औद्योगिक व्यापार मेलामा चार दिनमा झण्डै १० करोडको कारोबार

Advertisement

काठमाडौंः राजधानीको भृकुटीमण्डपमा चलिरहेको नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा सोमबारसम्म प्रत्यक्ष अप्रत्यक्ष झण्डै १० करोड रुपियाँ बराबरको कारोबार भएको छ ।

सोमबारसम्म मेलामा एक लाख ४० हजार अवलोकनकर्ताले अवलोकन गरेका आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले दावी गरेको छ । मेलामा सोमबार मात्रै तीन करोड रुपियाँको कारोबार भएको जनाइएको छ ।

आज मेलामा पूर्वमन्त्रीहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायतले अवलोकन गरेका थिए । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले हरेक बर्ष आयोजना गरिने मेला मङ्गलबारसम्म चल्नेछ ।

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको यस बर्षको मेलाले मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्याम गिरीले बताए ।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ । मेलामा २५० वटा स्टल रहेका छन् ।

Advertisement

Advertisement

Advertisement