बालेनलाई शहरी विकासमन्त्रीको चेतावनीः धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो हुँदैन

Advertisement

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन् । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सडकमा पार्किङ निशेष गरेर धरहराको भूमिगत पार्किङ स्थलमा निःशुल्क पार्किङ सुरु गरेपछि शहरी विकास मन्त्रालयले निर्माण कार्य बाँकी रहेकाले पार्किङ नगर्न चेतावनी दिएको थियो । तर मेयर बालेनले आज (सोमबार) बिहान निःशुल्क पार्किङ नरोक्ने घोषणा गरेपछि मन्त्री गुरुङको यस्तो चेतावनी आएको हो । धरहराको निर्माण सम्पन्न नहुँदै दुई बर्षअघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले यसको उद्घाटन गरेका थिए । 

Advertisement

आज संसद बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफल बिना जबरजस्ती रुपमा पार्किङ गराउनु विधि विपरित रहेको बताइन् । उनले निर्माणाधिन धरहरा निर्माण सम्पन्न भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर जानुपर्ने अवस्था रहेको भन्दै महानगरपालिकाले निर्माण कार्य अवरुद्ध हुनेगरी गरेको निर्णय तत्काल रोक्नुपर्ने बताइन् । 

गुङले २५० चार पाङ्ग्रे र छ सय दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने भए पनि निर्माण कार्यसम्पन्न नभएकाले तीन तलाको बेसमेन्ट मुनी अक्सिजनको अभाव, बत्ति र आगो निभाउने यन्त्रहरू (फायर एक्सटिंग्विसर) जडान लगायतका काम बाँकी रहेको बताइन् । उनले निर्माण कार्य पनि पूरा नहुँदै महानगरले जबरजस्त ढङ्गले पार्किङ गर्ने व्यवस्था गर्नु विधिको शासन विपरित भएको बताइन् । 

काम गर्नेलाई समय र वातावरण महानगरले दिनुपर्ने गुरुङको तर्क छ । पार्किङ गर्न जाँदा अक्सिजन नपुगेर क्षति भयो भने कसले व्यहोर्ने ? भन्दै उनले बालेनलाई प्रश्न गरिन् । गुरुङले निर्माण व्यवसायीहरुले हामीलाई हस्तान्तरण गरेको अवस्था नभएको र निर्माण सम्पन्न भएपछि आफूहरुले महानगरपालिकासँग छलफल गरेर वा कार्यविधि बनाएर सञ्चालन गर्ने भन्दै निर्माण सम्पन्न नभइ महानगरले जबरजस्ती रुपमा पार्किङ गर्नु विधिको शासन उल्लंघन भएको बताइन् ।

Advertisement

Advertisement