मन्त्री नै भन्छन्– सय किलो सुन तस्करी गर्ने मालिक पक्राउ गर्न दबाब पुगेन्

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।  

शुक्रवार आयोजित एक कार्यक्रममा उनले सुन तस्करको नाइकेलाई पक्राउ गर्न दबाब नपुगेको बताएका हुन् । किराँतीले एक सय किलो सुन तस्करी प्रकरणमा भरिया नभई मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए । 

Advertisement

उनले कसैलाई शक्तिको भरमा न्याय, संविधान र कानून भन्दामाथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताए । किरातीले सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको दावी गरे । 

उनले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताए । मन्त्री किरातीले भ्रष्टाचार र तस्करीको संरक्षण गरेर मुलुकमा सुशासन र समृद्धि हासिल हुन नसक्ने बताए । उनले  सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरुको पक्षमा जनता र मिडियाले निष्पक्ष रुपमा भनिदिनुपर्ने बताए । 

पर्यटन मन्त्री किराँतीले पक्राउ परेको सुनको परीक्षण शुरु भयो भन्ने सुनेको छु भन्दै सुन बरामत गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभई अर्थ र गृह मन्त्रालयको भएको बताए । उनले पर्यटन मन्त्रालयले सुन तस्करी जस्ता कुराहरु देख्न नै नपाउने भन्दै त्यो भन्सारले गर्ने काम भएको बताए ।

Advertisement

Advertisement