सुन तस्करीमा राष्ट्रिय अन्तर्राष्ट्रिय गिरोह नै संलग्न भएकाले सीआईबीले छानविन गर्न सक्दैनः श्रेष्ठ

Advertisement

काठमाडौं । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्न नसक्ने बताएका छन् । 

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए । सुन तस्करी प्रकरणलाई सरकारले खेलाँची गरिरहेको श्रेष्ठले बताए । उनले हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न पनि उठाए । 

Advertisement

श्रेष्ठले भने ‘अस्ति राजश्व अनुसन्धानले चेक गरेको थियो । अहिले उच्चस्तरीय आयोग गठन गर्नु भनेर हामी माग गरिरहेका छौँ । किन गरिरहेका छौँ त्यसको कारण छ नि । एउटा राजस्वको उपसचिवले अर्थमन्त्रीलाई झिकाउन सक्छ ? गृहमन्त्रीलाई सिआईबिले झिकाउन सक्छ ? राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह छ । क्विन्टलका क्विन्टल सुन आएको छ । रेकर्डले बताइरहेको छ । रेकर्ड छ । प्रमाण छ । ३२ चोटी आएकोमा २२ चोटी भनेको छ । यसमा त राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह लागेको छ । हङकङ, चाइना लगायतको देखिइरहेको छ रेकर्डबाट । अनि त्यसलाई खेलाची गरेर मजाक बनाइँदैछ । त्यसकारणले यस विषयले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रिइरहेको छ । सिआइबिले समाधान दिँदैन । त्यो सम्भव नै छैन । त्यसकारणले अविलम्व उच्चस्तरीय आयोग गठनको विकल्प छैन ।’

उनँले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताए । 

Advertisement

Advertisement