एफवान सफ्टमा विवादपछि बोर्डबाट हटाइएका अस्गरलाई कम्पनीबाटै हटाउने तयारी

Advertisement

काठमाडौं। आम्दानीमा रफ्तार बढेसँगै एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.का सञ्चालकहरुबीच विवाद चुलिएको छ । एफवान सफ्ट समूहमा सुरुदेखि रहेका अलीलाई हटाउने तयारी गरिएको हो ।

विवाद बढेपछि सञ्चालकबाट राजीनामा दिन बाध्य भएका अलीलाई अहिले कम्पनीको कुनै पनि जिम्मेवारी दिइएको छैन् । उनलाई बोर्डबाट मात्रै नभई कम्पनीबाटै हटाउने तयारी थालिएको छ । कम्पनीनिकट स्रोतले कर्पोरेट नेपालसँग भन्यो ‘कम्पनीमा सुरुवातका दिनदेखि नै रहेका अली आन्तरिक विवादका कारण छोड्न लागेका हुन् । उनको शेयरको भ्यालुयशन भए पनि शेयर किन्ने लगानीकर्ता नभेटिएकाले छुट्टिन ढिलाई भएको हो ।’ 

Advertisement

ई–सेवाको परिकल्पनाकार र डिजाइनरको रुपमा चिनिएका एफवान सफ्टअन्तर्गतको ठूलो कम्पनी ई–सेवामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहँदै आएका थिए । उनले अघिल्लो बर्ष वैशाख १२ गते राजीनामा दिएपछि विश्वास ढकालले पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीलाई भित्राएर अध्यक्ष बनाएका छन् । 

कम्पनीमा २५ करोड रुपियाँ लगानी गरेका अलीको शेयरको मूल्यांकन २५० करोड रुपियाँ गरिएको स्रोतको भनाई छ । मूल्यांकन भएको शेयर ग्रुपका संस्थापक विश्वास ढकाल आफै किन्न सक्षम भए पनि उनले नकिन्दिँदा अली एफवान सफ्टबाट अगल हुन पाएका छैनन् । तर ढकाल पुनः अलीसँग सहकार्य गर्ने मनस्थितिमा छैनन् । अहिले अलीको शेयर कस्ले ग्रहण गर्ने ? कस्लाई बिक्री गर्ने ? भन्ने कुरा पेचिलो बनेको छ । 

एफवान सफ्ट ग्रुपमा कान्तिपुर मिडिया ग्रुप प्रवेश गरेदेखि नै विवाद बढ्दै गएको हो । कान्तिपुर ग्रुप यो समूहमा प्रवेश गर्ने प्रक्रिया सात–आठ बर्षअघि नै प्रवेश गरे उक्त समूह एफवान सफ्टमा हावी हुन खोजेसँगै विवाद बढेर गएको हो । निकै संभावना भएको र आकर्षक लाभ लिन सकिने देखेपछि एफवान सफ्टमा कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिरोहियाले ‘फोर्सफुल’ प्रवेश गरेका थिए । सिरोहियाले एफवान सफ्टको शेयर प्रिमियम मूल्यमा नभई प्राथमिक मूल्यमा लिएको अनुमान गरिएको छ । 

एफवान सफ्टमा २० प्रतिशत शेयर हात पार्न सफल कैलाशले आफ्ना छोरा सम्भव सिरोहियालाई लगेर सञ्चालक बनाएका छन् । उनी आएसँगै कम्पनीमा विवाद झन बढ्दै गएर उग्र रुप लिएको छ । विवाद बढेपछि कम्पनीबाट पूर्णरुपमा अलीलाई अलग गर्ने प्रयास गरिए पनि सफल हुन सकेको छैन् । 

ढकाल र सिरोहियाले कम्पनीबाट अलग गर्न लागे पनि अलीले प्रविधिका क्षेत्रमा लगभग आफ्नो छुट्टै साम्राज्य खडा गरिसकेका छन् । उनले श्रीमतीको नाममा म्याक्स इन्टरनेश्नल कम्पनी खडा गरी काम गर्न थालेको एफवान सफ्टमा हुँदादेखि नै हो । म्याक्स इन्टरनेशनल खडा भएको थाहा पाएपछि ढकाल झस्किएका थिए । 

म्याक्स यस्तो कम्पनी हो जसले केपी ओली प्रधानमन्त्री रहेको बेला सबै सरकारी वेभसाइट विकास र सञ्चालनको ठेक्का पाएको थियो । सोही आधारमा उसले वार्षिक अर्बौं रुपियाँको कारोबार गर्न सुरु गरिसकेको छ। तत्कालिन समयमा अली प्रधानमन्त्री ओलीका आईटी (सुचना प्रविधि) सल्लाहकार पनि थिए । 

अलीको कम्पनीले सरकारी सर्भरहरुमा करिव एकाधिकार कायम राख्दै आएको छ । सरकारी निकायहरु आन्तरिक राजस्व विभाग सीडीएस एण्ड क्लियरिङ लिमिटेड, कर्मचारी सञ्चय कोष, शिक्षा मन्त्रालय, चलचित्र विकास बोर्ड, नेपाल वायुसेवा निगम, सूचना विभाग, अर्थ मन्त्रालय लगायतसँग कम्पनीले काम अघि बढाइरहेको छ । म्याक्सले कमलादीमा आफ्नै ठूलो भवन (आईटी प्लाजा) निर्माण गरिसकेको छ । 

बहुर्राष्ट्रिय ब्राण्ड डेलको आधिकारिक प्रतिनिधिको रुपमा समेत रहेको म्याक्सले डेलको सर्भर नेपालमा बिक्री गर्दै आएको छ । एफवान सफ्टमा रहेकै बेला श्रीमतीको नाममा कम्पनी खडा गरी आफ्नो छुट्टै साम्राज्य खडा गरेपछि ढकाल अलीलाई काउन्टर गर्न मिडिया टाइकुन सिरोहियालाई सस्तैमा आफ्नो समूहमा भित्राएका थिए । 
 
विश्वास ढकाल पछिल्लो समय सिंगापुर बस्दै उहींबाट नेपालको विजनेश हेर्दै आएका छन् । धेरै समय बिदेशमा रहनुको कारण व्यवसायिक समूहभित्रको विवाद मात्रै नभएर आम्दानीको सुरक्षाको खोजी पनि हुनसक्ने अडकल गरिने गरेको छ । ढकालको एफवान सफ्टअन्तर्गतको ई–सेवाको राम्रो व्यापार गर्दागर्दै पनि उनले ई–सेवा रेमिटान्स खडा गर्नुका साथै ई–सेवा वालेटमार्फत वान एक्स बेटसँग अघोषित साझेदारी गरी नेपालको अनलाइन बेटिङ (जुवा) खेलाउन सहयोग गर्दै आएका छन्, जुन नेपालको कानुनअनुसार अवैध हो ।  

यता एफवान सफ्ट छोड्न लागेका अलीले आफू राजनीतिमा पनि सक्रियरुपमा लागेकाले एफवान सफ्टको कुनै पनि जिम्मेवारीमा नरहेको बताउने गरेका छन् । उनी नेकपा एमालेसँग निकट रहेर काम गर्दै आएका छन् । 

पछिल्लो समय ढकाल र अली दुवै गुगलको नेपालको एजेन्सी लिन दौडधुपमा लागेको स्रोतको दावी छ । 

यो पनि पढ्नुहोस्:

एफवान सफ्टको चार आवको कर परीक्षण हुँदै, ‘कैफियत भेटिए पूराना फाइलहरु पनि तान्छौं’

छ महिनामै सात अर्बको व्यापार गर्दै ‘टप टेन’मा पर्न एफवान सफ्ट सफल, कसरी ?

ई–सेवाको माउ कम्पनी एफवान सफ्टको फाइल ‘फुल अडिट’मा, कारोबार शंकास्पद

राष्ट्र बैंकको निर्देशनपछि ई–सेवाको आन्तरिक रेमिट्यान्स कारोबार पूर्णरूपमा बन्द

लाइसेन्स बिनाका कम्पनीहरुसँग कारोबार गरेको भन्दै ई–सेवालाई कारवाहीको तयारी

ईसेवा, खल्ती जस्ता वालेटहरु अवैध अनलाइन जुवा कारोबारमा संलग्न रहेको खुलासा (प्रमाणसहित)

एफवान सफ्ट ‘विग’ कम्पनीको सुचीमा, १५ अर्ब ६६ करोडको व्यापार गर्न सफल

ई–सेवालगायतका वालेटद्धारा वैदेशिक रोजगार बीमामा अनधिकृतरुपमा सेवाशुल्क अशुली

 

Advertisement

Advertisement