‘बोरे’ प्रवृत्ति र कालोधन नियन्त्रणका लागि ल्याउने भनिएको ई–केवाईसी आउन समय लाग्ने

Advertisement

काठमाडौं । धितोपत्र बोर्डले स्वीकृति दिएको लामो समय बितिसक्दा पनि सिडिएस एण्ड क्लियरिङले ई–केवाईसी अझै आउन सकेको छैन् । सिडिएसले यसअघि नै आउनै लागेको भन्दै आएको यो प्रविधि ल्याउन अहिले पाँच महिना लाग्ने बताएको छ । 

सेयर बजारमा देखिएको बोरे प्रवृत्ति र कालोधन नियन्त्रण गर्न गर्ने अचुक सुत्र मानिएको ई–केवाईसी ल्याउन सिडिएसले आलटाल गर्नु अर्थपूर्ण देखिन्छ । यो सफ्टवयर  खरिद गर्न बोर्डले  सिडिएसलाई गत मंसिरमा अनुमति दिएको थियो । कम्पनीले गत महिना नै यो सफ्टवेयर खरीदको क्रममा रहेको भन्दै एक हप्ताभित्र आउने जानकारी दिएको थियो । 

Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले यो प्रक्रिया जारी नै रहेको भन्दै केही समय लाग्ने जानकारी दिएका छन् । उनका अनुसार यो प्रक्रिया जारी रहेको र जेठको अन्त्यसम्ममा टुङ्गिने छ । यो सफ्टवयर खरीद गर्नको लागि ११ वटा कम्पनीले प्रस्ताव गरेकोमा तीन कम्पनी छनोट भएको छन् । 

यी तीन वटा कम्पनीलाई सिडिएसले अन्तिम चरणको फाईलहरू पठाईसकेको र यो फाईलको बारेमा कम्पनीले एक महिनासम्ममा सफ्टवयर कसरी कतिमा खरिद हुने ? भन्ने कुराको निर्धारण गर्ने आचार्यले बताए । यसको सबै प्रक्रिया पूरा हुन् कम्तीमा पनि ४–५ महिना लाग्ने उनले बताए । 

आचार्यका अनुसार ती तीन कम्पनीले आफूले कति लागतमा गुणस्तरीय सफ्टवयर निर्माण गर्छन् ? सिडिएसले निर्धारण गरेको मूल्यांकनमा कसको सबैभन्दा धेरै अंक आउँछ ? त्यही कम्पनीलाई डेण्डर अवार्ड गरिने छ । उनी भन्छन, ‘टेन्डर पाएको कम्पनीले पनि तीन देखि चार महिनासम्ममा यो सफ्टवयर खरीद तथा निर्माण सक्छ । त्यसपछि यो सञ्चालनमा ल्याउन सकिन्छ ।’

पछिल्लो समय सेयर बजारमा मेरो सेयरबाट आईपीओ भर्ने प्रक्रियापछि ‘बोरे’मा कमी आएको छ । तर नियन्त्रण हुन सकेको छैन् । गाउँ गाउँमा गएर सबैको डिम्याट खोल्ने र मेरो सेयरबाट एउटै व्यक्तिले धेरै जनाको आईपीओ भर्ने समूह अहिले पनि सक्रिय रहेको पाईन्छ । यस्तो विकृति रोक्न सिडिएसले ल्याउन लागेको ई–केवाईसीले केही हदसम्म भूमिका खेल्ने आचार्य बताए ।

साथै, यसले सेयर बजारमा आउने कालोधन पनि नियन्त्रण गर्ने उनको अनुमान छ । यस बजारमा निकै ठूलो मात्रामा कालो धन लगानी भएको अनुमान गरिएको छ । सिडिएसले ल्याउन लागेको ई–केवाईसीले सेयर लगानीकर्ताको तीनपुस्ते विवरण संकलन गर्ने आचार्य बताए । यो प्रविधि ल्याउनुको कारण ग्राहकको पहिचान सुरक्षित राख्न हो भन्दै उनले यसले कुन ग्राहकले कुन कुन बैंकबाट खाता खोलेको छ ? कतिको कारोबार गरिरहेको छ ? कारोबारको स्रोत के हो ? कुन ब्रोकर कम्पनीबाट सेयर कारोबार गरिरहेको छ ? जस्ता सबै कुराको तथ्यांक राख्नेछ । 

यसरी सबै विवरण राखिसकेपछि आईपीओमा हुने बोरे प्रवृत्ति  र गैरकानूनी रुपमा सेयर बजारमा आउने कालोधनमा कमी आउने छ । यदि बोरे प्रवृत्ति कायम रहेको छ वा कालोधन लगानी भइरहेको छ भने ई–केवाईसीले अनुसन्धानमा समेत सहयोग गर्ने आचार्यले बताए । सिडिएसले ल्याउन लागेको ई–केवासीलाई सी–केवाईसी भनेर नामाकरण गरिएको छ । यसको काम भनेको ग्राहकको पहिचान स्पष्ट गर्नु हो । 

Advertisement

Advertisement