हिमालय एयरलाइन्सको व्यवसायिक उडान अबको एक महिनामै

Advertisement

हिमालय एयरलायन्सले अन्तर्राष्ट्रिय उडानका लागि आज बुधबार पहिलो एयरबस ए३२० चीनबाट ल्याउँदै छ । यस कम्पनीले यसै वर्ष २०१६ मा अर्को र सन् २०१७ मा अरु दुईवटा जहाज थप्ने योजना बनाएको छ । अर्को महिना चैत ३० गतेबाट दिल्ली र दोहाको व्यवसायिक उडानको तयारी गरेको यस कम्पनी नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको हो । चीनको तिब्बत एयरलाइन्ससँगको सहकार्यमा यसले नेपालमा सेवा सुरु गर्न लागेको हो । अहिले २८ वटा विदेशी विमान सेवाले नेपालमा उडान भर्दै आएका छन् । तर नेपालबाट नेपाल वायुसेवा निगमले मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आएकोले छ । यो अभाव कम गर्दै नेपाललाई वायुसेवा क्षेत्रमा पनि सक्षम बनाउन हिमालय एयरलाइन्स आएको कम्पनीका महाप्रवन्धक (कमर्सियल) राजुबहादुर केसी बताउँछन् । प्रस्तुत छ उनीसँग कर्पोरेट नेपालका सीताराम विलासी र लक्ष्मण काफ्ले गरेको कुराकानीको सारः

हिमालय एयरलाइन्सले कति लगानीमा कहाँबाट जहाज ल्याउन लागेको हो ?
हिमालय एयरलाइन्स नेपाल चीन संयुक्त लगानीको कम्पनी हो । यसमा चीनबाट तिब्बत एयरलाइन्स र नेपालबाट हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड र यति इन्भेष्टमेन्ट फण्डको लगानी रहेको छ । यसमा नेपालीको ५१ प्रतिशत र चिनियाँ पक्षको ४९ प्रतिशत लगानी रहेको छ । अहिले कम्पनीको पुँजी २५ मिलियन अमेरिकी डलर छ । उड्डयन क्षेत्रमा विदेशी कम्पनीसँग मिलेर सुरु गरिएको नेपालको पहिलो अन्तर्राष्ट्रिय उडान सेवा हो । अहिले हामीले ल्याउने भनेको एयरबस ए३२० भाडामा हो । 

Advertisement

अहिले नै विमान सेवामा यस्तो प्रतिस्पर्धा छ  । यो बेलामा जहाज ल्याउँदै हुनुहुन्छ । बजारको कस्तो संभावना देख्नुभएको छ ?
प्रतिस्पर्धा नभएको क्षेत्र कहाँ छ र ? न्यूरोडमा त्यति धेरै पसल छ । त्यहाँ अर्को पसल खोल्दा हामीलाई आश्चर्य लाग्दै न नी । किनभने त्यहाँ सामान बिक्री हुन्छ भनेर नै पसल खोल्ने हो । अहिले नेपालमा बाहिरका २८ वटा विमान सेवा आइरहेको छ । उनीहरुले आफ्नो सेवा व्यवसाय राम्रोसँग गरिरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने भनेको राष्ट्रिय ध्वजाबहाक मात्रै हो । नेपाल वायुसेवा निगमसँग पनि क्षमता सीमित भएको अवस्थामा उसले चाहेर पनि धेरै गर्न सकेको छैन । यो सन्दर्शमा नेपालमा पनि अर्को अन्तर्राष्ट्रिय विमान सेवा आवश्यक छ भन्ने महशुस भएकोले यो स्थापना गरेको हो । सरकारले पनि त्यो आवश्यकता महशुस गरेकोले  हो । 

व्यवसायिक उडानको सुरुवात कसरी गर्दै हुनुहुन्छ ?
हाम्रो योजना भनेको सुरुमा एउटा एयरबस आउँछ । त्यसबाट दोहा र दिल्ली दैनिक उडान गर्न लागेका छौं । तीन चार महिनापछि अर्को आउँछ । त्यसले चेङ्दु, ल्यासा र बेइजिङ तीन ठाउँमा उडान गर्छ । यी दुई भनेका सन् २०१६ मा आउने जहाज हुन । सन् २०१७ मा अरु दुईवटा जहाज आउँछ । त्यसले आवश्यकता हेरेर हङकङ, बैंकक, क्वाललम्पुर लगायतका गन्तव्यमा उडान सुरु गछौं । क्वाललम्पुर अहिले नै गर्ने की भन्ने कुरा थियो । त्यहाँको श्रमसम्वन्धी नीति के हुने भन्ने अन्योलताले रोक्यौं । ती बाहेक पहिलो पटक कोलम्बो, भारतकै अहमदावाद जस्ता स्थानमा पनि हामीले उडानको योजना बनाएका छौं । साउदी अरेबियामा पनि सीधा उडान छैन । त्यहाँ पनि हाम्रो योजना छ । दुवई पनि एउटा प्वाइन्ट हुनसक्ने हिसावले हेरिरहेका छौं । संभाव्यता अध्ययन गरेर कुन बजारमा जान ठिक हुन्छ, त्यो अनुसार निर्णय लिन्छौं । किनभने बजार परिवर्तन भइरहेको हुन्छ । र क्रमस हाम्रो लष्य एसियाली मुलुकहरुमा सिधा सम्पर्क स्थापित गर्ने हो । 

नेपालको उड्डयन सुरक्षामा प्रश्न उठाउने काम भइरहेको छ । यस्तो अवस्थामा तपाईंहरुले सेवा विस्तारमा चुनौति देख्नुहुन्न ?
सुरक्षा नभएको भन्ने त मलाई लाग्दैन । सुरक्षाको कुरा गर्दा युरोपमा पनि जहाज खसेका छन् । क्वाललम्पुरबाट बेइजिङ जाने जहाज पनि खस्यो । आकास सुरक्षित पनि हुन्छ । असुरक्षित पनि हुन्छ । यदी नेपालको आकाश मात्रै असुरक्षित भए त नेपालमा उडान भर्दै आएका ती २८ वटा विदेशी विमान सेवाले पनि उडान रोक्नुपर्ने थियो नी ? त्यस्तो होइन । तर सुरक्षाको मापदण्डमा कुनै पनि कमजोरी गर्न हुँदैन । त्यसमा हामीले गर्नुपर्ने काम गछौं । नागरिक उड्डयन प्राधिकरण पनि यो कुरामा चिन्तत नै होला । अहिले हाम्रोमा भएको भनेको सानो जहाजको मात्रै दुर्घटना हो ।  हाम्रो आफ्नो तालिम प्राप्त जनशक्ति छ । आठ नौ जना पाइलट, छ जना को–पाइटल विदेशबाट तालिम लिएर आइसकेका छन् । मर्मतको पनि हामीले राम्रो व्यवस्था गरेका छौं ।  

तपाईंहरुको लक्षित ग्राहक कुन कुन हो ? भाडा दर कसरी निर्धारण गर्दै हुनुहुन्छ ? 
हाम्रो रणनीति भनेको जुन बजार स्थापित छ, जहाँ अहिले दिइरहेको सेवा पर्याप्त भइरहेको छैन, त्यो ठाउँमा पहिले जाने हो । भाडा दर अहिले यति नै नभनौ । तर प्रतिस्पर्धी हुन्छ । बजारले कति कन्ज्युम गर्छ, त्यो आधारमा भाडा दर निर्धारण हुन्छ । 

यसअघि तपाईंले अन्तरवार्तामा विमान सेवा भनेको लेजर थिन मार्जिन (थोरै मात्रै मुनाफा हुने)को व्यवसाय हो भन्नुभएको थियो । यस्तो व्यवसायबाट नाफा कसरी कमाएर व्यवसाय विस्तार गर्नुहुन्छ ? 
त्यो सही कुरा हो । तर त्यो अवस्थाबाट अहिले यो उड्डयन क्षेत्र पेपर थिन मार्जिनमा गएको छ भनेर एउटा लेख परेको थिए । किनभने अहिले इन्धनको भाउ अल्लि सस्तो भएकोेले हवाई क्षेत्रको नाफा दरमा सुधार आएको छ । सन् २०१६ को विश्वभरको विमान सेवाहरुको मुनाफा ३६ विलियन अमेरिकी डलर छ भन्ने तथ्याङ्क छ । तर त्यो भनेको एउटै संस्था माइक्रोसफ्टको मुनाफा भन्दा थोरै हो भनिएको छ । माइक्रोसफ्टको मात्रै मुनाफा ४५ बिलियन डलर छ । त्यो कारण यो क्षेत्र नाफा भन्दा पनि सेवा सत्कार उद्योग हो । सँगै यो अत्यावश्यक उद्योग पनि हो । नाफा कम छ भन्दैमा कसैले पनि जहाज नचलाउने हो भने हवाई यातायात के होला ? प्रभावकारी मोर्केटिङ, समयमा उडान, राम्रो इमेज बनायो भने व्यवसाय विस्तार गर्न सकिन्छ । यी सबै कुरामा हामी केन्द्रीत भएर नैअगाडि बढिरहेका छौं ।  

व्यवसायिक उडान सुरु गर्दा अकुपेन्सी कति हुने अपेक्षा छ ?
अहिले दोहाको उडानमा हामीले ७० प्रतिशत सिटहरु बिक्री हुने अपेक्षा गरेका छौं । छ–सात महिना चलाइसकेपछि ९० प्रतिशतसम्म अकुपेन्सी हुने आशा छ । त्यस्तै दिल्लीमा अहिले ६५ देखि ७० प्रतिशत सिट भरिने अपेक्षा गरेका छौं । 

नेपाल वायुसेवाको लामो अनुभवलाई निजी क्षेत्रमा कसरी रुपान्तरण गर्दै हुनुहुन्छ ?
मैले जानेको सिकेको नेपाल वायुसेवा निगमबाटै हो । निगममा धेरै चुनौतिहरु छ । निगममा यो कुरा लाभदायक छ भनेर जान्दा जान्दै पनि त्यो निर्णय हुनसक्दैन विविध कारणले । यो देश कस्तो भने टेण्डर गरेर प्रतिस्पर्धामा आएको हवाई जहाज निर्माता कम्पनीलाई नियमानुसार सम्झौता गरेर लकअप मनी पठाएको कुरालाई भ्रष्टाचार गर्यो भनेर मुद्दा चलाउने । यो तरिकाले सरकारी संस्थामा काम गर्न गाह्रो छ । अहिले ३३० सिटको जहाज ल्याउने कुरा हुँदैछ । निगमले त्यो ल्याउन सक्यो भने निकै राम्रो हुन्छ । सरकारी संस्थामा निर्णय गर्न निकै कठिनाई छ ।  तर निजी क्षेत्रमा के छ भने संस्थालाई नाफा हुन्छ भने निर्णय लिन गाह्रो छैन । चाँडै निर्णय हुने र व्यवसायिक हिसावले काम गर्न सकिने हुँदा निजी संस्थालाई अघि बढन कठिनाई हुँदैन । जस्तो की हामीले कुनै देशको जीएसए एक हप्तामा नियुक्ति गरेका छौं । निगममा त्यो गर्न महिनौ लाग्ने अवस्था छ । गरेपछि पनि घेर्न आउने । भएको निर्णय पनि उल्ट्याउने । त्यो खालको अवस्था छ । जे होस मैले निगममा आर्जन गरेको अनुभव र योग्यतालाई हिमालय एयरलाइन्समा अधिकतम सदुपयोग गर्ने प्रयासमा छु । 

प्राधिकरणबाट तपाईंहरुलाई आवश्यक सबै स्वीकृति मिलिसक्यो ? 
जहाजको रजिष्ट्रेशन भइसकेको छ । सेड्युल स्वीकृतिको चरणमा छ । धेरै प्रक्रिया पूरा भइसकेको छ । प्रक्रिया सकेर व्यवसायिक उडान चाहीं १२ अप्रिलदेखि गर्ने योजना बनाएका छौं । 

Advertisement

Advertisement