नयाँ प्रविधिलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको भव्य तयारी

Advertisement

काठमाडौंः परम्परागत रूपमा सञ्चालन हुँदै आएका नेपालका लघु घरेलु तथा साना उद्योगहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त गराउने मुल उद्देश्यसहित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रद्धर्शनी आयोजना गरिने भएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुँदै आएको यो मेला विगतमा आयोजना हुँदै आएको राष्ट्रिय औद्योगिक प्रद्धर्शनीको तेह्रौं संस्करण हो । यस पटक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय प्रदर्शनीको रुपमा आयोजना गर्न लागिएको हो । 

Advertisement

महासंघले बुधबार पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी दिएको हो । सम्मेलनमा महासंघका अध्यक्ष श्याम गिरिले नेपालका लघु, घरेलु तथा साना उद्योगहरु परम्परागत सीप र प्रविधिमा निर्भर हुँँदा युवाहरुको आकर्षण यस क्षेत्रमा बढन नसकेको र मुलुकमा पनि खास औद्योगिकीकरणको विकास हुन नसकेको भन्दै यस बर्षको प्रदर्शनीको मुल उद्देश्य सकेसम्म नेपालीहरुले नै विकास गरेको प्रविधिको प्रवद्र्धन र नेपालीलाई उपयुक्त हुनसक्ने विदेशी प्रविधिलाई समेत भित्राउनु रहेको बताए । 

परम्परागत प्रविधिमा निर्भर हुँदा त्यसले राम्रो उत्पादकत्व नदिने भएकाले यस्ता प्रविधिलाई अब संग्रहालयमा राखी नयाँ प्रविधिलाई अपनाउनुको विकल्प नरहेको गिरिको भनाई छ । जसका कारण यस्ता उद्योगहरूको समुचित विकास हुन नसकेको र पुस्ता हस्तान्तरण पनि हुन नसकेर धेरैजसो उद्योगहरू रुग्ण वा बन्द पुगेको उनले बताए । 

अब हाई–टेक साना उद्योग प्रवद्र्धन केन्द्रित कार्यक्रमहरू ल्याउन जरुरी रहेको भन्दै गिरिले यसका लागि सबै क्षेत्रको संयुक्त पहल आवश्यक छ भने । राज्यले नेपालमा विकास भएका प्रविधि र आविश्कारहरुलाई प्रवद्र्धन गर्न नसकेको र त्यस्ता प्रविधिको अभावमा साना उद्योगहरु उठन नसकेको उनको विश्लेषण छ । 

यी दुवै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यले बैशाख ७ देखि ११ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुन लागेको महासंघको भनाई छ । मेलामा प्रद्धर्शन गर्न लायकका सबै खोज, अनुसन्धान तथा आविष्कारहरूलाई पनि प्रदर्शन गरिने छ । 

यस पटकको प्रदर्शनीमा छिमेकी मुलुक चीन, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूमा विकास गरिएका प्रविधिहरूलाई पनि सहभागी गराइनेछ । यसबाट नेपालका अनुसन्धानकर्ताहरूलाई थप ज्ञान र सीप प्राप्त हुने विश्वास लिइएको छ । 

औद्योकरणका लागि उपयुक्त हुने प्रविधिका आविष्कारकहरूलाई पुरस्कृत र सम्मान गरिनेछ । विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँग सहकार्य गरि गर्न लागिएको यो औद्योगिक व्यापार मेलामा हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिनेछ ।

उद्यमी र उद्यमी, अन्वेषणकर्ता र उद्यमीबीच अन्तरक्रिया एवं छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका थप आकर्षण हुने गिरिले बताए । 

मुलुकका ७५ जिल्लाबाटै उद्यमीहरू एवं उपयुक्त प्रविधि प्रयोगकर्ता उद्यमीहरू, प्रविधि अन्वेषणकर्ताहरूको सहभागिता रहने प्रदर्शनीमा तीनसय स्टल रहनेछन् भने एक लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । 

 

Advertisement

Advertisement