सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार

Advertisement

काठमाडौं । सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ ।

मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो । सोमबार बेलुकी बसेको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो । 

Advertisement

एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ, काँग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्यदललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी अनुसार आफूहरुले त्यसको मस्यौदा तयार पारेको र अब केहीबेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताए । 

उनले भने, ‘हामीलाई दुई बजे आज राष्ट्रिय दलहरुको बैठक सम्माननीय प्रधानमन्त्रीजीले बोलाउनुभएको छ । त्यो बोलाउने बैठकमा हामीलाई त्यसको ड्राफ्ट कसरी बनाउने भनेर चाहीँ कुरा भएको थियो । हामीले त्यसलाई तयार गरेका छौं । हामी त्यो बैठकमा प्रश्तुत गर्छौं । हामी तीन जना बसेर छलफल गरेर हामीलाई दिएको जिम्मेवारी अनुसार हामीले आफ्नो काम फत्ते ग¥यौं । हामीलाई त्यो बैठकमा प्रश्तुत गर्ने विषयबस्तुबारे ड्राफ्ट गर्न भनिएको थियो । त्यो हामीले पूरा गर्यौं ।’

प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको थियो । हिजो सोमवार बसेको बैठकमा भने सत्तापक्ष सो समिति बनाउन सहमत भएपछि दलहरुले त्यसको मस्यौदा तयार पार्न कार्यदलनै गठन गरेका थिए । अब बस्ने सर्वदलीय बैठकले सो मस्यौदामाथि छलफल गरी सो समितिको कार्यादेश र संरचना टुंगो लगाएपछि संसद बैठक सुचारु हुने नेताहरुले बताएका छन् ।

Advertisement

Advertisement