गठबन्धन राजनीतिले गर्दा भ्रष्टाचार बढ्यो, एउटा नेता काम गर्न खोज्छ, अर्को खुट्टा तान्छः देव

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताएका हुन् । 

एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको बताउँदै देवले अब प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताए । आजको राष्ट्रिय परिस्थिति चुनौतिपूर्ण रहेको उनको भनाई छ । 

Advertisement

नेता देवले व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै सबै राजनीतिक दलहरुले यसमा सोच्न जरुरी रहेको बताए । उनले भने, ‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिन, गठबन्धनले भ्रष्टाचार बढायो । एउटा नेताले काम गर्न खोज्छ । अर्को नेताले खुट्टा तान्छ । त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्नेगरी संविधानमा संशोधन गर्ने हो कि । जो आउँछ ५ वर्ष काम गर्छ । काम गरेन भने जनताले नै सजाय दिन्छन् ।’ 

देवले थपे, ‘आजको राष्ट्रिय परिस्थिति अत्यन्त चुनौतिपूर्ण छ । अत्यन्त गम्भीर छ । संकटपूर्ण छ । हामी जसजसले जुनजुन राजनीतिक शक्तिहरु मिलेर आजको यो संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेर समाजवादति उन्मुख हुने प्रतिवद्धता जाहेर गरेका छाँै । ती सम्पूर्ण राजनीतिक शक्तिहरुका लागि एउटा ठूलो चुनौतिको पहाड अघि खडा छ । व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ । अस्ति २२ गतेको बैठकमा दलका नेताज्युहरुले जुन ढंगले विदेश पलायनको परिस्थिति राख्नुभयो, र व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ भन्ने जुन गम्भीरता र जुन उचाईमा कुराहरु राख्नुभयो । आज देशका राजनीतिक नेतृत्वले यो वा त्यो खालि गठबन्धन वा प्रतिपक्ष भन्ने होइन, जो हामी आजको नयाँ परिवर्तन ल्याएका छाँै, त्यो परिवर्तन ल्याउने राजनीतिक नेतृत्वले आज त्यो हाइटबाट सोच्ने की नसोच्ने । व्यवस्थालाई बचाउने की नबचाउने । देशको किवास गर्ने की नगर्ने । जुन सामाजिक न्याय, विकास, समृद्धि र समाजवादको कुरा गरिरहेका छौँ । साँच्चिकै देशलाई त्यतातिर लैजाने की नलैजाने भन्ने प्रश्न छ । त्यसैले आज यो वा त्यो पार्टी राम्रो, हामीले गरेको मात्रै ठिक भन्ने भाष्यमा जानु भन्दा पनि राज्य र देशका लागि के गर्दा राम्रो भन्नेकुरामा ध्यान दिनुपर्छ ।’

Advertisement

Advertisement