सुन तस्करीको छानविन आफ्नै पार्टीका नेताहरुतर्फ सोझिएपछि दाहाल धर्मसंकटमा

Advertisement

काठमाडौं । सुन तस्करीको छानविन आफ्नै पार्टी माओवादी केन्द्रका ठूला नेताहरुतर्फ सोझिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल धर्मसंकटमा परेका छन् । 

यस प्रकरणमा माओवादीका नेताहरु बर्षमान पुन, जनर्दन शर्मा, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठको नाम जोडिन थालेपछि दाहाललाई नैतिक संकट परेको हो । ठूला भ्रष्टचार काण्डमा ठूला दलका ठूला नेताहरु नै संलग्न रहेको तथ्यहरु बाहिर आइरहेको बेला सुन काण्डले अरु काण्डलाई ओझेलमा पारेको छ । 

Advertisement

त्रिभुवन विमानस्थलको कडा सुरक्षा र भन्सार जाँच पास गर्दै एक सय किलोभन्दा धेरै सुन बाहिरिएको बेला राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रण गर्न सफल भएको थियो । उक्त प्रकरणमा जोडिएका पछिल्लो पटक पक्राउ परेका एक व्यवसायी दावा छिरिङ शेर्पाको उठबस माओवादीका नेताहरु बर्षमान पुन, नन्दबहादुर पुनसँग देखिएको छ । 

अर्का मारवाडी व्यवसायी राकेश अडुकिया पनि यस प्रकरणको छानविनको घेरामा छन् । उनको घरमा प्रहरीले छापा पनि मारेको थियो । यति ठूलो परिमाणमा सुन कसरी सहजै जाँचपास भयो ? राजनीतिक र प्रशासनिक संरक्षणबिना यति ठूलो परिमाणमा सुन तस्करी हुनै सक्दैन् भन्ने मानिसहरुको बुझाइ देखिन्छ । यद्यपि यसमा राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, प्रहरीले आ–आफ्नो ढंगले सोधपुछ र अनुसन्धान गरिरहेका छन् । तर तस्करहरुको अन्तर्राष्ट्रियदेखि नेपालका ठूला नेता र कर्मचारीको संलग्नता तथा संरक्षणमा भएको तस्करीमा कसरी मुख्य दोषीहरु पक्राउ पर्लान ? भन्ने प्रश्न उठेको छ । 

दुई बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रहेका अरुण पोखरेललाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नियुक्त गरेका व्यक्ति हुन जो सयौं किलो सुन तस्करी भएको ठानिएको समयमा रहस्यमय ढंगले लामो बिदामा छन् । त्रिभुवन विमानस्थलमा नै प्रमुख अध्यागमन अधिकृतका रुपमा नेतृत्व गरिरहेका रामबन्धु सुवेदी प्रधानमन्त्री दाहालकी छोरी तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पठाइएको व्यक्तिको रुपमा चिनिन्छन् । 

त्यस्तै, वरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकाल यसअघि दाहाल प्रधानमन्त्री हुँदा उनका निजी सचिव थिए । त्यसैगरी, विमानस्थल सुरक्षाको नेतृत्व गरेका डीआईजी अर्जुनचन्द ठकुरीलाई हालका गृहमन्त्री श्रेष्ठले राजेर पठाएका हुन् भने भन्सार विभागको प्रमुखमा शोभाकान्त पौडेललाई अर्थमन्त्री प्रकाशशरण महतले आफू मन्त्री भएपछि ल्याएका हुन् । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारी पनि पटक पटक विवादमा पर्दै आउका व्यक्ति हुन्, जसलाई हालका पर्यटन मन्त्री सुदन किरातीले अहिलेसम्म हटाउन चाहेका छैनन् ।  

सुन काण्ड पेचिलो बन्दैगर्दा र ठूला नेताहरुतर्फ छानविन सोझिन थालेपछि आज सत्ताधारी माओवादीको पदाधिकारी बैठक बस्यो । बालुवाटारमा बसेको बैठकमा दाहालले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाउन छोडेनन् । अनुसन्धान निष्कर्षमा पुग्ने र सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरिने उनको भनाई छ । आजै दाहाल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच पनि गोप्य कुराकानी भएको बुझिएको छ । 

Advertisement

Advertisement