व्यवसायीहरु कि पलायन कि आत्महत्या गर्नुपर्ने स्थिति आउँदैछ

Advertisement

नेपाली जुत्ता चप्पल उद्योग फष्टाउँदै गएको बेला पछिल्लो बन्द, हडताल र सीमा अवरोधले यो क्षेत्र प्रभावित हुन पुगेको छ । नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको नेपाली जुत्ता चप्पलले आयातलाई घटाएर अहिले ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको व्यवसायी बताउँछन् । यस उद्योगलाई चाहिने कच्चा पदार्थ आयात, प्रविधि तथा जनशक्ति विकासमा सहयोग गरे आफूहरुको प्रतिस्पर्धी क्षमता विकास भई निर्यात बढाउन सफल हुने शिखर शुजका प्रवन्ध निर्देशक बताउँछन् । प्रस्तुत छ उनीसँग कर्पोरेट नेपालले गरेको कुराकानीको सारः  


अहिलेको बन्द हडताल र नाकाबन्दीले तपाईंहरुको जुत्ता चप्पल उद्योगलाई कति असर पुगेको छ ?

Advertisement


हाम्रो उद्योग मात्रै होइन समग्र उद्योग ठप्प जस्तै छ । यो स्थिति अझै रह्यो भने थाहा छैन कति व्यवसायी पलायन हुन्छन् । कति उद्योगहरु लिक्विडेशनमा जान्छ । कति व्यवसायीले आत्महत्या गर्छन । त्यसको असर रिकभर गर्न मुलुकलाई निकै वर्ष लाग्छ । समग्र मुलुकको अर्थतन्त्र डिलमा पुगेको अवस्था हो । भीरबाट लड्यो भने कसैले पनि सम्हाल्न सक्ने अवस्था हुँदैन । 


तपाईंहरुकै उद्योगको स्थिति चाँही कस्तो छ ? 


हाम्रो पनि स्थिति त्यही हो । जुत्ता चप्पल भनेको उपभोग्य वस्तु भएकोले अधिकांश मानिसले आजभन्दा तीन महिना अघि नै फाट्यो भने पनि दशैंमा किन्ने भनेर पर्खिएको हुन्छ । हाम्रो चलन चल्तीअनुसार पनि दशैंमा नयाँ लगाउने भन्ने छ । हाम्रो समग्र व्यवसायको ३० देखि ४० प्रतिशत यही समयमा बिक्री हुने गर्दै आएको छ । व्यवसायीहरुले त्यहीअनुसार योजना बनाएको हुन्छ । अहिले कच्चा पदार्थ नै ५० प्रतिशतभन्दा बढी आएको छैन् । हप्तौंदेखि सीमामा अडकिएर बसेको छ । आएको मध्ये पनि सबै बन्न पाएन अहिलेको अप्यारोले । कारखानामा डिजल छैन । कामदार आउन यातायात सहज छैन । प्रत्येक वर्ष जुत्ता चप्पलको १० देखि १५ प्रतिशत बिक्री बढेको हाम्रो तथ्याङ्क छ । मेरो दुई दशकभन्दा लामो यस क्षेत्रको अनुभवमा पहिले पटक यो क्षेत्रको व्यापार कम भएको छ । गत वर्षको भन्दा ५० प्रतिशत नै बिक्री कम छ । 


उपभोक्ता पनि कम भएका हुन की ? 


होइन । बाटो बन्द छ । इन्धन छैन । सवारी साधन छैन । मानिसको ध्यान नै अर्को ठाउँमा छ । उपभोक्तालाई चाड आए पनि उत्सव जस्तो छैन । हरेक मानिसलाई अब के हुने भन्ने मात्रै छ । ग्यास सकिएपछि कसरी चलाउने भन्ने मानिसलाई चिन्ता भएको बेला कस्ले जुत्ता चप्पल फाट्यो भनेर किन्न जान्छ र ? समग्र बितरण प्रक्रिया नै करिव जाम जस्तो भएको छ । इन्धन भनेको त महत्वपूर्ण विषय हो जसले सबैतिर हान्छ । 


नेपाली जुत्ता उपयोग गर्नुपर्छ भन्ने मानिसमा कत्तिको चेतना बढेको छ ? 


अत्यन्तै सन्तोषजनक छ । नेपाली जुत्ताप्रतिको विश्वसनीयता बढेको छ । मानिसहरुमा नेपाली जुत्ता नै लगाउनुपर्छ भन्ने भावना बढेको छ । उपभोक्ताको माया र विश्वासले नै नेपाली जुत्ता चप्पल उद्योग अघि बढेको हो ।

 
नेपाली जुत्ताको बजार हिस्सा कति छ ? अनि निर्यात हुन्छ की हुन्न ? 


त्यही ६० देखि ६५ प्रतिशतको बीचमा होला । आधिकारिक तथ्याङ्क छैन । निर्यातको कुरामा छालाको होइन स्पोर्ट जुत्ता निर्यात हुने गर्दछ । चेम्बर अफ कमर्शले भारत निर्यात गर्ने उत्कृष्ट निर्यातकर्ता भनेर एउटा फुटवयेर कम्पनीलाई पुरस्कृत गर्दै आएको छ । 


तपाईंहरुले के के भयो भने थप निर्यात गर्नु सक्नुहुन्छ ?  


सबैभन्दा पहिलो कुरा प्रतिस्पर्धी क्षमता हुनुपर्यो । त्यसका लागि प्रविधि, दक्ष जनशक्तिको विकास, डिजाइन जस्ता कुराहरु व्यवसायीको तर्फबाट गर्नुपर्ने कुरा हुन । सरकारको तर्फबाट गर्नुपर्ने कुरामा अहिले पनि हाम्रो आयातमूखी अर्थतन्त्र छ । राजस्व कहाँबाट बढी आउँछ भन्ने मात्रै सरकारको ध्यान छ । निर्यात गरेर मुलुकको व्यापार घाटा कसरी कम गर्ने ? कसरी मुलुकलाई आत्मनिर्भर बनाउने ? कसरी रोजगारी बढाउने भन्ने छैन । अहिले कच्चा पदार्थ आयात र तयारी वस्तु आयातमा उस्तै उस्तै भन्सार दर छ । कच्चा पदार्थ १५ प्रतिशत छ । तयारी जुत्ता २० प्रतिशत छ । कच्चा पदार्थमा लागेको कर पुनःभुक्तानी दिने भन्ने त छ । त्यो साह्रै झन्झटिलो र लामो प्रक्रिया छ । सबै व्यवसायीले त्यो गर्न सक्दैन । जुत्ता चप्पलका लागि आवश्यक कच्चापदार्थमा चार–पाँच प्रतिशतभन्दा बढी भन्सार नलगाउने हो भने हाम्रो प्रतिस्पर्धी क्षमता बढ्थ्यो । आयात स्वतः कम हुन्थ्यो । सँगसँगै हामीले निर्यात पनि गर्नसक्छौं । 


नेपाली जुत्ताको ट्रेडमार्ग कायम गर्ने भन्ने कुरा कहाँ पुगेको छ ? 


प्रक्रियामै छ । लामो प्रक्रिया छ यसको ।


नेपालको कुल जुत्ता चप्पल बजारमा तपाईंको शिखर शुको हिस्सा कति छ ? 


सबैले आफ्नो उत्पादन बढी छ भन्छन् । यथार्थ फरक हुन्छ । हामी कोहीसँग पनि ठ्याक्कै तथ्याङ्क छैन । बजारमा जुन अनुपातमा बिक्री भएको देखिन्छ, त्यो आधारमा हाम्रो हिस्सा चार–पाँच प्रतिशत छ । 


शिखर शुको फरक विशेषत छ ? 


यो कुराको जवाफ हामी उपभोक्तालाई नै छोडछौं । पसलमा जानुपर्यो । डिजाइन हेर्नुपर्यो । मूल्य हेर्नुपर्यो । लगाउनुपर्यो । र तुलना गर्नुपर्यो । त्यसपछि उपभोक्ताले शिखर शु किन लगाउने भन्ने कुराको जवाफ स्वतः पाउनुहुन्छ । हामीले जति प्रविधि प्रयोग गरेर जुत्ता बनाउँछौं, अरुले बनाउन्नन् । हरेक कुराबाट हामीले आफूलाई परिस्कृत गरेर अब्बल बनाउने कोसिस गरेका छौं । हाम्रो नेपाल भरिनै ७४ जिल्लामा बिक्री हुन्छ । 


 योजना केही छ ? 


हामीले नयाँ प्लान्ट लिएका छौं विराटनगरमा । यसलाई सञ्चालन गर्ने भनेर योजना बनाइरहेका छौं । भूकम्पले आयो । तराई बन्द र सीमा नाकाबन्दी सुरु भयो । यस्ता विभिन्न कारणले चलिसकेको कारखाना बन्द गर्नुपर्यो । अल्लि अनुकुल अवस्था भयो भने यसलाई सुरु गछौं । 

 

Advertisement

Advertisement