नेपाल टेलिकमले पनि अब ग्राहकलाई बाढीपहिरोको जोखिमको पुर्वजानकारी दिने

Advertisement

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद्सम्बन्धी पूर्वसूचना मोबाइलमार्फत प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले विभागसँग सम्झौता गरेको केही दिनपछि नेपाल टेलिकमले पनि सोही सम्झौता गरेको हो । 

सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धि आचार्य र विभागको तर्फबाट महानिर्देशक ऋषिराम शर्माले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्वसूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ ।

Advertisement

यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउने छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा एसएमएसमार्फत आवश्यक जानकारी पठाउने छ । 

यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउने छ । टेलिकमका प्रबन्ध निर्देशक आचार्यले विपद्को पूर्व जानकारी संप्रेषण गरी क्षति न्यूनिकरण गर्ने कामका लागि विगतमा पनि अन्य संस्थाहरुसँग सहकार्य गरेको जानकारी गराउँदै विपद्को पूर्वजानकारीले क्षति न्यूनिकरण गर्न सकिने तथा मानिसको जीवन जोगाउन सकिने भएकोले विभागसँग पनि सहकार्य गरिएको बताए । 

विभागका महानिर्देशक शर्माले टेलिकमसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले प्राकृतिक विपद्को न्यूनीकरण गर्नु दुवै संस्थाको संयुक्त दायित्व भएकाले पनि भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने बताए । 

वर्तमान वर्षाको मौसममा खासगरी बाढी पहिरोका कारण धेरै नेपाली प्रभावित भइरहेको समयमा कम्पनी र विभाग बीचको यो सहकार्यले जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement