सिआस्वा शुल्कका नाममा मनलाग्दी पैसा काट्छन् बैंकहरू, राष्ट्र बैंक भन्छ- यसरी काट्न मिल्दैन

Advertisement

काठमाडौं । अहिले साधारण सेयर निष्काशन (आईपीओ)मा नयाँ लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको छ । आईपीओमा आवेदन दिने नयाँ लगानी बढेसँगै बैंकहरुले लिने सि–आस्वा सेवा (सदस्यता सेवा)को कमिसन पनि बढाउन थालिएको को छ । अहिले कुनै आईपीओ निष्काशन हुँदा आवेदन दिनेको  संख्या १८ लाखको हाराहारीमा हुने गरेको छ । 

हालको तथ्यांकलाई हेर्ने हो भने डिम्याट प्रयोगकर्ताको संख्या ३६ लाखभन्दा धेरै छ । जसमध्ये ५० प्रतिशतभन्दा धेरैले आईपीओ भर्छन् । यता नयाँ डिम्याट खाता खोल्नेको संख्या पनि दैनिकजसो बढिरहेको छ भने आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या पनि बढिरहकै छ । आईपीओ पर्न भाग्यमा भरोसा गर्नुपर्ने अवस्था छ । आवेदन दिएकामध्ये थोरैले मात्रै १० कित्ता सेयर हाल पार्छन् । तर, आईपीओ परे पनि नपरे पनि आवेदकहरूले अनिवार्यरुपमा सिआस्वा सेवा शुल्क भने बुझाउनुपर्ने बाध्यता छ । 

Advertisement

धेरै बैंकहरूले यसरी पटकै पिच्छे खाताबाट मनलाग्दी पैसा काट्न थालेपछि लगानीकर्तामा आक्रोस बढ्दै गएको छ । यदि कुनै आईपीओ गर्दा सेयर पर्यो भने त्यस्ता लगानीकर्ताको खाताबाट तोकिएको रकम काट्नुसम्मलाई जायज मान्न सकिए पनि आवेदन दिएकै भरमा निक्षेपकर्ताको खाताको पैसा बिना अनुमति काट्नु गलत भएको लगानीकर्ताको भनाई रहँदै आएको छ । यस्तो शुल्क लिने कुरामा पनि बैंकहरूबीच एकरुपमा देखिन्न । 

बैंकहरुले यस्तो शुल्कबाट हाल लाखौं रुपियाँ आम्दानी गरिरहेका छन् । सिआस्वा शुल्क कुन बैंकले कति लिने भन्ने निर्धारित नहुँदा विभेद खेप्नुपरेको छ । एक लगानीकर्ता भन्छन्, ‘अहिले विभिन्न बैंकले सिआस्वा सेवा भनेर शुल्क कटाउने गर्छन । तर, कुन बैंकले कति कटाउन पाउछ ? भन्ने निर्धारित व्यवस्था छैन् ।  कुनै बैंकले यस्तो शुल्क नलिने पनि भनेको हुन्छ । तर, पछि काटिरहेको हुन्छ ।’ 

यस्तो बेथितिमा नियमक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डको अहिलेस्म्म ध्यान गएको छैन् । सिआस्वा शुल्क बैंकहरूले लिन पाउने हो कि होइन ? पाउने भए कतिसम्म पाउने हो ? त्यो कुरा स्पष्ट नहुँदा सर्वसाधारण लगानीकर्ता ठगिने अवस्था सिर्जना भएको छ । 

शुल्क कति लाग्छ ?
सिआस्वाको सेवा शुल्क बैंकअनुसार फरक छ । यस्तो शुल्क दश रुपियाँदेखि सय रुपियाँसम्म अशुल्ने गरेको देखिन्छ । केही बैंकले आईपीओ भनेवापत यस्तो शुल्क कटौती गर्दैनन् । यस्तो शुल्क सबैभन्दा धेरै लिनेमा स्टाण्डर्ड चार्टर्ड बैंक छ । उसले सय रुपियाँ अशुल्ने गरेको छ । 

यता, राष्ट्र बैंकले २०७६ मा प्रकाशित गरेको वित्तीय सारक्षरता सन्दर्भ पुस्तकमा आस्वा शुल्कको बारेमा भनिएको छ, ‘आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यबाट वार्षिक शुल्क ५० रुपियाँ तिरेर यो सेवा लिन सकिन्छ । यो शुल्क प्राथमिक निष्काशनका लागि मात्र नभई आफ्नो सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, शेयर धितो बन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्यो कि परेन ? हेर्न मिल्ने सेवाका लागि लिइन्छ । अहिले निःशुल्क आस्वा सेवा लिइरहेका लगानीकर्ताले भने आफ्नो खाता रहेको बैंकमार्फत् सिआरएन नम्बर लिनका लागि कुनै शुल्क तिर्नु पर्दैन ।’ 

तर, सिआस्वा सेवा बैंकले यतिदेखि यतिसम्म लिन पाउने भनेर कुनै व्यवस्था नभएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । उनले यस कुरामा बैंकहरूको मनपरी रहेको भन्दै यसलाई नियमन गर्न आफूहरू रहेको रहेको बताए । नेपाल बैंकर्स एशोसियशनका अध्यक्ष भुवन दाहालले यसअघि यस्तो शुल्क लिन मिल्ने व्यवस्था भए पनि अहिले के छ ? आफूलाई जानकारी नभएको बताए । यता सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा पनि बैंकहरूले मनपरी सेवा शुल्क लिएको धेरै गुनासो आउने गरेको पाइएको छ । 

कसरी लिने सिआस्वा सेवा ?
सेयर आवेदन दिन लगानीकर्ताले आफ्नो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सिआस्वा प्रणाली सुविधा लिन आवेदन दिनुपर्छ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेयरमा भेरिफिकेशन गरी लगानीकर्तालाई एउटा भेरिफिकेशन कोडको रूपमा सिआरएन अर्थात सि–आस्वा रजिष्ट्रेसन नम्बर दिन्छ । त्यसपछि आफ्नो डिम्याट खाता पनि रुजु गराउनुपर्ने हुन्छ ।  एक पटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेबसाइटमा गएर आवेदन गर्न सक्छन् । अथवा, सि–आस्वा सेवा उपलब्ध भएका बैंक तथा वित्तीय संस्थाको वेभसाइटमार्फत् पनि सेयर आवेदन दिन सकिन्छ । आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौज्दात रकम समेत बैंकमा हुनु आवश्यक पर्दछ । 

यस्तो सेवा लिन बैंकको वेभसाइटमा गएर आस्वा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरेपछि मात्र आस्वा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नुपर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लगइन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पूरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरी अनलाइन बैंकिङको सेवा माग गर्न सक्दछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिङ सुविधा लिएर यो प्रणालीबाट घरमा बसेर सेयर आवेदन गर्न सक्दछन् । आस्वामा अनलाइनबाट सेयर आवेदन गरेपछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारीसहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।

सि–आस्वाले दिएका सुविधाहरू
यसको प्रयोगले लगानीकर्ताले आफू जुन ठाउँमा छन्, त्यही ठाउँबाट आईपीओमा आवेदन दिन पाउँछन् । सिआस्वा प्रणालीका कारण सेयर लगानीकर्ताको समय बचत भएको छ । पहिले सेयर बिक्री प्रबन्धक वा तोकिएका बैंकहरुमा गएर लाइन बसेर आवेदन दिने व्यवस्था थियो अहिले त्यसको अन्त्य भएको छ । 

कागजात हराउला, च्यात्तिएला भन्ने जोखिम अहिले छैन् । डिम्याट खातामार्फत कारोबार हुने हुँदा सेयर आफैँ खातामा आएर बस्ने सुविधा यो प्रणालीमा हुन्छ । त्यस्तै, सेयरमा नपरेको रकम आफ्नै बैंक खाता फिर्ता आउने सुविधा छ ।

हातमा पैसा बोकेर सेयर किन्न जानुपर्ने व्यवस्थाको अन्य भएको छ ।  बैंक खाता भएको पैसा सिधै सेयरमा लगानी गर्न सक्ने सुविधा सिआस्वा प्रणालीमा रहेको छ । सेयरमा लगानी गर्ने मात्रै नभएर सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, सेयर धितोबन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्यो कि परेन ? हेर्न मिल्ने सुविधा सिआस्वा प्रणालीमा रहेको छ ।  

Advertisement

Advertisement