संघ संगठनसँग बसेर छलफल गर्ने आफ्नो सोच रहेको पनि उनले बताए । 

प्रधानमन्त्री दाहालले आर्थिक सुधारका कार्य गर्दा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने आफ्नो सरकारको पूरानो नीति यथावत रहेको बताए । 

महासंघका अध्यक्ष श्याम गिरीले गत वर्षको भूकम्पबाट ३२ जिल्लाका १७ हजारभन्दा बढी लघु, घरेलु तथा साना उद्योगी धेरै प्रभावित भएको, ५५ जना उद्योगीले ज्यान गुमाउनु परेको भन्दै भन्दै वास्तविक उद्यमीको पहिचान गरी उनीहरुलाई परिचयपत्र र त्यसका आधारमा पाँच लाख रूपियाँ अनुदान उपलब्ध गराउन आग्रह गरे ।

भूकम्प तथा नाकावन्दीको मारमा परेका उद्योगको पुनःस्थापनाका लागि सरकारले स्थापना गरेको पुनरूद्घार कोषसम्वन्धी कार्यविधिमा सुधार गरी भूकम्प प्रभावित ३२ जिल्लाका लघु, घरेलु तथा साना उद्योगको पुनःस्थानका लागि तत्काल कर्जा प्रवाह गर्न, कोषको सञ्चालक समितिमा महासंघलाई सहभागी गराउन उनले आग्रह गरे । 

औद्योगिक नीति अनुसारको ऐन तत्कालै जारी गर्न, लामो समयको प्रयासपछि सरकारले जारी गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका’मा विदेशी बस्तुभन्दा १५ प्रतिशतसम्म महङ्गो भएपनि स्वदेशमै उत्पादित वस्तु खरिद गर्नुपर्ने प्रावधानलाई कार्यान्वयन गर्न गिरीले आग्रह गरे । 

उनले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु गुणस्तरीय र निर्यातयोग्य हुँदाहुँदै पनि सुचना र बजार पहिचानको अभावमा निर्यात हुन नसकिरहेकोले गुणस्तरीय वस्तुहरूको निर्यात बृद्धि गर्न सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप राष्ट्रियस्तरको एउटा निर्यात गृहको स्थापनाका लागि आवश्यक स्थान तथा बजेटको व्यवस्था गरिदिन आग्रह गरे । 

Advertisement

Advertisement