‘त्यो सिगरेट के जातिमा ल्याएको साँढे नौ किलो सुन त गोदामबाटै हरायो रे !’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार आफैंले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् । 

ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको जिकिर गरे । 

Advertisement

गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई संचालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको बताउँदै ओलीले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमती गरेर पनि केपी ओलीले सो सहमती बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको बताए । 

अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको तर्क गरे । उनले भने, ‘हामीबाहेक अरुले देश चलाउनै सक्दैन् । सकेन् । दश टाउके हुँदा पनि चलाउन सकेनन् नि । त्यत्रो कोभिड हुँदा पनि हामीले देशलाई तहसनहस हुन दिएनौं ।’ 

ओलीले थपे, ‘छानबिन समिति बनाउन किन मान्दैन् सरकार ? उहाँहरु आफैँ मुछिनु भएको छ । त्यो सिगरेट के जातिमा ल्याएको साँढे नौ किलो सुन जफत गरेर राखिएको थियो । सुन्छु अहिले– त्यो गोदामबाटै हरायो रे । चोरी भयो ।’  

केही बर्षअघि माओवादीका कार्यकर्ताले ट्रली बसको तामाको तार चोरीमा माओवादी संलग्न रहेको औंल्याउँदै उनले भने, ‘अलिक वर्ष अगाडि ट्रली बसेको कार्यालयबाट १३ टन तामाको तार चोरिएको थियो । कत्रो कोट लगाएको आएको थियो होला, त्यत्रो १३ टन तार खोजीमा हालेर चोर्यो होला ? सरकार नलागी चोरियो होला त्यो ? त्यो १३ टन तामाको तार चोरी भएको थियो । ट्रली बस त्यसैगरी सिद्धिएको थियो ।’  

भन्सार कार्यालय जनतालाई दुःख दिन मात्रै राखिएको बताउँदै ओलीले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा संलग्न रहेको भनिएको साढे नौ किलो सुन चोरी भएको कुरा सुन्दा आश्चर्य लागेको बताए । ओलीले भने, ‘बजारको नक्कली इलेक्ट्रिक चुरोट  ल्याएर त्यस ठाउँमा राखिएको छ । केही पनि भेटिँदैन । किनभने सक्कली चोरी भयो । अब प्रधानमन्त्रीजी भन्नु हुन्छ– म छानबिन गरिराखेको छु । गर्न दिनुस् न । हामीलाई छानबिन गर्न किन नदिने ? गर्नुस् तपाईहरु छानबिन । तर तपाईंहरुको छानबिन, तपाईंहरुको सरकार सञ्चालन भरपर्दो भएन् ।’ 

Advertisement

Advertisement