राधा ज्ञवाली भन्छिन्– जग हामीले बनायौं, जनार्दन र कुलमानले ‘गोयबल्स’ शैलीमा आफ्नो प्रचार गरे

Advertisement

विद्युत उत्पादन र आयातमा वृद्धि भएसँगै काठमाडौंलगायतका स्थानहरु लोडसेडिङको समस्या कम हुँदै गएको छ । कतिपय विद्युत आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेकाले लोडसेडिङको समस्या मुलुकभर नै हटने देख्निछ । माओवादीको १० बर्षे द्धन्द्ध, राजनीति र प्रशासनिक क्षेत्रबाट हुने गरेका अवरोध एवं झन्झटबाट जुज्रिंदै आएको नेपालको विद्युत क्षेत्र पछिल्लो समयमा निजी लगानीलाई प्रोत्साहित हुने नीति अंगिकार गरिएका कारण केही आशालाग्दो बनेको हो । काठमाडौं उपत्यकामा लोडसेडिङ हुन नदिएसँगै यस क्षेत्रका जनताले राहत महशुस गरेका छन् । यद्यपि यस कुरालाई अहिलेका उर्जामन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक आफ्नो कारणले भएको भनी प्रचारमा व्यस्त देखिन्छन पहिलेका उर्जामन्त्री र कार्यकारी निर्देशकहरु आफूहरुले बनाएको जगमा अहिलेकाले जस लिएको तर्क गर्छन । यही जस लिने नदिने होड चलिरहेको सन्दर्भमा पूर्वउर्जामन्त्री राधा ज्ञवालीले कर्पोरेट नेपाल डटकमको साप्ताहिक टेलिभिजन बहस कार्यक्रम ‘कर्पोरेट नेपाल’मा दिएको अन्तरवार्ताको सार यस्तो छः 

  • राजधानी काठमाडौंको लोडसेडिङ हटेको छ । पोखरालाई पनि लोडसेडिङमुक्त घोषणा गरिएको छ । यो कुराहरु कसरी संभव भयो ? 

Advertisement

कसरी भयो भने अहिले विद्युत उत्पादन बढेको छ । दोस्रो कुरा आयात पनि थप गर्यौं हामीले । भारतबाट ल्याएका छौं । पछिसम्म बर्षा भइरह्यो । अहिले नेपाल सरकारले सौर्य उर्जामा केही सहुलियत पनि दिने र दुई प्रतिशत ब्याजदरमा पाँच बर्षसम्म सहुलियत ऋण प्रभाव पनि गरेको अवस्था हो । इन्भर्टरहरुबाट जुन मेकानिकल लस हुने गरेको थियो, अहिले ती कुराहरु प्रयोग नभएको कारणले त्यो लस पनि भएको छैन । यी कारणले अहिले काठमाडौंको लोडसेडिङ अन्त्य भएको देखिएको छ । देखिएको मात्रै छ । किन भने पूरै अन्त्य त भइसकै छैन । 

सुशील कोइराला नेतृत्वको सरकारमा म मन्त्री हुँदा हामीले के प्रस्ताव गरेका थियौं भने तीन बर्षमा देशलाई लोडसेडिङमुक्त गर्ने । प्रतिवद्धता थियो । पछिल्लो पटक म सरकारमा थिएँ, त्यो बेलामा पनि घरायसी प्रयोजनको जुन लोडसेडिङ छ, त्यो सबै अन्त्य हुन्छ भनेर भनेकै थियौं । सुशील कोइरालाको सरकारपछि केपी शर्मा ओलीको जुन सरकार बन्यो, उहाँले पनि एक बर्षमा लोडसेडिङ अन्त्य हुन्छ भनेर घोषणा गरेको अवस्था हो । तर २०७१ सालको साउनतिर जुरेको पहिलो गयो । जुरेको पहिरोले गर्दा एकातिर प्रसारणलाइनका टावरहरु भत्किए । भोटेकोशीको टावर भत्कियो । ४५ मेगावाटको विद्युत आपूर्तिमा असर गर्यो । सानिमाको दुई मेगावाट, सुनकोशीको १० मेगावाटलाई असर गर्यो । त्यसले हाम्रो उत्पादन घट्यो । त्यसपछि हामीले भारतसँग विद्युत ल्याउने सम्झौता पनि गरेका थियौं । 

म मन्त्री हुनुभन्दा पहिला पनि यस क्षेत्रमा धेरै काम भएका हुन । त्यो तयारी भएको बेलामा म मन्त्री भएँ । तर विगतकाले गर्दै गर्नुभएन भनेर म भन्दिन । धेरै राम्रा कामहरु भएका थिए । त्यही जगमा मैले पनि अधिकतम प्रयन्त गरें । साउनमा जुरेको पहिलो गए पछि बैशाखमा भूकम्प गयो । भूकम्पले हुनसक्ने कामहरु हुन सकेन । अपर मस्र्याङदी ए उहाँहरुले २०१५ मा सम्पन्न गर्छु भन्नुभएको थियो । म यसको निरीक्षणमा पनि गएँ । भुलभुलेमा जुन ५० मेगावाटको आयोजना उहाँहरुले बनाइराख्नुभएको थियो, नाकाबन्दी र भूकम्पको कारणले एक बर्ष ढिलो भयो । एक बर्षपछि कात्तिकमा उहाँहरुले २५ मेगावाटको उत्पादन परीक्षण सुरु गर्नुभयो । कात्तिकको १०–११ गतेतिर विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक (मुकेश काफ्ले)को अवधि सकिँदै थियो । असोजमा नयाँ कार्यकारी (कुलमान घिसिङ) आउनुभयो । साउनमा नयाँ मन्त्री (जनार्दन शर्मा) आउनुभयो । यो संयोग मात्रै हो कि उहाँहरु आएको बेलामा....। कात्तिक महिनामा मैले सबै गरें, सबै ठिक्क पारे भन्नु सही कुरा होइन । उहाँहरुले जस लिने मौका पाउनुभयो । एक महिनाको कुरा गर्दा भूकम्प गएको बेला हामीलाई विभिन्न देशले सहयोग गरेको थियो । सुनौलीबाट सामान ल्याएर जडान गर्दा पनि एक महिना लागेको थियो । लोडसेडिङ अन्त्य गर्ने कुरा एउटा व्यक्तिले जादु गरेर गर्नसक्ने कुरा होइन । यो लामो समयदेखि काम भएको र परिस्थित पनि अनुकुल भएको हो । मुल कुरा त उत्पादनमा वृद्धि भएर र आयात वृद्धि भएर हो । 

  • तपाईंले भनेजस्तो विद्युत प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक र उर्जामन्त्रीले हाम्रो व्यवस्थापन कलाले यो संभव भएको भनिरहेका छन् । सँगसँगै विगतका कार्यकारी निर्देशक र उर्जामन्त्रीहरुको कमजोरी र बदमासीले गर्दा लोडसेडिङ अन्त्य हुन नसकेको भनेर आरोप लगाइरहेका छन् । यो कुरा सत्य हो ? 

म यो कुरालाई मान्न तयार नै छैन । दुई चार प्रतिशत कतै सत्य हुनसक्ला । आई एम नट स्योर । तर म यो कुरा मान्न तयारै छैन । किन भने हिजोको विद्युत प्राधिकरणको जुन व्यवस्थापन थियो, केही अर्कमन्यता थियो । प्राधिकरणको बोर्डले जुन कुराहरु हामी पास गर्थ्यौं, त्यसलाई छिटो छिटो कार्यान्वयनमा लैजाने कुरा हुदैन्थ्यो । म हुँदा थुप्रै निर्णय गरेको छु बोर्डमा । त्यसलाई कार्यान्वयनमा लैजान ढिलो भएको हो । त्यसको अर्थ यो होइन कि प्राधिकरणको एकदमै ‘एक्सपर्ट टिम’ त्यहाँ थियो । 

  • भनेपछि कार्यान्वयनमा समस्या हो ? त्यहाँका कर्मचारीहरुमा समस्या हो ?

कर्मचारीमा त्यस्तो समस्याभन्दा पनि कार्यकारी निर्देशक ल्याउने कुरामा मैले अदालतको फैसलालाई सम्मान गरेर ल्याएको हो त्यो बेलामा । म चाहान्थें एकदम छिटो काम गर्न । किनभने देश अन्धकारमा थियो । मैले चाहेअनुसार काम भएन भन्ने लागिरहेको थियो । मेरो गुनासो उहाँहरुसँग थियो । यसको अर्थ उहाँ (मुकेश काफ्ले)लाई दोष दिन चाहान्न । प्राधिकरणभित्र एकदमै विज्ञहरुको समूह थियो । उहाँहरुमध्ये कतिपयले अहिले राजीनामा दिनुभयो । उहाँहरुभन्दा धेरै तलबाट सिस्टमलाई भत्काउने काम गरेर अहिले कार्यकारी निर्देशक (कुलमान घिसिङ) नियुक्त गरियो । व्यक्तिलाई हावी गराउने काम भयो सिस्टमलाई राम्रोसँग लानेभन्दा पनि । म व्यक्तिले गरेको हो भनेर व्यक्ति हावी हुने काम भइरहेको छ । 

  • जनताले रिजल्ट खोज्छन । नेतृत्व एउटा व्यक्तिले गर्छ जसले असंभव कुरालाई संभव गराउँछ । जुन यतिबेला संभव भएको छ । तपाईंले भनेजस्तो विभिन्न कारण छन् । सबै कुरा मिल्दै आएर उहाँको पोल्टामा नजिता गयो भन्ने कुरा अर्को कुरा हो । उहाँले संभव बनाइदिनुभयो नि ? त्यो अवसर तपाईंलाई पनि थियो ? 

मैले पहिलो पनि भने त्यो अवसर मलाई पनि थियो । जुरेको पहिरो, भूकम्प, नाकाबन्दी भएर जब अपर मस्र्याङ्दीले विद्युत उत्पादन सुरु गर्यो, सुरुमा मैले २५ मेगावाटबाट सुरु गरें । बढि भइसकेपछि अपर मस्र्याङको दुईवटा छन् । ७० मेगावाट त्यहाँ उत्पादन हुन्छ । ३५ लाख रोक्ने काम भयो । किनभने त्यो बेलामा भारतबाट ल्याउने कुरामा पनि प्रसारणलाइनको समस्या थियो । हामीले २२० बाट ल्यानुपर्ने सवस्टेशन नबनाइदिएका कारण १३२ बाट ल्याउने गर्यौं थप ट्रान्सफर्मर राखेर । हाम्रो समयमा अधिकतम् काम भइसक्याथ्यो । त्यसपछि टोपबहादुर रायमाझी आउनुभयो । उहाँले धेरै मेहनतसाथ काम गर्नुभयो । हाम्रो पूर्वप्रधानमन्त्री (केपी ओली)ले भन्दैहुनुहुन्थ्यो एक बर्षमा हामी लोडसेडिङ अन्त्य गर्छौं । जुन प्रतिवद्धताका साथ मैले काम गरें । टोपबहादुरजीले गर्नुभयो । सबै आउँदा हामीले कामलाई अघि बढाइरहेका छौं । त्यसपछि अहिलेको मन्त्री आउनुभयो । अहिलेको कार्यकारी निर्देशक असोज महिनामा आएर कात्तिकमा एक महिनापछि मैले म्यानेजमेन्टमा राम्रो गरेको भनेर जुन भनिरहनुभएको छ, त्यसमा म विश्वास गर्दिन । किन गर्दिन भने मैले अघि नै भनिसकेको छु । आउने बाटाहरु कहाँ कहाँ उत्पादनहरु बढी भए त ? जुन २०१५ मै आउनुपथ्र्यो । नाकाबन्दी भयो, भूकम्प गयो । आउन सकेन । 

चिनियाँहरुले मलाई भन्नुभएको थियो ३० महिनामा हामी बनाउँदैछौं यो आयोजना भनेर । रातदिन गरेर काम गर्नुभएको थियो । एक बर्ष उहाँहरुको पनि ढिलो भयो । कागताली पर्यो कि अहिलेका मन्त्री र कार्यकारी निर्देशक आउने बेलामा उत्पादन सुरु भयो । कात्तिक महिनामा कुलमानजी, जो ११औं तहको जुनियर, जसलाई १० बाट ११ मा लैजाँदा मेरो बोर्डमा आएको थियो । जो जो कर्मचारी हुनुहुन्छ, उहाँहरुको बढुवालाई हामीले पास गरेका थियौं । त्यहाँ ११औं तहका धेरै कर्मचारी छन् । १२औं तहका पनि छन् । उहाँहरु धेरै विज्ञ पनि हुनुहुन्छ । आफूभन्दा जुनियरलाई कार्यकारी निर्देशक बनाउँदा ह्युमिलेशन हुनु स्वाभाविक हो । मसँग पछि भेट्दा उहाँहरुले भन्नुभएको थियो – यस्तो स्थिति सिर्जना भयो । हामी बस्न सकेनौं । राजीनामा गर्यौं । 

यसमा अर्को कुरा के छ भने यहाँ मैले गरेको भनेर मात्रै भनिएको छैन । यस्तो गरेर प्रचार गरियो कि......। काठमाडौंमा लोडसेडिङ अन्त्य हुनु राम्रो कुरा हो । स्वागतयोग्य कुरा हो । जसको बेलामा भए पनि यसलाई स्वागत गर्नैपर्छ र गछौं । तर मैले के देखिरहेको छु भने हिटलरको बेलामा उसको एउटा प्रचार मन्त्री थियो । त्यो प्रसारमन्त्रीले यस्तो गरेर प्रचार गथ्र्यो कि हिटलरका कुराहरु....। गोयबल्स हो उसको नाममा । अहिले पनि गोयबल्स शैली भनेर भनिन्छ । यही शैलीमा अहिले जुन तरिकाले आजको भोलि आएर सर्लक्क मैले स्वीच अन गरेर झलमल्ल पारें भनेर प्रचार गर्ने काम गरिएको छ । जादुको शैलीमा जुन हामीले स्कुलमा पढ्थ्यौं नि । त्यस्तो होइन यो । तथ्याङक हेर्नुस । असोजमा आएर कात्तिकमा झलझल्ल पार्ने कुरा होइन । कात्तिकमा नै २५ मेगावाट विद्युत थप भएको छ । त्यही महिनामा उपत्यका बाहिरको विजुली कटाएर उपत्यकामा दिनुभएको छ । पहिलाको एमडीलाई पनि असोजमा हटाउनुभयो । जबकी उहाँको एक महिना मात्रै समय बाँकी थियो । उहाँलाई हटाइसकेपछि एक महिनामा यो सबै मैले गरें भनेर......। 

  • भनेपछि यो सबै कागताली हो ? 

कागताली । नितान्त कागताली । 

  • काठमाडौं उपत्यकालाई मात्रै लोडसेडिङमुक्त गर्दा यति धेरै प्रसंशा पाइने रहेछ । अझै ४० प्रतिशत जनता टुकी बालेर काठमाडौं बाहिर बस्छन् । उनीहरुको लागि त उज्यालो दिन खासै काम भएको छैन । 

त्यसो भन्दा पनि अहिले विद्युत उत्पादन बढिरहेको छ नि । विभिन्न ठाउँको आयोजनाहरु सम्पन्न भएको छ नि । कतिपय आयोजनाहरु जुरेको पहिरोले रोकेको थियो । अपर चाकु २२ मेगावाट रोकिएको थियो । पूर्वमा पनि सानिमा माईले बनाएको रोकिएको थियो । यस्ता धेरै आयोजनाहरु सम्पन्न भइरहेको बेलामा पहिला टुकी बाल्नेलाई भन्दा पनि लाइन जोडेर बत्ति बाल्न नपाएकाहरुलाई दिनुपर्यो नि त । पोखरालगायतका ठाउँ लोडसेडिङमुक्त हुँदैछ । जुन मैले एक बर्ष गछौं भनेर पटक पटक बोलेको थिएँ ।

थप रोचक कुराकानी भिडियोमा हेर्नुहोस् 

Advertisement

Advertisement