सुन तस्करीको छानविन गर्न सीआईबीलाई ३५ दिन दिनुस्ः गृहमन्त्री, उच्चस्तरीय समिति नबन्ने

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको सीआईबीलाई नै गर्न दिन आग्रह गरेका छन् । उनले मंगलबार संसदमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी दलको मागअनुसार उच्चस्तरीय समिति बनाउन इन्कार गर्दै सीआईबीलाई काम गर्न दिन ३५ दिनको समय मागे । 

श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सीआईबीलाई गर्न दिन आग्रह गरे । उनले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब बीआईबीले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा अनुसन्धान सकेर दोषीलाई कानूनी दायरामा ल्याउने बताए । 

Advertisement

श्रेष्ठले सीआईबीले अपराधी लुकाउने दुर्नियत देखायो भने मात्र छानविन समिति बनाउने विषयमा छलफल गर्न सकिने बताए । विगतमा बनाइएको संसदीय छानविन समितिले हराएको सुन भेट्टाउन नसकेको तथा समितिको प्रतिवेदन समेत कार्यान्वयन नभएको भन्दै उनले राज्यको संयन्त्रलाई नै अनुसन्धानको जिम्मेवारी दिनुपर्ने बताए । 

श्रेष्ठले सरकारले दोषिलाई पहिचान गरी कारबाही प्रक्रियामा ल्याइ छाड्ने भन्दै त्यसको निम्ति सकारात्मक वातावरण बनाइदिन आग्रह गरे । उनले भेपमा सुन तस्करी प्रकरणको फाइल आफ्नो टेबलमा आइनपुगेको पनि स्पष्ट पारे । श्रेष्ठले आफूले सो प्रकरणको पनि निष्पक्ष अनुसन्धान गरेर तथ्य, प्रमाणले देखाए अनुरुपको अभियोजनको प्रक्रियामा जान प्रहरीलाई निर्देशन दिएको बताए । 

Advertisement

Advertisement