काठमाडौँ उपत्यकामा एक लाख १५ हजार ८०३ भूकम्प पीडित परिवार

Advertisement

काठमाडौंः काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका एक लाख १५ हजार ८०३ घरको सर्वेक्षण भएको छ । यही असोज १५ गतेसम्म काठमाडौँमा ५३ हजार १४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६६१ घरको सर्वेक्षण सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । 

यसअघि भूकम्प अति प्रभावित उपत्यका बाहिरका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, गोरखा, धादिङ, रसुवा र नुवाकोट जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरिएको थियो । 

Advertisement

काठमाडौँ उपत्यकामा भने ‘भेरिफिकेसन मोडल’(रुजु)बाट घर सर्वेक्षण गरिएको हो । सर्वेक्षण सम्पन्न भई अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्नेक्रम सुरु भएकाले राजधानीमा छिट्टै अनुदान सम्झौता सुरु हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । 

लमजुङ, चितवन, खोटाङ, तनहुँ, स्याङ्जा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र सङ्खुवासभामा दसैँपछि तयारी गरी तिहारपछि स्थलगत रुपमा रुजु ढाँचाबाट सर्वेक्षण गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए । 

“प्रभावित १७ जिल्लाका जिविससँग भूकम्प प्रभावितको सूची सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत् माग गरिएको छ, १७ वटै जिल्लामा सर्वेक्षण हेर्न ‘फोकल पर्सन’ तोकिएको छ”– उनले भने । रासस 

Advertisement

Advertisement