मोटरसाइकल बिक्रीमा मन्दी, आयात २ तिहाईले घट्दा राज्यलाई साढे १५ अर्ब राजस्व नोक्सान

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षमा मोटरसाइकल आयातमा पनि मन्दी छाएको छ। चालु वर्षको पहिलो ११ महिनामा मोटरसाइकल आयातमा भारी गिरावट देखिएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार मोटरसाइकल आयात हुने भन्सार शिर्षक नम्बर ८७११ मा जेठ महिनासम्म १ लाख ८ हजार मोटसाइकल आयात भएको छ। यो शिर्षकमा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को जेठसम्म २ लाख ६२ हजार वटा मोटसाइकल आयात भएको थियो ।

Advertisement

जसअनुसार पोहोरको तुलनामा यो वर्ष १ लाख ५४ हजारवटा मोटसाइकल कम आयात भएको हो। नेपालमा २ पाङग्रे सवारीको लोकप्रियता बढेपनि देशभर आर्थिक संकुचन आउँदा आयात घटेको हो। चालु वर्ष नेपाली व्यापारीहरुले भारत चीन लगायत देशबाट ११ अर्ब ३१ करोड मूल्य बराबरको मोटरसाइकल नेपाल भित्र्याएका छन्। जसबाट राज्यले १० अर्ब ५८ करोड राजस्व प्राप्त गरेको छ।

गतवर्ष ११ महिनामा व्यापारीहरुले २६ अर्ब १ करोड मूल्य बराबरको २ लाख ६२ हजार वटा मोटरसाइकल आयात गरेका थिए। जसबाट राज्यले २५ अर्ब ५४ करोड राजस्व संकलन गरेको छ। गतवर्षको तुलनामा राज्यले मोटरसाइकल आयातबाट मात्रै करिब १५ अर्ब कम राजस्व प्राप्त गरेको हो।

एसेम्बलमा आकर्षण बढ्न थाल्यो

सरकारले पार्ट पुर्जा ल्याइ फिटिङ गरी मोटरसाइकल तयार गर्ने उद्योगीलाई भन्सार महसुल तथा अन्तशुल्कमा छुट दिएको छ। यो छुटको उपयोग गर्न उद्योगीबिच प्रतिस्पर्धा नै चल्न सुरु भएको छ। छुट दिएसँगै अनएसेम्बल अवस्थाका मोटरसाइकल आयात बढेको छ।

चालु वर्षको ११ महिनामा ३८ हजार २ सय ५४ वटा मोटरसाइकल अनएसेम्बल अवस्थामा आयात भएको छ। नेपालमा धेरै मोटरसाइकल बिक्री गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालीले नेपालमै एसेम्बल उद्योग स्थापना गरेको छ। यो कम्पनीले बजाजको विविध मोडेलको मोटरसाइकल बिक्री गर्दै आएको छ।

यस्तै दोस्रो धेरै मोटरसाइकल बिक्री गर्ने एमएडब्लु इन्टरप्राइजेजले पनि एसेम्बल प्लान्ट राख्न तयारी थालिसकेको छ। तेस्रो धेरै मोटरसाइकल बिक्री गर्ने स्याकर ट्रेडिङ कम्पनी प्रालीले पनि एसेम्बल उद्योग राख्ने तयारी गरेको छ। यसैगरी जगदम्बा मोटर्सले पनि एसेम्बल उद्योग राखिसकेको छ।  

कुन सेग्मेन्टमा कति आयो मोटरसाइकल

चालु वर्षको ११ महिनामा ५० देखी १२५ सीसी सम्मको ४८ हजार १ सय २२ थान मोटरसाइकल आयात भएको छ। यो ४ अर्ब २२ करोड मूल्य बराबरको छ। जसबाट ४ अर्ब ७४ करोड राजस्व उठेको छ। यसैगरी १ सय २५ सीसीदेखी २ सय सिसि सम्मका ८ हजार ८ सय ५३ वटा मोटरसाइकल आयात भएको छ।

यो १ अर्ब २३ करोड मूल्य बराबरको हो। जसबाट १ अर्ब ४८ करोड राजस्व संकलन भएको छ। यस्तै चीनबाट १ सय २५ सीसी देखी २ सय सीसी सम्मका ९ सय २२ वटा मोटरसाइकल आयात भएका छन्। यस्तै २ य ५० सीसी देखी ४ सय सीसी सम्मका ९ सय ५२ वटा मोटरसाइकल आयात भएका छन्। यो शिर्षकमा सरकाले कर घटाएको हुनाले आयात बढ्ने अनुमान गरिएको छ।

अनएसेम्बल तर्फभने सबैभन्दा धेरै १ सय २५ देखी २ सय सीसी सम्मका मोटरसाइकल आयात भएका छन्। यो शिर्षकमा १९ हजार ५ सय २३ वटा मोटरसाइकल आयत भएका छन्। व्यापारीले यी मोटरसाइकलका लागि भारतीय बजारमा २ अर्ब ३९ करोड खर्चिएका छन्। यस्तै राजस्व भने १ अर्ब ७७ करोड मात्रै प्राप्त भएको छ।

यसैगरी ५० देखी १ सय ५० सीसीसम्मको १५ हजार वटा मोटरसाइकल आयात भएको देखिएको छ। यसको भारतीय बजार मूल्य १ अर्ब ५० करोड रहेको छ। जसबाट १ अर्ब १० करोड राजस्व असुली भएको छ। यसैगरी २ सय देखी २ सय ५० सिसि सम्मको २ हजार ७९, २ सय ५० देखी ५ सय सीसीसम्मको ५ सय ३८ वटा मोटरसाइकल आयात भएको छ।  

 

Advertisement

Advertisement