भ्रष्टाचारविरुद्धको लडाई अझै रोकिन्नः प्रम दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको बताएका छन् । 

बुधबार संसदमा बोल्दै दाहालले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दावी समेत गरे । 

Advertisement

दाहालले आफूले सरकार संचालन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकीर समेत गरे । उनले भने, ‘मैले संसदमा संकल्प गरेको थिएँ– सुशासन सरकारको उच्च प्राथमिकता हुनेछ । मैले सरकारको यस बीचको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु । मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्यप्रति र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो । अहिले त्यसमा सुधार भएको छ । र, यसलाई मैले जनतामा राज्यप्रति र सरकारप्रति भरोसामा जो अभिवृद्धि भएको छ । यसबीचको सबैभन्दा ठूलो उपलब्धिको रुपमा मानेको छु ।’ 

दाहालले थपे, ‘हाई प्रोफाईल व्यक्तिहरु कानुनभन्दा माथि छन् आम मनोविज्ञान बनिरहेकोे थियो । त्यसले जनतामा ठूलो आक्रोश जन्माईरहेको थियो । त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । र, नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको छ । नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वाेच्चतामात्रै प्रमाणित गरेको छैन्, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ ।’ 

उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको जिकिर गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु भएको शुद्धीकरण यतिमा नरोकिने बताए । दाहालले भने, ‘यो निरन्तर अगाडि बढनेछ । हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललीता निवास काण्डको अभियुक्तहरु पक्राउ पर्न थालेका छन । मिटरब्याजी र सहकारीका ठगहरुमाथि कारबाही सुरु भईसकेको छ । वर्षाैदेखि विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको मैले महशुस गरेको छु ।’

Advertisement

Advertisement