संघाई समूहले करोडौंको सेयर हडपेको र हिसाब माग्दा उल्टै धम्काएकोे अग्रवालको गुनासो

Advertisement

काठमाडौं । सिद्धार्थ ग्यास उद्योग प्रालिका शेयरधनी रमेश अग्रवालले बिहीबार पत्रकार सम्मेलन गरी सञ्चालक समितिका अध्यक्ष रामचन्द्र संघाईले हरहिसाब देखाउन माग गर्दा उल्टै आफूलाई धम्की दिएको गुनासो पोखेका छन् ।

बिहीबार पीडित अग्रवालले यस्तो गुनासो पोखेका हुन् । बिगत छ वर्षदेखि सञ्चालन गर्दै आएको उक्त उद्योगमा २५ प्रतिशत परिवारले शेयर खरिद गरेको उनले जनाए । आफ्नो परिवारले २५ प्रतिशत, ५० प्रतिशत रामचन्द्र संघाईले र बाँकी २५ प्रतिशत सुभाष खेतानको नाममा भएको उद्योग अहिले पनि नाफामा रहेको पीडित अग्रवालको दाबी छ ।

तर, २०६९ सालबाट संघाइ समूहले एकलौटी सञ्चालन गरेको र आफ्नो हिसाब माग्दा यत्तिकै हडप्न खोजी धम्काएको अग्रवालले आरोप लाएका छन् । उनले भने, ‘मैले मेरो भागमा भएको हिसाबकिताब चाहियो भनेर अनुनय–बिनय गर्दा उल्टै कम्पनीको नाममा थप शेयर खरिद गर्न लगाए । संघाईले म खान्छु, तलाई ठीक पार्छु भनेर मलाई धम्काइरहेको छ । मेरो करोडौ पैसा डुबेको छ । उल्टै मलाई धम्काएको छ । यही कारणले म शारिरीक अपाङग भएको छु ।’

अग्रवालले यसको निम्ति न्याय माग्न सम्बन्धित निकाय पुग्दा कतैबाट पनि न्याय नपाएको दुःखेसो समेत पोखे । उनले भने, ‘म आफ्नो शेयरको हिसाब किताब खोजाई पाउँ भनेर वाणिज्य तथा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्ट्रारको कार्यालय, एलपी ग्यास उद्योग एशोशिएसनलगायत अन्य निकायसमक्ष धाएँ । तर कतैबाट न्याय पाइन् ।’

सबै निकायलाई संघाई समूहले आफ्नो प्रभावमा पारेको बताउँदै अग्रवालले अन्तिम विकल्प मिडिया नै भएको बताए ।

Advertisement

Advertisement

Advertisement