नेपालीले बनाएको सोसियल नेटवर्क 'सगुन डटकम' असफलतातर्फ

Advertisement

काठमाडौंः नेपाली यूवाहरुले विकास गरेको भनिएको नयाँ सोसियल साइट ‘सगुन डटकम’ असफलताको स्थितिमा पुगेको छ । झण्डै दुई बर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीमार्फत शुभारम्भ गरिएको यो सञ्जालमा मानिसहरुको साखै आकर्षण नदेखिएपछि असफलताको स्थितिमा पुगेको हो । 

विसं २०७१ आफुन १३ गते अमेरिका, भारत र नेपालबाट एकसाथ सार्वजनिक गरिएको सगुन डटकम विस्तारका लागि भन्दै यसका संस्थापकहरुले लगानीका लागि आब्हानसमेत गरेका थिए ।  तर पनि कुनै ठूला लगानीकर्ता लगानी गर्न तयार नभएपछि सगुन डटकम अहिले अप्ठ्यारो मोडमा पुगेको छ । 

Advertisement

सगुन डटकममा प्रयोगकर्ताको खासै आकर्षण नदेखिएका कारण लगानीकर्ताहरु नआएको आइसिटी नेपाल सम्वद्ध एक कर्मचारीले जानकारी दिए । उनले भने, सुरुमा जुन खालको आशा र संभावना देखिएको थियो, त्यो अहिले छैन । प्रयोग गर्ने मान्छे नै बढेका छैनन् । प्रयोगकर्ता बढेपो महत्व बढने हो । 

नेपालीले विकास गरेको सामाजिक सञ्जाल भएकाले सहानुभूतिस्वरुप केही नेपाली प्रयोगकर्ता देखिए पनि बाहिर भने यसको कुनै सञ्जाल बढन सकेको छैन । अमेरिकाको पेन्टागन (रक्षा मन्त्रालय)मा काम गर्ने गोविन्द गिरीले त्यहाँको जागिर छोडेर सगुन नामक सोसियल नेटवर्क बनाएका थिए । 

सुरुमा सगुनलाई गुगलजस्तै सर्च इञ्जिन बनाउने योजना बनाएका उनले पछि सोसियल साइटको रुपमा यसलाई रुपान्तरण गरेका थिए । फेसबुक, ट्वीटर जस्ता करोडौं प्रयोगकर्ता रहेका सामाजिक सञ्जालहरुसँग प्रतिस्पर्धा गर्ने योजनासहित सार्वजनिक गरिएको सगुनका प्रयोगकर्ता तीन लाख भन्दा बढि रहेको दाबी गरिए पनि यसको सक्रिय प्रयोगकर्ता भने एक लाख भन्दा कम रहेको आइसिटी नेपालसम्वद्ध स्रोतले बतायो । 

त्यस्ता प्रयोगकर्तामा अधिकांश नेपाली मात्रै छन् । नेपालीले विकास गरेको सोसियल नेटवर्क लोकप्रिय भई फेसबुक र ट्वीटर जस्ता साइटहरुसँग प्रतिस्पर्धा गर्ने नेपालीहरुको आशा निराशामा बदलिने देखिएको छ । 

अन्य सोसिइल साइटको भन्दा फरक विशेषता खाता खोल्दा, साथी बनाउँदा, गोप्य म्यासेज पठाउँदा तथा अन्य गतिविधि गर्दा प्रयोगकर्ताले नगद उपहार पाउने भनिए पनि प्रयोगकर्ताले त्यसबाट लाभ लिन सकेका छैनन् । यस्तो रकम सहज र प्रष्ट विधि अहिलेसम्म कुनै पनि प्रयोगकर्ताले रकम पाउन सकेका छैनन् । 

जसले गर्दा सगुनका उपभोक्ता र आम मानिसहरुमा भ्रम सिर्जना गर्ने काम भएको छ । सगुन डटकममा फेसबुक, ट्वीटर, हृवाट्स एप, स्न्याप च्याट, इन्स्टाग्राम लगायतका म्यासेजिङ साइटहरुको विशेषता रहनुका साथै  परिवारका सदस्य तथा साथिहरुसँग फोटो तथा सूचनाहरू आदान प्रदान गर्न मिल्छ । तर अन्य सोसियल साइटको तुलनामा त्यसको प्रयोग सहज र प्रतिस्पर्धी किसिमको नहरेको उपभोक्ताहरुको अनुभव छ । 

अन्य सोसियल साइटमा जस्तो सगुनमा लाइभ कुराकानी तथा च्याट गर्न नसकिने भए पनि सूचनाहरू सेयरिङ गर्न सकिने व्यवस्था छ । यसमा आफ्ना व्यक्तिगत फोटोहरु ग्रुप बनाएर सगुनमा सेयरिङ समेत गर्न सकिन्छ । यसका संस्थापकहरुले दावी गरेअनुसार सगुनको आकर्षक सुविधा भनेको गोप्य डाटा तथा सूचनाहरु स्टोर गरेर राख्न सकिन्छ ।

Advertisement

Advertisement