पर्यटन बोर्डको सीईओ नियुक्तिमा राजनीतिक चलखेल, अन्तिम समयमा बैठक स्थगित गरियो

Advertisement

काठमाडौं । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण बर्षको रुपमा बनाइरहेको बेला पर्यटन प्रवद्र्धन गर्ने निकायको कार्यकारी प्रमुख नियुक्तिमा राजनीतिक चेलखेल सुरु भएको छ । सोमबार बोर्डको सीईओ नियुक्ति गर्ने तयारी भइरहेको बेला प्रधानमन्त्रीको ठाडो निर्देशनमा पर्यटक बोर्डको सञ्चालक समिति बैठक बस्न सकेन ।

अन्तिम समयमा बोर्डका अध्यक्षमेत रहेका पर्यटन सचिव केदार अधिकारीले आफू बैठकमा आफू विशेष कारणले उपस्थित हुन नसक्ने भन्दै स्थगित गर्न निर्देशन दिएका थिए । पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको संस्था हो ।

बोर्डको सीईओ छनौटको प्रक्रिया चार महिना बितिसकेको छ । नयाँ सीईयो छनौटका लागि १५ दिनअघि बोर्डका सञ्चालक समिति सदस्य बिप्लप पौडेलको संयोजकत्वमा बोर्डका सहसचिव घनश्याम उपाध्याय र सञ्चालक समिति सदस्य कृष्णबहादुर महरा सदस्य रहेको तीन सदस्यीय सीईओ छनौट समिति बनाईएको थियो । समितिले आजै सीईओ नियुक्तिको तयारी गरिरहेको बेला प्रधानमन्त्रीको ठाडो निर्देशनमा बैठक स्थगित गरिएको स्रोतको भनाई छ ।

सीईओ नियुक्ति प्रक्रिया रोकेर निवर्तमान सीईओ दीपकराज जोशीलाई निरन्तरता दिने प्रयास गरिएको छ । जोशी सीईओको दौडबाट बाहिरिसकेका छन् । उनको नाम सिफारिस भएको छैन् । सीईओ नियुक्तिका लागि सिफारिसमा पर्नेहरुमा डा. धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत सिंह ऐर छन् । पर्यटन व्यवसायीहरु भने पर्यटन बोर्ड निजी क्षेत्रको समेत संस्था भएकाले राजनीतिक हस्तक्षेप गलत भएको बताउँछन् ।

सञ्चालक समितिमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक सञ्चालकले स्वतन्त्ररुपमा काम गर्नुपर्ने संस्थामा राजनीतिक हस्तक्षेप गरेर भ्रमण बर्षमा बोर्डलाई अपाङ्ग बनाउने प्रयास भइरहेको बताउँदै यस्तो कुरामा सचिव अधिकारीले अडान लिएर निर्णय गर्न नसक्नु उनको पनि कमजोरी भएको बताउँछन् ।

Advertisement

Advertisement

Advertisement