ईपीजीका एक सदस्य भन्छन्– हामीले बनाएको प्रतिवेदन मोदीले नबुझ्नुपर्ने कारण देख्दिन

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने बताएका छन् ।

रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भइरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ । तर अहिले मिति तोक्दैनौं ।’

भट्टराईले ईपीजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे । उनले थपे, ‘ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल गर्यौं । र, हामी दुवै तर्फका बसेर एकल प्रतिवेदन बनायौं । यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं । पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं । ईपीजीको सुरु र अन्तिम बैठक नेपालमै बस्यो । यो संयोग नै हो । अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं । दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं । हामी अहिले पर्खिएर बसेका छौं । उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन् । मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ ।’

भट्टराईले ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे । उनले भने, ‘रिपोर्ट कसरी अघि बढाउने ? भन्नेबारे अहिले दुवै तर्फका संयोजकबीच कुराकानी तथा सम्वाद भैरहेको छ ।’

नेपालबाट अन्य द्धन्द्धग्रस्त देशहरुले पनि सकारात्मक कुरा सिक्न सक्नेछन भनेर कुटनीतिक नियोगका प्रमुखहरुले भन्न गरेको पनि भट्टराईले सुनाए । उनले भने, ‘एक किसिमले भन्ने हो भने यो हाम्रो राष्ट्रिय पुँजी हो । हाम्रो सफलताको सन्देशसहित उनीहरुसँग हाम्रो अनुभव आदान–प्रदान गर्नुपर्छ । अहिले पछिल्लो कालमा हाम्रो दुई वटा मुलुकबाट नेपालमा हाई–लेभल भिजिट भएको छ । अफगानिस्तान र म्यानमारबाट नेपालमा उच्चस्तरीय भ्रमण भएका छन् ।’

नेपालले आन्तरिक रुपमा प्राप्त गरेको यी उपलब्धिहरुलाई विदेश नीतिको एउटा एजेण्डा भएको भट्टराईको तर्क छ । उनले भने, ‘हामीले द्धिपक्षीय र बहु–आयामिक अन्तर्राष्ट्रिय सेमिनारहरुमा यी विषयहरुलाई पनि उठाउनुपर्छ । यो सरकारले त्यो काम गर्दै आएको छ ।’

त्यस्तै भट्टराईले नेपालले राजनीतिक स्थिरता प्राप्त गरेर अब आर्थिक विकासमा जान्छौं भनेकाले अब त्यसको लागि विकासको साझेदारी खोज्ने बताए । उनले भने, ‘विकासको साझेदारीका विभिन्न मोडेलहरु छन् । त्यसमध्ये एउटा सहायता लिने, अनुदान लिने नै हो । त्यसलाई उपयुक्त ढंगले परिचालन गरेर विकासलाई अघि बढाउने । दोस्रो, भनेको ऋण लिने हो ।’

भट्टराईले अन्तर्राष्ट्रिय संघ, संस्थाहरुबाट ऋण लिने र त्यसबाट पूर्वाधारका परियोजनाहरु अघि बढाउने सरकारको लक्ष्य रहेको सुनाए । उनले भने, ‘तेस्रो मोडालिटी भनेको उनीहरुको प्रत्यक्ष संलग्नतामा विकासका आयोजनाहरु अघि बढाउने हो । उनीहरुले सम्पन्न गरेर हस्तान्तरण गर्ने हो । त्यो ह्याण्डओभरको मोडेल दुईवटै हुन्छ । एउटा–उनीहरुले बनाउने र हामीलाई दिने पनि हुन्छ । अर्को चाही उनीहरुले बनाउने र केही समय चलाएर हामीलाई पछि दिने पनि हुन्छ ।’

ज्ञान र प्रविधि हस्तान्तरणको कुरा पनि महत्वपूर्ण रहेको सुनाउँदै भट्टराईले भने, ‘हामी विकसित प्रविधिहरु नेपाल लिएर आउन चाहन्छौं । यी सबै कुराहरुलाई लिएर वा मोडालिटीलाई लिएर सरकारले नयाँ कानुनहरु बनाउन लागेको छ । हामी छिट्टै नयाँ कानुनहरु ल्याउँछौं । हामीले हाम्रो विदेशमा रहेका मिशनहरुलाई पनि त्यहीअनुसार निर्देशन दिने र परिचालित गराउँछौं ।’

सरकारले युरोप, अमेरिका, नर्थ अमेरिका र एशियन मुलुकसँगपनि उतिकै राम्रो सम्बन्ध बनाउने र प्राथमिकतामा राख्ने भट्टराईले विश्वास दिलाए । उनले भने, ‘अहिले दुई वटा छिमेकी भए पुग्छ भन्ने खालको अभिव्यक्ति कता–कता आइरहेको छ । त्यस्तो होईन, हामीले सबैसँग मित्रवत सम्बन्ध राख्नुपर्छ । दुई वटा छिमेकीले मात्र पुग्दैन् । आफ्नो देशको हितमा फाईदा लिनेगरि नीतिहरु बनेका छन् । अब तीनलाई प्रभावकारी रुपमा लागु गर्छौं ।’

प्रधानमन्त्री केपी ओली आगामी सन् २०१९ को जनवरी फेब्रुअरीतिर महत्वपूर्ण भ्रमणमा जाने आफूले सूचना पाएको पनि भट्टराईले जानकारी दिए । उनले भने, ‘उहाँ महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन विदेश भ्रमणमा जानुहुन्छ । त्यस्तै द्धिपक्षीय भ्रमणमा पनि जाने सूचना छ ।’

फरक प्रसँगमा भट्टराईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको सुनाए । भट्टराईले भने, ‘हाम्रो तर्फबाट (प्रधानमन्त्री र राष्ट्रपति) दुवैको तर्फबाट चिनीयाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गैसकेको छ । उहाँहरु आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

Advertisement

Advertisement

Advertisement