घरेलु उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित, 'साना उद्योगहरु उठाउन पहल गर्छु'

Advertisement

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित भएका छन् । लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन यस महासंघमा मंगलबार सम्पन्न २३औं महाधिवेशनबाट उनी विजयी भएका हुन ।

यसअघि गिरी महासंघको वरिष्ठ उपाध्यक्ष थिए । महासंघको सोमबारदेखि राजधानीमा सुरू भएको राष्ट्रिय महाधिवेशन तथा २०औं राष्ट्रिय महिला उद्यमी सम्मेलन मंगलबार सम्पन्न भएको हो । नवनिर्वाचित अध्यक्ष गिरीले आगामी दिनमा सामुहिकताका साथ लघु, घरेलु तथा साना उद्योगीको हकहित र उद्योगहरुको विकासका लागि काम गर्ने बताए । 

Advertisement

भूकम्प र नाकाबन्दीबाट असर परेको उद्योग क्षेत्रको पुनःस्थापनाका लागि ठोस कदम चाल्नका लागि पहल गर्ने भन्दै उनले लघु, घरेलु तथा साना उद्योगको बजार प्रवद्र्घनका लागि स्वदेशी वस्तु खरिद निर्देशिका लागु गर्नका लागि आफूले पहल गर्ने, स्वदेशी वस्तु खरिद बिक्री तथा बजार स्थापना गर्न प्राथमिकता दिने बताए । 

अन्तर्राष्ट्रिय बजारमा लघु, घरेलु तथा साना उद्योगले गरेका उत्पादनको बजार विस्तार गर्न तथा औद्योगिक व्यवसाय ऐन जारी गराउन पहल गर्ने गिरीको भनाई छ । उनले उद्यमीहरूको वित्तीय पहुँच बढाउनका लागि नेपाल राष्ट्र बैंक र सिङ्गो बैंकिङ क्षेत्रसँग सहकार्य बढाउने तथा नविन प्रविधिको पहुँच विस्तार गर्न अब महासंघले काम गर्ने बताए । 

निर्वाचनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा उमेश सिंह, उपाध्यक्षहरूमा क्रमशः चन्दन श्रेष्ठ, विष्णु लुइटेल, शोभा गुरूङ, कुमार गिरी, मोहन कटुवाल, पूर्णबहादुर भण्डारी, महासचिवमा डम्बरप्रसाद रेग्मी,  कोषाध्यक्षमा सत्यनारायण प्रजापति, सचिवमा प्रमिला बस्नेत र सह–कोषाध्यक्षमा शंकर आचार्य निर्वाचित भएका छन् । 

यसैगरी महासंघको प्रदेश संघको अध्यक्षमा उपत्यकाबाट प्रकाश कायस्थ, प्रदेश नं. १ बाट राजेश कोइराला,  प्रदेश नंं २ सत्यनारायण अग्रवाल, प्रदेश नं ३ बाट सूर्य कंडेल, प्रदेश नंं ४ बाट हरिहर थापा, प्रदेश नंं ५ बाट नेत्र  पाठक, प्रदेश नंं ६ बाट चन्द्र वि.सी. प्रदेश नंं ७ बाट प्रकाश रावल निर्वाचित भएका छन् ।

यसैगरी महासंघको केन्द्रीय महिला उद्यमी समितिको सभापतिमा शिवा उपाध्याय, वरिष्ठ उपसभापतिमा रोशनी उपाध्याय, सचिव शान्ता बास्कोटा कोइराला, कोषाध्यक्षमा लक्ष्मी कुमारी  गिरी, केन्द्रीय सहसचिव रीता अवाल, केन्द्रीय सह–कोषाध्यक्षमा पञ्चलक्ष्मी श्रेष्ठलगायत निर्वाचित भएका छन् । 

Advertisement

Advertisement