‘संघीयता अफ्ठ्यारोमा पर्यो’

मानवताबिरुद्धका जघन्य अपराधमा छुट नहुने गरी टीआरसी विधेयक पास हुनुपर्ने ओलीको शर्त

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् । 

सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले टीआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताए । 

Advertisement

ओलीले पीडितहरुले न्याय पाउने, पीडित केन्द्रीत कानून बनउनुपर्ने, अन्तर्राष्ट्रियस्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने बताए । मानवताबिरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी र दण्डहिनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने उनको भनाई छ । 

नेता ओलीले भने, ‘टिआरसी पास गर्नुपर्छ । यसमा मस्यौदामा केही नमिलेका कुराहरु छन् । त्यसलाई मिलाएर पास गर्नुपर्छ । नमिल्नुपर्ने कारण नै छैन । पीडितहरुले न्याय पाउनुपर्छ । पीडित केन्द्रित हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुनेगरी, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर हुनुपर्छ । मानवता बिरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी, दण्डहिनता नहुनेगरी र फेरि हिंसा नेपालमा कहिल्यै नहोस् त्यस ढंगले समाधान गर्नुपर्छ ।’

उनले सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परेको बताए । अहिले संघीयताको बिरुद्धमा प्रश्न गर्नुभन्दा पनि सही ढंगले कार्यान्वयन गर्नुपर्ने बताउँदै ओलीले प्रहरी राजनीतिकर्मीहरुले चलाएका कारण बिग्रिएको बताए । प्रहरीलाई आफ्नै हिसावले चल्न दिनुपर्ने उनले बताए । 

ओलीले थपे, ‘संघीयता कार्यान्वयन गर्न संघ सरकार उदासिन देखिएको छैन । हामीले नै ऐन बनाएर, हामीले संविधान बनाए संघीयता ल्याएका हौँ । उदासिन भएको छैन । पाएका जति अधिकार ठिक ढंगले कार्यान्वयन गर्नुपर्छ । कर्मचारी कहाँ छैनन्, आफूले कर्मचारी राख्न पाइएन भनेर हुन्छ । पोल्टिसियनहरुले प्रहरी चलाएर धेरै बिग्रिएको छ । पुलिसलाई आफ्नै ढंगले चल्न दिनुपर्छ । संघ, प्रदेश र स्थानीय तहले कर्तव्य निर्वाह गर्नेकुरामा आफ्नो भुमिका पूरा गर्नुपर्छ । अहिले संघीयता सफल ढंगले कार्यान्वयन गर्ने बेला हो । संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको छ । प्रश्न उठिरहेको छ । राम्रोसँग काम नभएपछि प्रश्न उठेको हो । यो प्रश्न उठाउने बेला होइन, सफल बनाउने बेला हो । सही ढंगले संघीयताको कार्यान्वयन हुनुपर्छ । जबसम्म जनता सचेत हुँदैनन् तबसम्म देश तेस्रो दलको नेतृत्वमा चल्छ ।’

तेस्रो राजनीतिक दलले कहिलेसम्म सरकार चलाउने हो ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले जनता सचेत नभएसम्म सरकार चलाइरहने बताए । 

Advertisement

Advertisement