राजीनामा मागिएपछि विमानस्थल भन्सार पुगे अर्थमन्त्री महत, दोहोरो चेकजाँच राखिने

Advertisement

काठमाडौं। सुन तस्करी काण्डमा आफ्नै पार्टीका साँसदहरुले समेत राजीनामा मागेपछि नैतिक संकटमा परेका अर्थमन्त्री प्रकाशशरण महत बिहीबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गर्न पुगेका छन् । 

मन्त्री महतले त्रिवि भन्सार कार्यालयको अनुगमन गर्दै निर्देशनहरु समेत दिएको अर्थ मन्त्रालयका कर्मचारीहरुले जानकारी दिए । भन्सार चेकजाँचबाट एक सय किलोभन्दा धेरै सुन बाहिरिएपछि अर्थमन्त्री महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ । संसदमा विक्षी दलहरुले उच्चस्तरीय छानविन समितिको माग पनि गरेका छन् । 

Advertisement

सुन काण्ड बाहिरिएपछि मौन बस्दै आएका महत आज एकाएक विमानस्थल पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । केही हप्ताअघि उनले भैरहवा पुगेर आफूले सुनको सुराकी दिनेलाई १० प्रतिशत पुरस्कार दिने व्यवस्था गरेपछि मात्रै सुन समातिएको जिकिर गरेका थिए । तर पछिल्लो घटनामा आफ्नै मन्त्रालय मातहतका कर्मचारी अवैध सुन पास गराएको तथ्यले महतलाई समस्यामा पारेको छ । त्रिवि भन्सारका तीन जना कर्मचारीलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरी बयान लिइरहेको छ । 

सुन पक्राउ परेलगत्तै राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना र पछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए । भन्सार कार्यालयबाट बदमासी भएको औंल्याउँदै श्रेष्ठले अब विमानस्थलमा प्रहरी चेकजाँच राख्नुपर्ने बताएका थिए । 

आज मन्त्री महतले त्रिवि भन्सारको अनुगमन गरेसँगै दोहोरो चेकजाँचको व्यवस्था गर्न भनेका छन् । भन्सारमा हाल एक मात्रै एक्सरे मेसिन रहेको छ । यस्तो एक्सरे मेसिन दुई वटा राख्न प्रस्ताव गर्न लागिएको हो ।

महतले सुन तथा गलत सामान घोषणा गरी हुने तस्करीलाई रोक्नका लागि योजना बनाउन भन्सार विभागलाई निर्देशन दिएका छन् । विभागले दोहोरो चेकजाँचको मोडलिटीलाई अघि बढाउन लागेको जनाइएको छ । दुई स्थानमा चेकजाँच हुँदा तस्करी कम हुने विभागको तर्क छ । 

अनुगमनमा अर्थसचिव अर्जुन पोख्रेल, राजश्व सचिव रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल पनि सहभागी थिए । 

Advertisement

Advertisement