अदालत र प्राधिकरणलाई चुनौति दिँदै एनसेलको शेयर बेलायती कम्पनीलाई बिक्री

Advertisement

काठमाडौं । नेपालको अदालत र नियामक निकायलाई चुनौति दिँदै निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरीद बिक्री भएको छ । 

एनसेलको होल्डिङ कम्पनी मलेसियाको आजियाटा समूहले एनसेलको ८० प्रतिशत शेयर बेलायतको स्पेकट्रलाइट युकेलाई बिक्री गरेको दावी गरेको छ । आज (शुक्रबार) उच्च अदालत पाटनले उक्त कम्पनीको शेयर बिक्रीसम्वन्धमा कारण देखाउ आदेश जारी गर्दै शेयर खरीद बिक्री रोक्नेसम्वन्धमा अन्तरिम आदेश दिनेनदिने सम्वन्धमा छलफल गर्न आउँदो मंसिर २५ गते सम्वन्धित पक्षलाई बोलाएको छ । 

Advertisement

यस मुद्दामा निवेदकको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले अदालतले आउँदो २५ गते शेयर खरीद बिक्री रोक्नसक्ने भएकाले यो बीचमा आजियटाले शेयर बिक्री गर्न नसक्ने बताएका थिए । 

आजै नेपाल दूरसञ्चार प्राधिकरणले पाँच प्रतिशतभन्दा बढी शेयर खरीद बिक्री गर्न आफ्नो स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था औंल्याउँदै एनसेलको शेयर खरीद बिक्रीसम्वन्धमा जारी विज्ञप्ति र आएका समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  
 
यसअघि बुधबार आजियाटा समूहले नेपालमा व्यवसायिक चुनौति बढेको दावीसहित एनसेलबाट बाहिरिने निर्णय गरेको थियो । एनसेलमा आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत शेयर स्वामित्व छ । बाँकी २० प्रतिशत नेपाली कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रा.लि.को छ । 

अदालत र प्राधिकरणको नयाँ आदेश र निर्णय आएकै दिन एनसेलको शेयर आजियटाले बेलायती कम्पनीलाई बेचेको भन्दै प्रचार गरिएको हो । कानुनी प्रक्रिया पूरा नगरी गरिएको यो निर्णयले कम्पनी थप विवादमा पर्ने देखिएको छ । यो बेलायती कम्पनी पनि एनसेलको स्थानीय (नेपाली) साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रा.लि.का सञ्चालक भावना सिंह श्रेष्ठका श्रीमान सतिशलाल आचार्यको लगानी रहेको कम्पनी भएको बताइन्छ ।

उनले नै योजनाबद्धरुपमा एनसेलबाट आजियटाको शेयर बिक्री भएको देखाएर आफ्नो नियन्त्रणमा ल्याउने, आजियटाकै स्वार्थअनुसार नेपालमा दूरसञ्चारको व्यापार गर्ने र कर छल्ने योजना बनाएको यसअघि स्रोतले बताएको थियो । 

यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले आजियटालाई बिक्री गर्दा एक खर्ब ४० अर्ब रुपियाँभन्दा बढी मूल्य रहेको यो कम्पनी अहिले भने सोभन्दा सस्तोमा शेयर बिक्री गरिएको हो । सस्तोमा शेयर बिक्री गर्दा नेपाललाई पुँजीगत लाभकर तिर्नुपर्दैन् । शेयर किनेको आठ बर्षपछि आजियटाले आफू नेपालबाट बाहिरिएको दावी गरेको छ । यद्यपि उसले आचार्यमार्फत एनसेलमा आफ्नो स्वार्य कायम राख्ने छ । 

यो पनि पढ्नुहोस्ः

आफ्नो स्वीकृतिबिना एनसेलको शेयर खरीद बिक्री नगर्न आजियटा र सतिशलाई प्राधिकरणको निर्देशन

अदालतको आजको आदेशले आजियटालाई एनसेलको शेयर बिक्री गर्न रोकेको छः डा भण्डारी

आजियटालाई एनसेलको शेयर बिक्री सम्बन्धी उच्च अदालत पाटनको कारण देखाउ आदेश

एनसेलको शेयर सतिशलाललाई बिक्री गरेको देखाएर नियन्त्रण कायम गर्ने आजियटाको योजना

Advertisement

Advertisement