बन्द निजी उद्योगहरु सञ्चालनमा सहयोग गर्ने सरकारी निर्णयको साना उद्योगीहरुद्धारा स्वागत

Advertisement

काठमाडौंः लघु, घरेलु तथा साना उद्योगहरु संचालन गर्न सरकारले सहयोग र सहजीकरण गर्ने निर्णयको नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वागत गरेको छ । 

उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगहरुको पुर्नसंचालन गर्ने निर्णयले मुलुकभरका उद्यमीहरु निकै हर्षित भएको महासंघको भनाई छ । विगत लामो समयदेखि विभिन्न कारणले बन्द रहेका र २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्प, नाकावन्दी तथा चर्को लोडसेडिङ लगायतका कारणले लघु, घरेलु तथा साना उद्योगहरु बन्द रहेका छन् । 

Advertisement

बन्द रहेका यस्ता उद्योगहरुको संचालनका लागि सरकारले सघाउने उद्योगमन्त्री नवीन्द्रराज जोशीको निर्णयले आफूहरुलाई हर्षित बनाएको महासंघका अध्यक्ष श्याम गिरीको भनाई छ । निर्णयअनुसार आगामी दिनमा बन्द उद्योग सञ्चालनको प्रक्रियालाई अगाडि बढने कुरामा आफूहरु विश्वस्त रहेको जनाएका छन् । 

मुलुकभर लघु, घरेलु तथा साना उद्योगको संख्या झण्डै तीन लाख छन् । यस्ता कूल उद्योगमध्ये करिव एक लाख उद्योगहरु विभिन्न कारणले बन्द रहेको अनौपचारिक तथ्याङक छ । उद्योग मन्त्रालयको निर्णयबाट बन्द अवस्थामा रहेका उद्योगहरु गाउँदेखि शहरसम्म संचालन भई राहत पुग्ने जनाउँदै गिरीले यसले समग्र अर्थतन्त्रलाई गति दिनसमेत सहयोग पुग्ने बताए । 

उद्योग बन्द हुनाका कारण स्पष्टरुपमा लेखी प्रस्ताव पेश गरेमा आवश्यक मूल्याङकन गरि उद्योग संचालनका लागि पहल गर्ने सरकारको निर्णयले औद्योगिक क्षेत्रमा आशाको रक्तसञ्चार भएको महासंघको भनाई छ । यसले निजी क्षेत्र उत्साहित बनेको भन्दै महासंघले बन्द भएका उद्योग संचालनका लागि आवश्यक कारणसहित २१ दिनभित्र प्रस्ताव पेश गर्न सूचना प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिएको जनाएको छ । 

Advertisement

Advertisement