सुन तस्करीको नाममा गृहमन्त्रीले ‘स्टन्ट’ गरे, उच्चस्तरीय छानविन हुनुपर्छः एमाले

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्री नारायकणजी श्रेष्ठले ‘स्टन्ट’ मात्र गरेको आरोप लगाएको छ । 

बुधबार संसद सुरु हुनासाथै विशेष समय लिएर एमाले नेताले गृहमन्त्री श्रेष्ठप्रति आक्रोस पोख्दै उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे । एमाले प्रमुख सचेतक पदम गिरीले भन्सारबाट पास भएको सय किलो सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको उल्लेख गर्दै यसमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोराको समेत संलग्नताको आलोचना गरे । 

Advertisement

उनले भने, ‘राजश्व अनुसन्धान विभागलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई थियो कि थिएन ? अवश्य थियो । कर्मचारीको सेटिङले मात्र यस्तो सुन तस्करी भएको छैन् ।’ पछिल्लो २३ महिनामा २० विन्टलभन्दा बढी सुन तस्करी भएको दाबी गर्दै उनले थपे, ‘यसको संरक्षण कसले गर्‍यो ? गृहमन्त्रीले गर्नु भएको हो कि होइन ? प्रधामन्त्रीले गर्नु भएको हो कि होइन ? अर्थमन्त्रीले गर्नु भएको हो कि होइन ।’

नेता गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुनसुकै कोट वा टार होस्, म कारबाही गर्छु भनेर जनतामा भ्रम छर्ने काम गरेको भन्दै गृहमन्त्री अब कुर्सीमा बस्न कुनै पनि हिसाबले लायक नरहेको बताए । उनले भने, ‘अब कुन नैतिक धरातलमा त्यो पदमा बस्न सुहाउँछ ?’

मन्त्रीहरुको सेटिङमा सुन तस्करी भएको दाबी गर्दै गिरीले यसबारे छानबिन गर्न संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरे । उच्चस्तरीय छाबिन हुने र जरासम्म पुग्ने सुनिश्चितता नभए संसद अघि बढ्न नसक्ने उनले बताए ।

Advertisement

Advertisement