एनसेलको शेयर खरिद बिक्री अस्वभाविक रहेको प्रधानमन्त्रीद्धारा ढिलो गरी स्वीकार

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्री अस्वभाविक रहेको स्वीकार गरेका छन् । आफूमाथि एनसेल प्रकरणमा संलग्न रहेको आरोप लाग्दै आएको बेला दाहालले सो कुरा स्वीकार गरेका हुन् । 

मंगलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको बताए । 

Advertisement

दाहालले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने बताए । 

दाहालले एनसेल प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम कारबाही भए गरेको पाइए कानूनबमोजिम हदैसम्मको कारबाही गर्ने दावी गरे । दाहाल र उनकी छोरी गंगा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजुमाथि एनसेल प्रकरणमा संलग्न रहेको आरोप लाग्दै आएको छ । 

आजको बैठकमा दाहालले भने, ‘एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन समेतको कार्य गरिरहेका छौँ । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।’ 

उनले थपे, ‘यस प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम कारबाही भए गरेको पाइएमा जुन सरकारलाई सहज नलागेकै हुनाले मैले शुरुमै निर्देशन जारी गरेको हो, सहज र स्वभाविक छैन भन्ने देखिएको हुनाले नै निर्देशन जारी गर्नुपरेको हो । यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकैले छानबिन समिति बनाइएको हो । यसमा कहीँ कतैबाट कानून विपरितका काम कारबाही भए, गरेको पाइएमा कानूनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ ।’

प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको दावी गरे । यद्यपि उक्त समितिमा बिगतमा एनसेल प्रकरणमा मुछिएका र एनसेलसँग नजिक रहेका व्यक्तिहरु समावेश गरिएको छ ।  

Advertisement

Advertisement