अभियुक्तहरु बोल्न नमानेपछि झापड हान्नुपर्ने बाध्यता

अनुसन्धान शाखा– ६ मा यसरी हुँदैछ सुन तस्करीको अनुसन्धान, सशस्त्रलाई विशेष भूमिका

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागको शाखा नम्बर– ६ मा बाहिरबाटै हल्लाखल्ला सुनिन्छ । ‘के को हल्ला हो यस्तो ? भनेर सोध्दा विभागका एक कर्मचारीले जवाफ दिए, ‘भित्र सुन तस्करीको बयान चल्दैछ ।’  

यही साउन पहिलो साता त्रिभुवन विमानस्थल बाहिरबाट हालसम्मकै ठूलो परिमाणमा अवैध सुन नियन्त्रण गरिएको थियो । एक अर्ब रुपियाँभन्दा बढी मूल्यको सय किलोभन्दा धेरै सुन एकै पटक पक्राउ परेको घटनाले अहिले सरकार, राजश्व प्रशासन, सुरक्षा प्रणालीमाथि नै ठूलो प्रश्न उठिरहेको बेला आम जनतामा यो ठूलो चर्चाको विषय बनिरहेको छ । 

Advertisement

यस प्रकरणमा जोडिएका करिव डेढ दर्जन मानिसलाई पक्राउ गरी विभागले अहिले छानविन र सोधपुछ गरिरहेको छ । पक्राउ परेकाहरुले सजिलै बयान दिन नमानेपछि प्रहरी अधिकृतहरुले चढ्कनसमेत लगाएर सोधपुछ गर्नुपरेको छ । यसरी हात उठाउँदा आरोपितहरु ठूलो स्वरमा चिच्याउने र रुने समेत गरेको बाहिर नै सुनिन्छ । केही भने डाँको छाडेर न रुने गर्छन् । 

पक्राउ परेकाहरुसँग बयान लिने क्रम अझै पनि रोक्किएको छैन् । विगतमा प्रहरीले गरेका छानविनमा सुन तस्करीका नाइकेभन्दा पनि भरिया र विचौलियाहरु मात्रै कारवाही परेकोले विभागले गहिराइमा जाने प्रयास गरेको देखिन्छ । यस पटक केही महत्वपूर्ण उपलब्धी हासिल गर्ने प्रयासका लागि सबै अनुसन्धान अधिकृतहरु लागेको एक अनुसन्धान अधिकृतले बताए । 

अनुसन्धानमा पक्राउ परेकाहरुको बयानबाट भन्दा पनि मोबाइलको विवरणबाट नयाँ कुराहरु पत्ता लागेको र सोहीअनुसार नयाँ मानिसहरुलाई पक्राउ गर्ने, छापा मार्ने काम भइरहेको छ । पक्राउ परेका १८ जनामध्ये अधिकाँश सिधा प्रमाण पुगेकाहरु मात्रै भएको विभागको दाबी छ ।  

अनुसन्धानमा सहभागी ती अधिकृतले भने, ‘सुन तस्करीको अनुसन्धान निकै गहिराईसम्म पुगेर गरिरहेका छौं । हालसम्म पक्रिएकाहरु सिधा प्रमाण ठोक्किएका व्यक्ति मात्रै हुन् । प्रमाण नपुगेकाहरुलाई पक्राउ गर्दैनौं ।’ अहिलेसम्म पक्राउ परेका व्यक्ति र छापा मारेका ठाउँहरु सुन तस्करीमा जोडिएको यथेष्ट प्रमाण रहेको उनको दावी छ । 

पक्राउ परेका व्यक्तिहरुलाई अनुसन्धान गर्न एकै पटक १५ दिनको म्याद थप गरिएको छ । यसअघि एक हप्ताका लागि मात्रै म्याद थप हुँदा अनुसन्धानमा कठिनाई भएको विभागको भनाई छ । विभागले यस्ता प्रकरणका अभियुक्तहरुलाई ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नसक्छन् । नौ महिनाभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ ।

पक्राउ परेकाहरुसँग बयान लिन विभागका महानिर्देशक नवराज ढुंगाना आफैं पनि लागिपरेका छन् । बयानको अभिलेख राख्ने काम कर्मचारीहरुले गरिरहेका हुन्छन् । बयान लिनका लागि एक जना चिनियाँ भाषा अनुवादकलाई पनि लिइएको छ । सबैभन्दा असजिलो चिनियाँहरुसँग बयान लिन हुने गरेको बयानमा खटिनेहरुको गुनासो छ । चिनियाँसँग भाषा अनुवादकले मात्रै बयान लिइरहेका छन् । तर उनले तस्करीको जालो खुल्नेगरी बयान दिन आनाकानी गर्ने गरेको स्रोतको भनाई छ । 

स्रोतको भनाई छ, ‘धेरै जसो विषयमा उसले अनविज्ञता प्रकट गर्ने । बोल्न नखोज्ने गर्छ । उसको धेरै कुराहरु हेर्दा सुन तस्करीको ‘मास्टर माइण्ड’ हो भन्ने लाग्छ । धेरै कुराहरु अझै खुल्नै बाँकी छ । आधार प्रमाण जुटाउने प्रयास भइरहेको छ ।’

विभागले पछिल्लो सुन तस्करीको छानविनमा नेपाल प्रहरीलाई बन्दा पनि सशस्त्र प्रहरीको सहारा लिएको छ । सशस्त्र प्रहरीले नै आरोपीहरुलाई पक्राउ गर्ने, बयानका क्रममा सहयोग गर्ने, उनीहरुलाई हिरासतसम्म लाने ल्याउने काम गर्दै आएका छन् । यस्ता घटनामा नेपाल प्रहरीलाई संलग्न नगराई सशस्त्रलाई सहभागी गराउनु अर्थपूर्ण रहेको सहजै अनुमान गर्न सकिन्छ । बोल्न नमान्नेहरुलाई झापड हान्ने काम पनि सशस्त्र प्रहरीले नै गर्छन् । अनुसन्धानमा नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीलाई मात्रै समावेश गरिएको छ । 

स्रोतले थप्यो, ‘पक्राउ परेकाहरुले सजिलै सूचना दिएको भए अनुसन्धान धेरै अघि बढिसक्थ्यो । हामीले सोचभन्दा निक्कै धेरै समय लागेको छ ।’ बयान लिनका लागि तालिका मिलाईएको उनले बताए । विभागले केहीलाई सोही स्थानमा राखेर अनुसन्धान गरिएको छ भने केहीलाई प्रहरीको जिम्मा लगाइएको छ । 

सुन तस्करीको अनुसन्धानमा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप राई नेतृत्वको टोली खटिएको छ । अनुसन्धानबाट थप मानिसलाई पक्राउ गर्नुपरे सशस्त्रको टोली तयारी अवस्थामा बसेको छ । 

Advertisement

Advertisement