साना तथा मझौला व्यवसायीलाई भ्याटमा अनिवार्य दर्ता गर्ने व्यवस्था हटाउन महासंघको आग्रह

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री युवराज खतिवडालाई भेटी साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई भ्याटमा अनिवार्य दर्ता गर्ने व्यवस्थाबाट उत्पन्न समस्या समाधान गर्न आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलले व्यूटि पार्लर व्यवसाय र सुटिङसर्टिङको सामान सहितको टेलरिङ व्यवसाय जस्ता स–साना व्यवसायलाई अनिवार्य भ्याटमा दर्ताको व्यवस्थाबाट यी पेसा व्यवसाय लोप भएर जाने परिस्थिति उत्पन्न भएकाले यसमा पुर्नविचार गर्न आग्रह गरेको हो । यी व्यवसायहरूमा थ्रेसहोल्डको आधारमा भ्याट (मूल्यअभिवृद्धि कर) मा दर्ता गर्ने व्यवस्था गर्न व्यवसायीले सुझाव दिएका छन् ।

उनीहरुले घरेलु तथा साना उद्योग विभागअन्तर्गत संचालित महिला उद्यमशीलता विकास कोषबाट लघु, घरेलु उद्योगका महिला उद्यमीहरूलाई उद्यम व्यवसाय विकास तथा विस्तार गर्ने कार्यमा सहयोग पुग्दै आएको र कर्जाको मागसमेत वृद्धि भइरहेको सन्दर्भमा नया“ बजेटले कोषको रकम कटौती गरेकोतर्फ चिन्ता प्रकट गर्दै कोषको रकम वृद्धि गर्न आग्रह गरे ।

प्रतिउत्तरमा मन्त्री खतिवडाले महासंघबाट स–साना व्यवसायलाई अनिवार्य भ्याटमा दर्ता हुने व्यवस्थामा पुर्नविचार गर्न गरिएको आग्रहलाई मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । उनले निश्चित समयको लागि महिला उद्यमशीलता विकास कोषको लागि माग अनुसारको रकम थप गरी महिला उद्यमीहरूलाई ऋण प्रवाहमा सहयोग गर्ने प्रतिवद्धता सहित आर्थिक वर्ष २०७५।७६ को बजेट बक्तव्यमा महिला उद्यमीहरूबाट संचालन हुने परियोजनामा आधारित रु. १५ लाखसम्मको सामुहिक ऋणमा छ प्रतिशत व्याज अनुदानको व्यवस्था गर्ने व्यवस्था पनि क्रमशः कार्यान्वयन गर्दै जाने विश्वास दिलाए ।

प्रतिनिधिमण्डलमा महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ, महासंघको कार्यकारिणी समितिका सदस्य एवं महिला उद्यमी महासंघकी अध्यक्ष शारदा रिजाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका महिला उद्यमी विकास समितिका सभापति शिवा उपाध्याय, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायत सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement