‘यत्रो सुनकाण्ड भएको छ, सम्बन्धित मन्त्रीले राजीनामा गरेर सरक्क बाटो खाली गरिदिए हुन्छ’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाएका छन् । 

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताए । शर्माले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिनेकुरामा कसैको हानी नहुने बताए । 

Advertisement

उनले राजश्व अनुसन्धान र सीआईबीले मात्रै अनुसन्धानको निस्कर्ष निकाल्न नसक्ने बताए । सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने बताउँदै शर्माले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा (माओवादी केन्द्र) का सांसदहरु नै नमानेको र ढिलो चाँडो उच्चस्तरी समिति बनाउन माओवादी तयार हुनुपर्ने बताए । 

उनले भने, ‘यत्रो सुन काण्ड भएको छ । सम्बन्धित मन्त्रीले राजीनामा गरेर सरक्क बाटो सहज गर्नुको सट्टा संसद अवरोधको बाटोमा लैजाने जिम्मा त सरकारले पनि लिनुपर्यो नि । दुई जनाले सरक्क राजीनामा गर्ने, अनुसन्धानको बाटोलाई सहज बनाइदिने, शक्तिशाली संयन्त्र गठन गर्ने, अथवा हाम्रो सचेतकले नयाँ सजेशन दिनुभएको छ नि, संसदीय समितिको राज्य व्यवस्था समितिलाई जिम्मा दिने । त्यो त मिनि पाल्र्यामेण्ट हो नि । त्यहाँ फुल अथोरिटीसहित त्यसलाई जिम्मा दिँदा के बिग्रियो । तर अहिले माओवादीका साथीहरु मानिरहनुभएको छैन जस्तो देखिन्छ हेर्दा । उहाँहरुले ढिलो चाँडो मान्नुपर्छ । यो पक्ष, विपक्षको होइन, देशका नागरिकको कुरा हो । सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँदैन नि । यो राज्यको संयन्त्रको दुरुपयोग गरेर सुन तस्करी भएको हो । त्यसैले सीआईबी, राजश्व अनुसन्धानलाई पनि हेर्ने अर्को संयन्त्र आवश्यक छ ।’

सांसद शर्माले राज्य व्यवस्था समितिलाई पूर्ण अधिकार दिएर अनुसन्धान गर्न सकिने बताए । 

Advertisement

Advertisement