दाताहरुको अगाडि अर्थमन्त्रीले भने- संघीयता कार्यान्वयन गर्न उच्चस्तरको सहयोग चाहियो

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीयता कार्यान्वयन र पूर्वाधार विकासको लागि विश्व बैङ्क लगायत विकास साझेदारहरूबाट उच्च स्तरको सहयोगको आवश्यकता रहेको बताएका छन् ।

विश्व बैङ्कको मुख्यालयमा नेपालका विकास आवश्यकता सम्बोधन गर्न विश्व बैङ्क र नेपाली राजदूतावास द्वारा आयोजित नेपाल दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् ।

नेपालमा अहिले विकास र समृद्धिको लागि उत्साहजनक वातावरण रहेकोले सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संस्थाहरू, गैर सरकारी सङ्घ संस्था तथा विकास साझेदारहरू मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

उनले सङ्घीयताको कार्यान्वयन गर्न थप श्रोतको आवश्यकता रहेको र प्रदेश, स्थानीय तहमा संविधान प्रदत्त अधिकार उपयोग गर्न सक्षम बनाउन क्षमता अभिवृद्धि आवश्यक रहेको बताए ।

नेपालको समष्टिगत आर्थिक सूचकाँकहरू अनुकुल रहेको, लगानीको वातावरणमा सुधार भएको, करका प्रावधानहरू प्रतिस्पर्धी रहेको, युवाहरूको जनसङ्ख्याको बाहुल्यता रहेको, थप पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेकोले निजी क्षेत्रले लगानी गर्न उपयुक्त वातावरण बनेको पनि उनले बताए ।

अर्थमन्त्रीले नेपालको संविधानले अङ्गीकार गरेको जनताका अधिकारहरूलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि जिकिर गरे ।

उक्त कार्यक्रममा विश्व बैङ्क, अन्तर्राष्ट्रिय वित्त निगम, बहुपक्षीय लगानी प्रत्याभूति संस्थाका उपाध्यक्षहरू, विश्व बैङ्कका नेपाल हेर्ने कार्यकारी निर्देशक लगायत नेपालका अन्य विकास साझेदारहरूको उपस्थिति रहेको वासिङ्टन डी. सि. स्थित नेपाली राजदूतावासले जनाएको छ ।

कार्यक्रममा विश्व बैङ्कका विभिन्न विभागहरूमा कार्यरत विषय विज्ञहरू र नेपालका अन्य विकास साझेदारहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए

प्रश्नहरूको उत्तर दिँदै अर्थमन्त्रीले प्रदेश र स्थानीय सरकारको क्षमता अभिवृद्धि अत्यावश्यक रहेको, व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा जोड दिदैँ निर्यात प्रबर्द्धन गरिने कुरा बताए । उनले सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको समेत बताए ।

कायएक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले नेपालमा सेवा प्रवाह, सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा भएका सुधार र विकास वित्तको थप आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए ।

बैङ्कको बोर्डबाट पारित भएको विकासको साझेदारी ढाँचालाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा अर्थमन्त्रीको उपस्थितिमा विश्व बैङ्कका विभिन्न विभागहरूले पनि प्रस्तुतीकरण गरेका थिए ।

नेपाल दिवसको अन्तमा विश्व बैङ्क र नेपाली राजदूतावासको संयुक्त आयोजनामा बैङ्कको मुख्यालयमा नेपाल सम्बन्धी सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement