घरेलु तथा हस्तकला मेलामा ७५ हजारको अवलोकन, साढे तीन करोडको कारोबार

Advertisement

काठमाडौंः राजधानीमा बिहीबारदेखि जारी ‘१३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ को तेस्रो दिनसम्म ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले दावी गरेको छ । 

घरेलु तथा हस्तकला उद्योगको विकास गर्ने उद्देश्यले भृकुटीमण्डपमा आयोजित मेलामा साढे तीन करोड रूपियाँको कारोबार भएको महासंघले जनाएको छ । शनिबार मात्रै दुई करोड ४० लाख रूपियाँको कारोबार भएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिए ।

Advertisement

लघु, घरेलु तथा साना उद्यमीहरु परम्परागत वस्तु उत्पादनमै सीमित रहेकाले ढाका, पश्मिना, सेरामिक, हस्तकला जस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको तर कृषि, गैरकाष्ठजन्य वन, जडीबुटी तथा प्राकृतिक रेशाजन्य बस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महंगा पत्थरहरु), पर्यटन, बैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा संचार प्रविधि लगायत स–साना जलविद्युतमा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय गर्नेतर्फ  पर्याप्त ध्यान दिन नसकिएका कारण उद्योग तथा व्यापारका क्षेत्रमा संकुचन आएको उनको भनाई छ । 

प्रदर्शनीमा २१५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन् । त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरु रहेका छन । यस प्रदर्शनीमा करिव छ करोड रुपियाँको आर्थिक कारोवार हुने र एक लाखले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ । 

Advertisement

Advertisement