त्रिवि भन्सार कार्यालयका सबै कर्मचारीहरुले मागे सामूहिक सरुवा, अर्थमन्त्रीलाई पत्र बुझाउँदै

Advertisement

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सबै कर्मचारीहरुले सामूहिक सरुवा मागेका छन् । काम गर्न जोखिमपूर्ण भएको भन्दै उनीहरुले सरुवाका लागि सामूहिक निवेदन दिएका हुन्।

कार्यालयका अधिकृत, नायब सुब्बा, खरिदारलगायतले सामूहिक सरुवा माग गर्दै मंगलबार नै निवेदन तयार गरेका छन् । आज बुधबार भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अर्थ सचिव अर्जुन पोख्रेललाई एकै पटक निवेदन बुझाउने तयारी गरिएको छ ।

Advertisement

सुन तस्करीले गर्दा काम गर्ने बाताबरण बिग्रिएको एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘भन्सार कार्यालयमा जागिर खाएर जेल जानुपर्ने अवस्था आएपछि हामी सबै त्रसित भएका छौं । त्रास नै त्रासमा कति काम गर्ने ? यसैले हामीले सामूहिक सरुवा मागे गरेका हौ।’

सरुवा मागको निवेदनमा कार्यालयमा त्रिवि भन्सार कार्यालयमा कार्यरत उपसचिव र सहसचिव बाहेक सबैले हस्ताक्षर गरेका छन् । स्रोतका अनुसार उपसचिवहरुले पनि सबैले सरुवा मागिसकेका छन् । तर सामुहिक निवेदनमा भने उनीहरुले हस्ताक्षर गर्न मानेनन् । उनीहरुले सामूहिक आन्दोलन गर्न नमिल्ने भएकाले मात्रै सरुवा माग पत्रमा हस्ताक्षर नगरेको स्रोतको तर्क छ । 

गत साउन २ गते भन्सार कार्यालयबाट ब्रेक सु भनेर जाँचपास गरिएको सामानमा सुन भेटिएपछि त्यहाँ कार्यरत कर्मचारीहरुमाथि निगरानी बढाइएको छ । तत्कालिन समयमा कार्यरत केही कर्मचारीहरुलाई निलम्बन गरी अहिले छानविन पनि भइरहेको छ । पछिल्लो सुन तस्करी प्रकरणमा तीन जना कर्मचारीलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई बुझाएको छ। पक्राउ पर्नेमा एक्सरेमा बस्ने सरोज श्रेष्ठ, शाखा अधिकृत सन्तोष चन्द र खरिदार कुमार ढकाल रहेका छन्।

सीआईबीले सुन अनुसन्धानको जिम्मा पाएपछि भन्सार कार्यालयमा जासुस गर्न टोली खटाएको छ । ठूला तस्करीलाई पक्राउ गर्न छाडेर भन्सार कार्यालयका कर्मचारीहरुलाई निसाना बनाएपछि आफूहरुको मनोबल कमजोर भएको कर्मचारीहरुको गुनासो छ । 

सीआईबीले सुन ल्याउने रेडि ट्रेड प्रा.लि.सहित अन्य सात कम्पनीको सामान जाँचपास गर्ने कर्मचारीहरुको विवरण लिएर फोन ट्रयाकिङ गर्न सुरु गरेको छ। सीआईबीले धेरै पेल्न खोजेको उनीहरु बताउँछन् । ती कर्मचारीले थप्यो, ‘हामी भागेर कहीं जादैनौं । बयानका लागि बोलाए पनि तयार छौं । तर प्रहरीको गतिविधि हामीलाई अपराधी करार गर्ने भन्दा अर्को देखिदैन् ।’  

साउन २ गते समातिएको १५५ किलो ब्रेक सुबाट सुन झिकेर जोख्दा ६० किलो ७१६ ग्राम यकिन गरिएको छ । 

Advertisement

Advertisement