‘हिजो यो कुर्सीमा जागिर खाने मात्रै आए’ कृषि विकास बैंकका सिइओसँगको कुराकानी

Advertisement

नेपालमा कृषिको व्यवसायिक विकासका लागि भनेर सहकारी अवधारणामा स्थापना गरिएको कृषि विकास बैंकले बाणिज्य बैंकिङ कारोबार सुरु गरेको एक दशक भएको छ । बैंकले आफूलाई थप प्रतिस्पर्धी बनाउन सञ्चालन खर्च न्यूनीकरण, अदक्ष कर्मचारीको प्रतिस्थापन, मुलुकभरका कार्यालयलाई आधुनिक प्रविधियुक्त बनाउन अझै कसरत गर्नुपर्ने देखिन्छ । रणनीतिक साझेदार भित्राउने कुरा थाँती नै रहेको छ । यतिखेर नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लीलाप्रकाश सिटौला बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । बैंकलाई अगाडि बढाउने विषयमा के छ सिटौलाको भनाई ?

  • भर्खरै बार्षिक साधारणसभा सम्पन्न गर्नुभयो । के छ सभाको उपलब्धी ? 


सभामा नाफा नोक्सान हिसाव, वासलातलाई पारित गर्ने कुरा नियमित काम हो । यस वर्ष बैंकले सेयरधनीलाई सात प्रतिशत नगद र आठ दशमलव ७९ प्रतिशत बोनस सेयर पास भएको छ । लगानीकर्तालाई नगदभन्दा पनि बोनस सेयर राम्रो हो । यसले बैंकको हालको नौ अर्ब ६३ करोडको चुक्ता पुँजीमा प्रिफरेन्स सेयरको घटाउँदै जान मद्दत गर्छ । पुँजी बढेपछि कारोबार पनि बढने नै भयो । कारोबार जति बढयो, त्यत्ति नै बैंकको दायरा र नाफा बढ्छ । त्यसबाहेक हाम्रो सञ्चालक समितिमा सर्वसाधारण तर्फको चारवटा सञ्चालकको पद रिक्त थियो । सभाबाट त्यसको सफल निर्वाचन भएको छ । विगतमा जूतै भनाभन, गालीगलौज हुन्छ की भन्ने लागेको थियो, यस पटक त्यस्तो भएन । मलाई त्यसलाई खुशी लागेको छ ।

  • तपाईंहरुले भूकम्प पीडितलाई एकैचोटी राहत नदिए किस्ता किस्तामा दिनुभयो नी । किन ? 


हो । भूकम्प गएलगत्तै भूकम्प पीडितलाई ५० लाख एक हजार सहयोग गर्यौं । त्यति बेला प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने भन्ने पनि थिएन । हामीले मन्त्रिपरिषदमा लगेर दियौं । पछि गर्भनर, प्रधानमन्त्रीबाट योगदान कम भयो की भन्ने कुरा आयो । राष्ट्रलाई परेको बेला नगर्ने ? भनेर बोलाएर कुरा गर्नुभयो । हुन् त जतिबेला हामीले सहयोगको सुरुवात गर्यौं, रकम केही कम भए पनि त्यो अन्य क्षेत्रलाई सहयोग जुटाउन प्रेरित गर्न राम्रो सुरुवात थियो । पछि हामी बैंकका सञ्चालक व्यवस्थापकबाट पनि सहयोग रकम कम भएको महशुस भएर थप एक करोड ५० लाख गरेको हो । यस बीचमा कर्मचारी र सञ्चालकहरुको तर्फबाट पनि एक करोड ६० हजार कोषमा जम्मा भएको छ । यी सबै गरेर कोषमा हामीले तीन करोड ६० हजार रुपियाँभन्दा बढीको योगदान दिएका छौं ।

  • तपाईं आएको पाँच महिना बढी भयो । के छ अहिलेसम्मको उपलब्धी ? 


मैले यहाँ आएपछि देखेको पहिलो समस्या भनेको जनशक्ति व्यवस्थापन हो । मैले पहिला यही समस्या समााधन गर्नुपर्छ भनेर कर्मचारीलाई नयाँ प्रविधिमा अभ्यस्त बनाउने, तालिम दिने, प्रवन्धक बिना सञ्चालन भइरहेका शाखामा स्थायीरुपमा प्रवन्धक नियुक्त गर्ने, नयाँ दक्ष जनशक्ति भित्राउने जस्ता काम अघि बढाएको छु । झण्डै दुई वर्षदेखि रोकिएको बाहिरका जनशक्ति भित्राउने काम अहिले धमाधम भइरहेको छ । सरुवा, बढुवा, पदस्थापन जस्ता काम हेर्दा सामान्य लागे पनि ढिक ढंगले गर्न सकिएन भने बैंकको कार्यसम्पादनमा सुधार ल्याउन गाह्रो हुन्छ । अर्को कुरा कृषि विकास बैंकका कर्मचारीलाई सुचना प्रविधिमा अभ्यस्त बनाउनु जरुरी छ । त्यो नभई राम्रो परिणाम पनि आउँदैन । त्यसका लागि हामीले कार्ययोजना बनाइरहेका छौं ।


  • कृषि विकास बैंक जस्तो जटिल ठाउँमा तपाईंको योजना कार्यान्वयन होला त ? 


हुन्छ । हुनुपर्छ । राम्रो योजना कार्यान्वयन गर्ने कुरामा कसैले अवरोध गर्छ भने त्यसले बैंकलाई माया गर्दैन रहेछ भन्ने बुझिन्छ । अहिलेसम्म मैले सञ्चालक समिति, कर्मचारी, युनियन सबैबाट सहयोग पाएको छु । हिजो यो कुर्सीमा कार्यकारी भएर आउनेहरुले एउटा व्यवस्थापकभन्दा पनि जागिरे भएर मात्रै गएर । बैंकलाई कसरी प्रतिस्पर्धी बनाउने ? कसरी सम्वन्ध विस्तार गर्ने भन्ने कुरामा त्यत्ति ध्यान गएन । मेरो समयमा त्यो नहोस, बैंकमा एउटा पद्धतीको विकास गरौं भनेर लागेको छु । मेरो चार वर्षे कार्यकाल पूरै बसेभने बैंकलाई नयाँ पोजिशनमा पुर्याउँछु ।

  • तपाईंले जनशक्ति व्यवस्थापनको कुरा गर्नुभयो । बैंकमा रहेको ठूलो अनुत्पादक कर्मचारीहरुलाई कहाँ कसरी व्यवस्थापन गर्नुहुन्छ ? 


जनशक्ति व्यवस्थापनको काम सजिलो छैन । पूराना कर्मचारी अवकाश हुँदै जाने त्यो ठाउँमा नयाँ दक्षले पूर्ति गर्दै जाने यो क्रमिक प्रक्रिया हो । अहिले बजारमा उत्पादित युवा जनशक्ति प्रतिस्पर्धी र बढी सक्षम पनि छ । त्यो भन्दैमा बैंकमा भएकालाई केही नगर्ने भन्ने होइन । उनीहरुलाई पनि तालिम दिएर प्रविधिसँग अभ्यस्ता बनाउने भन्ने मेरो कुरा हो । हाम्रोमा जनशक्तिको कमी होइन । धेरै छ । दक्ष थोरै भए । आधुनिक बैंकिङ सेवाका लागि उनीहरुलाई दक्ष बनाउने, उपयुक्त ठाउँमा राख्ने गर्न सकियो भने भएकै जनशक्तिलाई परिचालन गरे प्रतिफल राम्रो लिन सकिन्छ । उत्पादकत्व बढाउन सकिन्छ ।

  • यसअघि तपाईंले कर्मचारी युनियनलाई एउटा समस्याको रुपमा व्याख्या गर्नुभएको थियो । कृषि विकास बैंक बढी राजनीति हुने थलोको रुपमा पनि चिनिन्छ । काम गर्न कत्तिको कठिनाई छ ? 


मैले समस्या मात्रै हुन भन्ने खाजेको होइन । जिल्लामा युनियनहरुले ऋण अशुलीदेखि बैंकको सेवालाई विस्तार गर्ने कुरामा राम्रो भूमिका खेल्दै आएका छन् । केन्द्रमा मात्रै केही समस्या हो । युनियनहरुको भूमिका मुलुकको संस्कारले पनि प्रभावित हुने कुरा हो । यस बैंकमा चारवटा युनियन छन् । उनीहरुका आफ्ना गतिविधिले समग्र बैंकको उत्पादकत्वमा असर होइन सहयोग पुग्नुपर्छ भनेको हो । धेरै कर्मचारी युनियनको पछि लागेर काम नगर्ने हो भने हामीले हाम्रा उत्पादनलाई प्रतिस्पर्धी हिसावले बजारमा लान सक्दैनौ । त्यसको नोक्सानी त आखिर बैंक, समग्र कर्मचारी, सेवाग्राहीलाई पर्ने हो । त्यो भएर मैले भन्ने गरेको बैंकका कर्मचारीहरु कर्मचारी मात्रै नभएर सेयरहोल्डर पनि हो भन्ने भावनाले काम गर्नुपर्छ । त्यसको प्रतिफल उनीहरुले पनि पाउँछन ।


  • तपाईंले यो भन्दैमा सुधार आउँछ भन्ने लाग्छ ? 


आउनै पर्छ । अबको प्रतिस्पर्धी युगमा राजनीति गरेर, दिनभरि चिया खाएर वा घाम तापेर मात्रै समय बिताउन सक्दैन । कसैले त्यसो गर्छ भने उसले बैंकलाई मात्रै होइन आफूलाई पनि गठिरहेको हुन्छ । परिस्थितिअनुसार सबैले आफूलाई रुपान्तरण गर्दै जानुपर्छ । यी कुरा गर्दैमा हाम्रो बैंकिङ सेवा पछाडि धकेलिएको छैन । बैंकको ठूलो कर्मचारी कामप्रति इमान्दार छ । हामी उनीहरुलाई काम गर्ने बाताबरण बनाउँदैछौं । हाम्रो संभावना राम्रो छ । समग्र जनशक्ति संरचनालाई स्वस्थ बनाउने रणनीतिले काम भइरहेको छ । त्यसैका लागि बन्न लागेको सक्सेशन प्लान अन्तिम चरणमा छ । मेरो इच्छा र उद्देश्य भनेको बैंकमा एउटा प्रणालीको विकास गर्ने, यसलाई सक्षम बाणिज्य बैंकको रुपमा स्थापित गर्ने हो । मलाई काम गर्न दिनुभयो भने तपाईंहरुको बैंक म बनाउँछु भनेको छु । मेरो कुरामा युनियनहरु विश्वस्त पनि हुनुहुन्छ ।

  • बैंकलाई सक्षम र प्रतिस्पर्धी बनाउने कुरा गर्नुभयो । कसरी गर्नुहुन्छ ? 


बैंकको कामकारवाहीलाई प्रभावकारी र पारदर्शी बनाउने, आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउने, जोखिम व्यवस्थापनमा सुधार गर्दै जाने कुरा हो । त्यसका लागि आन्तरिक लेखापरीक्षणलाई सशक्त बढाउने, क्षेत्रीय कार्यालयको स्तरोन्नती गर्ने काम पनि मैले गरेको छु । केन्द्रीय बैंकले औंल्याएका कमीकमजोरीाई सच्याउने काम समयतालिका सहित भइरहेको छ । रिकन्सिलेशनको कमजोरीलाई कार्यदल बनाएर सुधार गर्ने काम भइरहेको छ । ताकी यसको प्रतिबिम्ब उत्पादकत्व र कार्यकुशलतमा देखियोस । जनशक्ति र प्रविधिको कुरा मैले गरिसके ।

  • आधुनिक बैंकिङ सेवालाई कहिलेसम्म पूर्ण कार्यान्वयन र विस्तार गर्नुहुन्छ ? 


हामी प्रविधिमा कमजोर सही हो । पहिला जनशक्तिको सही व्यवस्थापनसँगै बैंकलाई आधुनिक प्रविधियुक्त बनाउने मेरो योजना हो । अहिले निक्षेपमा ९० प्रतिशत सीवीएस (केन्द्रीय बैकिङ प्रणाली)ले समेटेको छ । ६८ प्रतिशत कर्जा यसभित्र आइसकेको छ । सीबीएसअन्तर्गत सबै शाखा समेट्ने क्रमसँगै हामी वित्तीय प्रोडक्टहरु पनि बजारमा ल्याउछौं । त्यस्ता प्रोडक्ट आइसकेपछि २४० वटा यति ठूलो शाखा सञ्जाल रहेको बैंकलाई कुनै पनि बैंकसँग प्रतिस्पर्धा गर्न कुनै कठिनाई हुँदैन । यस्ता सुधार र पुर्नसंरचनामार्फत सम्पत्तिलाई बलियो बनाएर जनताको अगाडि नाफासहितको स्वस्थ वासलात प्रस्तुत गर्ने हाम्रो लक्ष्य हो ।

  • कृषि विकास बैंकका निक्षेप र कर्जा योजनाका व्याजदर प्रतिस्पर्धी छैनन् भन्ने गुनासो सुनिन्छ नी ?


करिव ११ प्रतिशत हाम्रो आधार ब्याजदर नै छ । त्यो भन्दा कम जानसक्ने अवस्था छैन । कम ब्याजदरमा ऋण दिन पाए हाम्रो व्यवसाय पनि फस्टाउथ्यो । तर पनि अहिले कर्जाको मागमा कमी छैन । हामीप्रति आस्था राख्ने एकथरी ग्राहक मुलुकभर छन जो हाम्रो व्याजदरभन्दा पनि सेवाप्रति सन्तुष्ट छन् । तर पनि हाम्रो प्रतिस्पर्धात्मक क्षमता बढाएर, जनशक्तिको सही व्यवस्थापन गरेर ब्याजदर घटाउने रणनीति छ । केही वर्ष जनशक्ति संरचना ठिक नभएसम्म अल्लि गा¥हो छ । बचतमा पनि हामीले झण्डै तीनदेखि छ प्रतिशत ब्याज दिएका छौं, त्यो प्रतिस्पर्धी हिसावले कम छैन् ।

  • भूकम्पपछि कर्जा अशुलीको स्थिति के छ ?


भूकम्पको सामान्य प्रभाव त पर्ने नै भयो । तर जुन अनुपातमा पर्ला भन्ने लागेको थियो, त्यो छैन । भूकम्प प्रभावित जिल्लामै पनि हाम्रो अशुली ६०÷७० प्रतिशत छ । भूकम्पले गर्दा किस्ता तिर्ने समयतालिका मात्रै प्रभावित भएको हो, ऋण नतिर्ने भन्ने होइन । जसले गर्दा खराब कर्जाको अनुपात शुन्य दशमलव २५ प्रतिशत बढेको देखिए पनि चाँडै नै यसमा सुधार आउँछ ।

  • रणनीतिक साझेदार भित्राउने कुरा अब सेलाएको हो ? 


सेलाएको छैन । यो लामो र जटिल प्रक्रिया हो । यस्तो साझेदार हामीले चाहेअनुसार हुनुपर्यो । प्रतिष्ठित र अनुभवी हुनुपर्यो । क्षमतै नभएकोलाई ल्याएर भएन । दोस्रो कुरा यो सरकारको समेत स्वामित्वको बैंक हो । यसमा सरकारको ५१ प्रतिशत सेयर छ । सरकारको जनताप्रतिको दायित्व पनि छ । त्यसो भएकाले बहुमत सेयर साझेदारलाई दिनसक्ने अवस्था रहदैन । अल्पमत सेयरले उसले चाहेअनुसार निर्णय गर्न सक्दैन । यस्तो स्थितिमा कसरी साझेदार भन्ने छलफल भइरहेको छ । यसको मतलव नभित्राउने भन्ने होइन । हामीले बैंकको डीडीए गरिसकेका छौं । उपयुक्त तरिकाले सक्षम साझेदार भित्राउन प्रयास भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement