नेपाल टेलिकमको ग्लोबल कनेक्टिभिटीका लागि भारतसँगको परनिर्भरता अन्त्य

Advertisement

काठमाडौंः नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्ग (टेलेस्टरियल केवल रुट)बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचन अमात्य र चाइना टेलिकम ग्लोबल (सीटीजी)का कार्यकारी उपाध्यक्ष ओउ यानले मंगलबार हङकङमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन । केही समयअघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएका थिए । 

Advertisement

त्यसपछि हाल यो सम्झौता सम्पन्न भएको हो । चीनसँग स्थलमार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने नेपाल टेलिकमले जनाएको छ । भारत हुँदै प्रयोग गरिएको रुटबाहेक इन्टरनेशनल कनेक्टिभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प हो ।  

अब चिनियाँमार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भएको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन सहज भएको छ । 

उक्त सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत अमात्यले नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने बताए । उनले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने बताए ।  

सिटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताए । उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता जनाए । 

 

Advertisement

Advertisement