पृथकतावादी सिख नेताको हत्यासँगै बढेको भारत–क्यानडा तनाबमा अमेरिका पनि बोल्यो

Advertisement

काठमाडौं । क्यानडामा रहेको खालिस्तान पक्षधर पृथकतावादी सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयले भारत र क्यानडाबीच तनाब बढेको बेला अमेरिकाले पनि यस विषयमा बोलेको छ । 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले बिहीवार यस घटनामा भारतलाई कनै छुट नहुने चेतावनी दिएका छन् । उनले यस घटनामा भारतलाई कुनै विशेष छुट नदिने बताउँदै यस विषयमा अमेरिका सरकार भारतका उच्च अधिकारीसँग सम्पर्कमा रहेको बताए । 

Advertisement

हालै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसद्‌मा निज्जरको हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको औंल्याएका थिए । यस घटनालाई लिएर दुई देशबीच तनाव बढेको बेला अमेरिका पनि यसमा प्रवेश गरेको हो । 

भारत–क्यानडा तनावको विषयमा अमेरिकाको चासोले के दुई देशबीचको सुमधुर सम्बन्धलाई असर गर्न सक्छ ? भन्ने प्रश्नको उत्तरमा सलिभनले अमेरिका जुनसुकै देश प्रभावित भए पनि आफ्नो सिद्धान्तको पक्षमा अडिग रहने बताएका छन् ।

बीबीसीका अनुसार ह्वाइटहाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘यो हाम्रा लागि चिन्ताको विषय हो। यो हामीले गम्भीरतापूर्वक लिने कुरा हो। यो त्यस्तो विषय हो जसमा हामी कुनै पनि देशको परवाह नगरीकन काम गर्छौँ । ूयस्तो काममा विशेष छुट पाइँदैन। हामी कुनै पनि देशको परवाह नगरीकन अडिग भएर हाम्रा आधारभूत सिद्धान्तहरूको रक्षा गर्ने छौँ । हामी क्यानडाजस्ता सहयोगीहरूसँग पनि नजिक रही काम गर्ने छौँ किनभने क्यानडाले यस मामिलामा अनुसन्धान र कूटनीतिक प्रक्रियाको नेतृत्व गरिरहेको छ।’

जी २० शिखर सम्मेलनमा सहभागी हुन आएको बेला पनि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले हरदीप सिंह निज्जरको हत्याको विषय भारतीय नेतृत्वसँग उठाएका थिए । अमेरिकाले भारत र क्यानडाबीच जारी तनाव चाँडै समाधान होस् र चीनलाई चुनौती दिनका लागि अमेरिका र भारतबीच विद्यमान सहकार्य नखलबलियोस् भन्ने कामना पनि गरेको छ । 

बिहीवार भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारत–क्यानडा तनावबारे कैयौँ प्रश्नको उत्तर दिएका थिए । भारतले सुरुदेखि नै क्यानडाले लगाएको आरोपलाई अस्वीकार गर्दै आएको छ । 

निज्जरको हत्यासँग सम्बन्धित कुनै पनि गुप्तचरी सूचना क्यानडाले आफूहरुलाई नदिएको भन्दै भारतले प्रवक्ताले भनेका छन्, ‘क्यानडाले न त आरोप लगाउनुअघि न त आरोप लगाएपछि नै हामीलाई विशेष जानकारी दिएको छ। हामी कुनै पनि विशेष सूचना हेर्न चाहन्छौँ। तर अहिलेसम्म हामीलाई सूचना प्राप्त भएको छैन।’ 

खालिस्तान पक्षधर हरदीप सिंह निज्जरको गत जुन महिनामा हत्या भएको थियो। क्यानडाको जासुसी सुरक्षा निकायले उनको जीवन खतरामा रहेको चेतावनी दिँदै आएको थियो । भारतले पनि बिहीवार क्यानडाका नागरिकलाई भिसा दिन बन्द गरेको छ र क्यानडामा आफ्नो कूटनीतिक उपस्थिति घटाउने आदेश पनि दिएको छ ।

Advertisement

Advertisement