सेयर बजारको अनलाइन कारोबारमा आकर्षण, तीन लाखले अनलाइन कारोबार गर्न थाले

Advertisement

काठमाडौँ । सेयर बजारमा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या ३ लाख ६ हजार पुगेको छ । आफूलाई पायक पर्ने स्थानबाट विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने, ब्रोकर कार्यालय पुग्नुपर्ने झन्झट नहुनेलगायत कारण अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण बढेको जानकारहरू बताउँछन् ।

विद्युतीय माध्यमबाट हुने कारोबारमा लगानीकर्ताले आफैं सेयर किनबेच गर्ने हो । सेयर किनबेचका लागि ब्रोकरलाई भनिरहनुपर्दैन । आफैं बजारको फ्लोरसिट (सेयर किनबेचको अवस्था) हेरेर चाहेको मूल्यमा कारोबार गर्न सकिन्छ । ब्रोकरले आग्रह मानेनन्, समयमा अर्डर गरिदिएनन्, मूल्य फरक पारेर किनबेच गरिदिए भन्ने गुनासो रहँदैन । आफैं बजारमा माग र आपूर्तिको अवस्था हेरेर चाहेको मूल्यमा सेयर किनबेच गर्न सकिने भएकाले अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण बनेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको भनाइ छ । ‘एक पटक लगइन लिएर कारोबार सुरु गरेपछि सेयर किनबेच गर्न सजिलो छ,’ उनले भने, ‘सेयर खरिदका लागि अरूलाई भनिरहनुपर्दैन ।’ पछिल्लो समयमा ‘पासवर्ड’ र ‘युजरनेम’ लिनेको संख्या बढ्नुले पनि अनलाइन कारोबारमा आकर्षण बढेको देखाउने उनले बताए ।

Advertisement

नेप्सेको तथ्यांकअनुसार हाल दैनिक कारोबारमा ८५ देखि ९० प्रतिशत कारोबार अनलाइन (विद्युतीय) माध्यमबाट हुने गरेको छ । अनलाइन कारोबारका लागि आइतबारसम्म ३ लाख ६ हजार ६२ जनाले ‘पासवर्ड’ र ‘युजरनेम’ लिएका छन् । 

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement