नागरिक उड्डउन प्राधिकरणको महानिर्देशकमा पोखरेल नियुक्त

Advertisement

काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार भएको बैठकले पोखरेललाई प्राधिकरणको महानिर्देशक नियुक्त गरेको हो ।

मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका पोखरेल महानिर्देशक पदमा पुग्न सफल भएका हुन् । मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको पत्र शुक्रबार प्राप्त भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

उनले हवाई सुरक्षा र पूर्वाधार निर्माणका साथै समग्र उड्डयन उन्नयममा लाग्ने बताउँदै वायुसेवा प्रदायक कम्पनीसँग सहकार्य गर्दै नेपालको उडड्यन सुरक्षालाई निरन्तर सुधारका साथै निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा आन्तरिक विमानस्थलको सुदृढिकरण आफ्नो प्राथमिकतामा रहेको बताए ।

महानिर्देशक पोखरेलले युरेपी सङ्घ (इयू)को उडान सुरक्षा सुची हटाउन, नेपालको उड्डयन सुरक्षामा उपलब्ध परिणामलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउन, नागरिक उड्डयनको संस्थागत सुधार प्रमुख चुनौती भएको बताए । यसअघि पोखरेल नागरिक उड्डयन सुरक्षा नियमन निर्देशनालयको उपमहानिर्देश थिए । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को उडान सुरक्षा अडिट कार्यक्रमको नेपालको राष्ट्रिय संयोजकका रुपमा काम गरेका थिए ।

पोखरेलले आइकाओले नेपाललाई राखेको गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटाउन र नेपालको उडान सुरक्षामापदण्ड सिफारिस तथा मार्गदर्शन परिपालनको अवस्थालाई आइकाओबाट निर्धारित ६० प्रतिशतको दर भन्दामाथि राखी ६७ प्रतिशत पुर्याउन योगदान गरेका थिए । सोही आधारमा नेपालले आइकाओ काउन्सिल प्रसिडेन्सियल सर्टिफिकेट समेत प्राप्त गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement