एक सूचना, दुई इमान्दारिताः ६० किलो सुन समातिँदा राज्य कोषमा आयो रु. ६६ करोड ६८ लाख

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले नेपालको अहिलेसम्मकै ठूलो सुन तस्करीलाई पक्राउ गर्न सफल भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीको कडा सुरक्षा, अध्यागमन विभागको चेकजाँच, भन्सार विभागको जाँचपास छलेर बाहिर आएको ठूलो परिमाणको सुन राजश्व अनुसन्धान विभागको टोलीले समाउन सफल भयो । 

दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्याइएको अवैध सुन तत्कालिन समयमा सय किलोभन्दा धेरै अनुमान गरिएको सुनको गुणस्तर कस्तो निस्किने हो ? शंका भइरहेको बेला नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले ६० किलो ७१३ ग्राम सुन शुद्ध (९९९ टच) रहेको प्रमाणित गरेको छ । यस प्रमाणीकरणसँगै राजश्व अनुसन्धान विभागले आफ्नो एउटा मिसन सफल भएको महशुस गरेको छ । 

Advertisement

तस्करीको सुन अप्रेसनमा विशेषगरी एक सूचना र दुई जनाको इमान्दारिताबाट सम्भव भएको हो । गत असारमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको सचिवालयमा रहेका नवराज ढुङ्गानाले राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी पाए ।

ढुङ्गाना यसअघि महालेखा नियन्त्रक कार्यालय र वीरगञ्ज भन्सार बस्दा विवादित छवि बनाएका थिए । विवादित छविलाई सुधार गर्नका लागि महानिर्देशक बन्ने बित्तिकै उनले एक टीम तयार गरेका थिए । उनले आफ्नो टिमलाई संस्थाको इमेज पनि सुधार हुने र आफ्नो पनि नाम रहने गरी केही काम गरौं भनेर भनेका पनि थिए । यो भन्नुको अर्थ ढुङ्गानाले सुन तस्करीको कुनै सुचना पहिले नै पाइसकेका थिए भन्ने अडकल गर्न सकिन्छ ।

उनले पाएको सुचना सुन तस्करीको थियो । सूचना दिने व्यक्तिको नाम ढुङ्गानाले आफ्नो मोबाइलमा अग्रेजी अक्षर ‘एमडी’ लेखेर राखेका छन् । सोही सुराकीको आधारमा उनले हङ्कङबाट ब्रेक सु भनेर आउने दिनदेखि विमानस्थलको कार्गो गोदाममा पुग्दासम्म तस्करीको सुन पक्राउका लागि एक विशेष अप्रेसनको तयारी गरे ।

अप्रेसनको तयारी अघि बढाउन उनले सशस्त्र प्रहरीका डीएसपी प्रदीप राईलाई निर्देशन दिए । राईले अप्रेशनको त्यहीअनुसारको तयारी पनि गरे । राई तिनै प्रहरी अधिकृत हुन् जसलाई ६ महिनाअघि सशस्त्र प्रहरीको मुख्यालयबाट इमान्दार प्रहरी अधिकृत भनेर राजश्व अनुसन्धानमा खटाइएको थियो । 

डीएसपी राई सशस्त्रमा एकेडेमिक क्षेत्रका व्यक्ति हुन् । धेरै जसो तालिम दिनको लागि खटिने उनी छ महिनादेखि राजश्व अनुसन्धान विभागमा कार्यरत थिए । विभागमा सशस्त्रले प्रहरी खटाउँदा यसअघि भन्सार र सीमा नाकामा नखटिएका प्रहरी अधिकृतलाई पठाउने गर्दछ । विभागमा रहँदा डीएसपी राईले कयौं घुसको प्रस्तावलाई अस्वीकार गरेको स्रोतको दावी छ । राईले घुसको प्रस्ताव आउनेबित्तिकै महानिर्देशक र सशस्त्र प्रहरीको मुख्यालयलाई ब्रिफिङ गर्ने गर्थे । 

अहिले कुन सामग्री भन्सार नाकामा आइपुग्यो ? कुन सामग्री जाँचपास भयो ? सबै तथ्यांक विभागबाटै जाँच गर्न मिल्छ । जब नामै नसुनेको रेडी ट्रेड प्रा.लि. नामक कम्पनीले सामान छुटाउने प्रक्रिया थाल्यो, सशस्त्र प्रहरीका टोली त्रिवि भन्सार गेटमा तयारी अवस्थामा थियो । 

प्रहरीले सामान पिछा गर्नका लागि चार वटा मोटरसाइकल र दुई वटा भ्यान तयारी अवस्थामा राखेको थियो । तर गेटबाटै समातिएकाले प्रहरीले धेरै मिहेनत गर्नुपरेन् ।

राजश्व अनुसन्धान विभागले पछिल्लो सुन तस्करी जस्ता धेरै सुचना आउने गर्छन् । तर त्यसलाई नजरअन्दाज गर्दा राज्यले अर्बौं रुपियाँको राजश्व गुमाउँदै आएको छ । रेडी ट्रेडले ब्रेक सु आदि नाममा धेरै पटक पटक अवैध सुन भित्राएको विवरणबाट देखिन्छ । जाँचपासका क्रममा ती सबैमा शंका गर्ने ठाउँ हुँदाहुँदै पनि विभानस्थलभित्रका भन्सारका कर्मचारी र नेपाल प्रहरीको कमजोरी तथा बदमासीले ती सबै तस्करी सफल भए । तर साउन २ मा भने राजश्व अनुसन्धान विभागले सफल हुन दिएन् । 

एक सूचना र दुई जनाले इमान्दारिता कायम राख्दा ठूलो परिमाणको सुन तस्करी असफल भएको छ । यसबाट अहिलेको बजार भाउअनुसार ६३ करोड ५० लाख ९८ हजार ५४० रुपियाँको अवैध सुन तस्करी हुनबाट जोगिएको छ । यो मूल्यमा राष्ट्र बैंकले पाँच प्रतिशत (३ करोड १७ लाख ५७ हजार) थप गरी सरकारलाई बुझाउनेछ । यद्यपि एकपछि अर्को तस्करीमा झन ठूलो परिमाणको सुन जाँचपास भएर भारत पुग्दा पनि राज्यका संयन्त्रणहरु पक्राउ गर्न असफल हुनुले गम्भीर प्रश्न उब्जाएको छ । 

ठूलो दबाबका बीच आफूले इमान्दार प्रयास गरेको महानिर्देशक ढुङ्गानाले कर्पोरेट नेपाललाई बताए । उनले भने, ‘चर्को धाकधम्कीको बीच हामीले एक मिसन सफल पारेका छौं । यसमा सुन मात्रै समातिएन्, सुनसँग आवश्यक प्रमाण समेत समातेका छौं । तस्करीमा संलग्न दावा तामाङ समातिनु सबैभन्दा ठूलो सफलता हो ।’

दावा समात्न आफूले उच्च राजनीतिक दबाबलाई अस्वीकार गरेको ढुङ्गानाको दाबी छ । घटनाको प्रकृति अन्तरदेशीय संगठित अपराधको देखिएकोले थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई हस्तान्तरण गरेको महानिर्देशक ढुङ्गगानाको जिकिर छ ।

यता आफ्नो जीवनकालको सबैभन्दा ठूलो मिसन सफल गर्न पाउँदा खुसी लागेको डीएसपी राईले बताए । राईले कर्पोरेट नेपालसँग भने, ‘यो मिसन मेरो जीवन र संगठनको ठूलो सफलता हो, जसमा मैले इमान्दार प्रयास गरें ।’

Advertisement

Advertisement